६० वर्षअघि भरतपुरको एउटा झुप्रोमा टुकी, लालटिन र मैनटोल बालेर राति पढाउन सुरु गरिएको नारायणी नमुना माध्यमिक विद्यालय अहिले देशकै उत्कृष्टमध्ये दोस्रो हुन सफल भएको छ। अध्ययनका लागि विद्यार्थीको संख्या बढ्न थालेकाले भरतपुर महानगरपालिका– १० मा अवस्थित यो विद्यालयमा प्रवेश परीक्षा लिने गरिन्छ।
०२० जेठ ६ गते चार विद्यार्थीलाई रात्रिकालीन कक्षाबाट सुरु गरिएको यो विद्यालयमा अहिले तीन हजार पाँच सय ७० विद्यार्थी अध्ययनरत छन्। गुणस्तर मापन केन्द्रको परीक्षणमा ९३ दशमलव ०५ प्रतिशत अंक प्राप्त गरी यो विद्यालय देशकै उत्कृष्ट दोस्रो बन्न सफल भएको हो।
हीरक महोत्सव (६०औँ वार्षिकोत्सव) मनाइरहेको विद्यालयको इतिहास आफैँमा मर्मस्पर्शी छ। विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीका अनुसार चार वर्षमा प्रवेशिका परीक्षा उत्तीर्ण गराउने उद्देश्यका साथ ‘नारायणी रात्रि हाइस्कुल’ नाम राखी यो विद्यालय स्थापना गरिएको हो।
दिनभर कामले व्यस्त उमेर छिप्पिएका युवायुवतीले बेलुका ५ देखि ९ बजेसम्म अध्ययन गर्ने गरेका थिए । उनले भने, ‘बिजुली बत्तीको अभावमा लालटिन, मइन्टोल र टुकी बालेर पढ्नुपर्ने अवस्था थियो।’
त्यसवेला प्रौढ वा युवा अवस्थाका विद्यार्थीको पठनपाठनको नतिजा शून्य नै थियो। रात्रिकालीन समयमा सोचेजस्तो नतिजा नआएपछि ०३७ मा विद्यालयलाई बिहानी सत्रमा सञ्चालन गरियो। बिहानी सत्रमा विद्यालय सञ्चालन गरेपछि ०३८ मा पनि विद्यालयको प्रवेशिका परीक्षा शून्य प्रतिशत नै भयो । बिहानी सत्रबाट ०४५ सालमा बिहान १० देखि बेलुका ४ बजेसम्म पठनपाठन सुरु भयो।
सञ्चालन शैलीमा केही परिवर्तन भएकाले विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार हुँदै गएको प्राचार्य दवाडीकोे भनाइ थियो। ०४९ देखि यस विद्यालयलाई व्यवस्थित ढंगले अगाडि बढाउन सामूहिक प्रयत्न र पहल भएको थियो।
बिहान ९ः५० देखि बेलुका ४ः३० सम्म पढाउने, अतिरिक्त अंग्रेजी-गणित पढाउने, प्रवेश परीक्षा लिने, उत्तीर्ण अंक ४० गर्ने, शिक्षकलाई अध्यापनमा प्रतिबद्ध गराउने, नतिजाको विश्लेषण गरी सार्वजनिक गर्ने, परीक्षालाई व्यवस्थित, मर्यादित र अनुशासित बनाउनेलगायत योजनाका साथै लगबुक, गृहकार्य डायरी, दैनिक पाठयोजना आदिको व्यवस्था गर्दै ०५७ सालमा आइपुग्दा जिल्लाकै प्रथम विद्यालयका रूपमा आउन सफल भएको तत्कालीन प्रअ टेकबहादुर थापाले बताए।
वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका उनले भने, ‘०५७ देखि हालसम्म यो विद्यालय जिल्लाको उत्कृष्ट स्थानमै छ र ०६८ देखि राष्ट्रिय मूल्यांकनमा समेत विद्यालय उत्कृष्ट हुँदै आएको छ।’
०६८ मा मध्यमाञ्चल आठौँ, ०६९ मा राष्ट्रिय पाँचौँ, ०७० राष्ट्रिय छैटौँ, ०७१ मा राष्ट्रिय २१औँ, ०७२ मा राष्ट्रिय दोस्रो तथा मध्यमाञ्चल प्रथम, ०७३ मा राष्ट्रिय दोस्रो तथा ३ नम्बर प्रदेशको प्रथम र ०७४ मा राष्ट्रिय चौथोका साथै ०७५ को कक्षा १२ को परीक्षामा ३ नम्बर प्रदेशको प्रथम हुन यो विद्यालय सफल भएको उनले जानकारी दिए।
०७८ को कक्षा १० को एसइई परीक्षामा सर्वाधिक जिपिए (तीन दशमलव ६ भन्दा माथि चार जिपिएसम्म) ल्याउने ९३ विद्यार्थी यसै विद्यालयका थिए भने एकजनाले चार जिपिए प्राप्त गरेको थियो।
कक्षा ११ र १२ मा विज्ञान, वाणिज्य, डिआइटी, प्रि–डिप्लोमाको कक्षा सञ्चालन गरिएको छ। हाल दृष्टिविहीन र बौद्धिक अपांग गरी दुवै अपांग एकाइसमेत सञ्चालित छन् । दृष्टिविहीन ३२ र आवासीय ३४ जना बौद्धिक अपांग डे–बोडर्सका रूपमा अध्ययनरत छन्। भौतिक व्यवस्थापनमा विद्यालय सबल छ। हरियाली, फूलबारी, सरसफाइलगायतमा विद्यालयले निकै ध्यान दिइएको पाइन्छ।
भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरलाई शैक्षिक क्षेत्रमा देशकै नमुना महानगरका रूपमा विकास गर्ने काममा यो विद्यालय कोसेढुंगा साबित भएको बताइन्। यहाँका विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, विद्यार्थी र अभिभावकको मिहिनेतका कारण विद्यालय उत्कृष्ट बनेको भन्दै उनले थप गुणस्तर विकासमा जुट्न आग्रह गरिन्।
महानगरभित्रका अन्य विद्यालयले पनि यो विद्यालयको सिको गरेर गुणस्तर सुधारमा लाग्नुपर्ने महानगरप्रमुख दाहालको सुझाव थियो। विगत ६० वर्षमा जुन उपलब्धि प्राप्त भएको छ। यसले यहाँको शैक्षिक अवस्थालाई देशभर चिनाउन सकेको चर्चा गर्दै उनले निरन्तरको मिहिनेतले नतिजा आउँछ भन्ने प्रमाण यो विद्यालयले दिएको बताइन्।