सुनसरीको इटहरी उपमहानगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले उत्कृष्ट विद्यालयको रूपमा छनाेट गरेको छ।
जिल्लाकै उत्कृष्ट व्यवस्थापन भएको सामुदायिक विद्यालयको रूपमा उक्त विद्यालयलाई छनाेट गरी प्रदेश सरकारले अनुदानसमेत दिने घोषणा गरेको छ। मन्त्रालयको प्रशासन तथा शैक्षिक योजना महाशाखाले उत्कृष्ट विद्यालयका रूपमा छनाेटमा परेको जानकारीसहित प्रदेश सरकारले दिने सुविधा लिनका लागि प्रस्ताव पेस गर्न विद्यालयलाई पत्रचार गरेको छ।
मन्त्रालयका उपसचिव कृष्णप्रसाद पोखरेलका अनुसार विद्यालयले प्रदेश सरकारबाट प्रोत्साहनस्वरूप १४ लाख ५० हजार रुपैयाँ पाउनेछ। २० प्रतिशतसम्म प्रोत्साहन कार्यक्रम र ८० प्रतिशत विद्यालयको प्रस्तावको आधारमा कार्य गर्ने गरी योजना बनाएर पेस गर्न पत्राचार गरिएको उपसचिव पोखरेलले जानकारी दिए।
मन्त्रालयले आर्थिक वर्ष ०७९/८० का लागि प्रत्येक जिल्लाबाट एक–एकवटा उत्कृष्ट व्यवस्थापन भएका सफल सामुदायिक माध्यमिक विद्यालयलाई प्रोत्साहन गर्ने कार्यक्रमअनुसार सुनसरीमा जनता माविलाई छनाेट गरेको मन्त्रालयले जनाएको छ। मन्त्रीस्तरीय बैठकबाट मंसिर २६ गते जनता माविलाई उत्कृष्ट विद्यालय छनाेट गरी प्रोत्साहन कार्यक्रम दिने निर्णय गरेको थियो। यही पुस ९ गते एक साताको समय दिएर विद्यालयलाई प्रस्ताव पेस गर्न पत्राचार गरिएको छ।