काठमाडौं । जाजरकोटको कुसे गाउँपालिका– २ स्थित मान्नेढुंगा माविको व्यवस्थापन समितिका पूर्वअध्यक्ष र पूर्वप्रधानाध्यापकसहित चारजनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष ०७३७४ मा पुस्तकालयका लागि जिल्ला शिक्षा कार्यालयबाट अनुदानबापत प्राप्त १७ लाख ४१ हजार ४४६ रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार मुद्दा दर्ता गरेको हो।
तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिचन्द्र जैसी, सदस्य जनकबहादुर नेपाली, तत्कालीन प्रधानाध्यापक धनबहादुर सिंह र तत्कालीन लेखा सहायक धीरेन्द्रबहादुर सिंहले मिलेमतोमा उक्त रकम हिनामिना गरेको अख्तियारकाे आरोप छ। उनीहरूले कानुनविपरीत ऋण सापटी लिएको देखाई विद्यालयको रकम बाँडीचुँडी लिएको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले व्यवस्थापन समिति सदस्य नेपालीसँग एक लाख रुपैयाँ र अन्यको हकमा जनही १७ लाख ४१ हजार ४४६ रुपैयाँ बिगो मागदाबी गरेको छ।