साना दल र स्वतन्त्र उम्मेदवारको हस्तक्षेपकारी उपस्थितिले राजधानी काठमाडौंलगायत सहरी क्षेत्रमा ठूला दलहरूको अंकगणितमा उथलपुथल ल्याउने संकेत देखिएको छ, उपत्यकाका १५ मध्ये सात क्षेत्रमा प्रमुख दलहरूलाई साना दलहरूको टक्कर
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको सोमबार मध्यरातिसम्मको मतगणनाले सहरी क्षेत्रमा ठूला दललाई प्रत्यक्ष र समानुपातिक दुवैतर्फ धक्का दिने जनाउ गरेको छ । सहरी मतदाताले नयाँ दल र स्वतन्त्र उम्मेदवारतिर मत प्रकट गरेको संकेत देखिएको छ ।
उपत्यकाका १५ मध्ये ६ क्षेत्रमा आश्चर्यजनक नतिजा आउने संकेत देखिएको छ । सोमबार मध्यरातिसम्मको मतगणनाले काठमाडौंका चार, ललितपुर र भक्तपुरका एक–एक क्षेत्रमा चुनावी परिणाममा उथलपुथलको जनाउ दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी तीन ठाउँमा अग्रता लिइरहेको छ भने थप तीन क्षेत्रमा नजिकको प्रतिस्पर्धामा छ । काठमाडौंको एउटा क्षेत्रमा हाम्रो नेपाली पार्टीको अग्रता छ । भक्तपुर १ मा राप्रपा प्रतिस्पर्धामा छ ।
उपत्यकाको यो अंकगणित नेताहरूबाट दिक्क भएका मतदाताले नयाँ अनुहार खोजेको र त्यो मतमा प्रकट भएको रूपमा बुझ्नुपर्ने प्राध्यापक कपिल श्रेष्ठ बताउ“छन् । ‘सत्तालाई सके ठक्कर, नसके झड्का दिने काठमाडौंको चरित्र हो,’ उनी भन्छन्, ‘काठमाडौंको भोटिङ प्रवृत्ति यही हो, उनीहरू सिद्धान्त र पृष्ठभूमि हेर्दैनन्, पोखरीमा ढुंगा हानेर छाल उत्पन्न गराउँछन् ।’
प्रा.डा.गंगा श्रेष्ठ राजधानीका बासिन्दा शिक्षित र हरहिसाबमा अब्बल भए पनि ससाना कुराका लागि लडाइँ गर्नुपर्ने अवस्थाले फ्रस्टेट रहेको बताउँछन् । यसले नेता र प्रणालीमाथि नै असन्तुष्टि बढाएको र यो भोटमार्फत व्यक्त भएको उनको टिप्पणी छ । ‘सत्ताको केन्द्रमा रहेकाले बदमासी गरेपछि अब तिमीहरू मात्र छैनौ, अरू पनि छन् भन्ने धारणा मानिसमा विकास भएको छ,’ उनी भन्छन्, ‘यो मतबाट पनि देखियो ।’
काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी नयाँ उम्मेदवार सोबिता गौतमले एक हजार ८९१ मत ल्याउँदा गठबन्धनबाट उम्मेदवार बनेकी ओनसरीले घर्तीले एक हजार २८८ मत ल्याएकी छिन् । यसपछि राप्रपाकी कुन्तीदेवी पोखरेलको एक हजार ११९ र एमालेका मणिराम फुँयालको मत एक हजार ९८ छ ।
काठमाडौं ६ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल ६ सय भन्दा बढी मतले अगाडि छन् । उनले दुई हजार ७९ मत ल्याउँदा कांग्रेसका भीमसेनदास प्रधानको मत एक हजार ४१२ छ । प्रधानसँग एमालेका सर्वेन्द्र खनालको टक्कर छ । सर्वेन्द्रले एक हजार ४०१ मत ल्याएका छन् ।
काठमाडौं ८ मा नयाँ उम्मेदवारहरूबीच प्रतिस्पर्धा छ । यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठ अगाडि छन् । उनले तीन हजार १७ मत ल्याएका छन् । लगत्तै हाम्रो नेपाली पार्टीका सुमन सायमी छन् । उनले दुई हजार ८११ मत प्राप्त गरेका छन् । एमालेका शिवसुन्दर राजवैद्य श्रेष्ठभन्दा करिब आधा मतले पछि छन् भने एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले एक हजार १९७ मत प्राप्त गरेका छन् ।
काठमाडौं ३ मा कांग्रेसका उम्मेदवारले भारी मतसहित अग्रता कायम गरेका छन् । गठबन्धनबाट कांग्रेसका सन्तोष चालिसे र एमालेका कृष्णबहादुर राईबीच करिब एक हजार तीन सय मतको अन्तर छ । चालिसेले चार हजार पाँच सय १० मत ल्याउँदा राईको तीन हजार २१३ छ । यसअघि सांसद रहेका राईलाई पूर्वमेयर चालिसेले चुनौती दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका दुर्गाविक्रम थापा क्षेत्रीले एक हजार ६१७ मत ल्याएका छन् ।
काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ करिब पाँच सय मतले अघि छन् । पटक–पटक सांसद र मन्त्री भएका उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले पछ्याएका छन् । उनले चार हजार १३४ मत ल्याएका छन् । गठबन्धनबाट माओवादीकी उम्मेदवार भएकी कल्पना धमलाले बल्ल दुई हजार ४०३ मत ल्याएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्र प्रधानको मत एक हजार ८१७ छ ।
काठमाडौं ७ माराष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र एमालेका उम्मेदवार श्यामकुमार घिमिरेको मतान्तर करिब तीन सयमात्र छ । पराजुलीले एक हजार ६३ मतल्याउँदा घिमिरेले एक हजार तीन सय ५५ मतल्याएका छन् । पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार माओवादीकी मानुषी यमी भट्टराई पनि प्रतिस्पर्धामै छिन् । उनी हजारको छेउछाउ पुग्न लागेकी छिन् । यहाँबाट पछिल्ला लगातार दुईपटक चुनाव जितेका र हाल स्वतन्त्र लडेका रामवीर मानन्धर र यहीँबाट प्रत्यक्ष चुनाव जितिसकेका र समानुपातिक गरी दुईपटक सांसद भएका राजेन्द्रप्रसाद श्रेष्ठले सय मत पनि कटाउन सकेका छैनन् ।
काठमाडौं १० मा कांग्रेसका राजेन्द्र कुमार केसीले दुई हजार ४१८ मत ल्याएका छन्, उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले एक हजार ८७८ मत ल्याएका छन् भने एमालेका हिमेश केसीले एक हजार ३५२ मत ल्याएका छन् ।
काठमाडौं ४ र ५ मा भने कांग्रेसले सुविधाजनक अग्रता लिएको छ । काठमाडौं ४ का कांग्रेस उम्मेदवार गगनकुमार थापाले करिब तीन हजार मतले एमालेका राजन भट्टराईलाई पछि पारेका छन् । थापाले ११ हजार ९८६ मत ल्याउँदा भट्टराईले बल्ल नौ हजार २७६ मा सीमित छन् ।
काठमाडौं ५ का प्रदीप पौडेल पनि करिब हजार मतले अगाडि छन् । पौडेल दुई हजार ५९१ मत ल्याउँदा एमालेका ईश्वर पोखरेल एक हजार ६९८ मा सीमित छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रणयशमशेर राणा हजार मतनजिक छन् ।
ललितपुरमा पनि रोचक प्रतिस्पर्धा छ । त्यसमध्ये चर्चाको केन्द्रमा रहेको क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छिन् । उनी करिब साढे ६ सय मतले अगाडि छिन् । कार्कीले दुई हजार ९३१ मत ल्याउँदा एमालेका अमृत खड्का दुई २९४ ल्याएका छन् । पछिल्लो पटक यसैक्षेत्रबाट चुनाव जितेकी माओवादीकी पम्फा भुसालको मत भने एक हजार ३४४ मात्र छ ।
ललितपुर १ मा भने यसअघि नै चुनाव जितेका एमालेका नवराज सिलवाल अगाडि छन् । उनीसँग कांग्रेसका उदयशमशेर जबराले मतान्तर घटाउँदै लगेका छन् । सिलवालले पाँच हजार ३६७ मत ल्याउँदा जबराले चार हजार ५१४ ल्याएका छन् । ललितपुर २ मा भने एमालेका प्रेमबहादुर महर्जन विजयी भइसकेका छन् । उनी १५ हजार २५ मतसहित भारी मतान्तरले विजयी भएका छन् । उनका प्रतिस्पर्धी हाम्रो पार्टी नेपालका सुदिन शाक्यले आठ हजार ८८६ मत ल्याए ।
आफ्नो गढ क्षेत्र भक्तपुर १ मै नेपाल मजदुर किसान पार्टी पछि परेको छ । यहाँ एमालेका नवराज गेलालले एक हजार ८६८ मत ल्याउँदा नेमकिपाका प्रेम सुवालले एक हजार ३३५ मत ल्याएका छन् । उनीसँग अत्यन्तै झिनो प्रतिस्पर्धामा राप्रपाका भरतबहादुर खड्का छन् । खड्काले एक हजार ३१५ मत ल्याएका छन् । उनीलगत्तै माओवादीका सुनिल गोठे छन् ।
भक्तपुरको उस्तै चर्चित क्षेत्र नं. २ मा एमालेलाई पछि पार्दै कांग्रेसले अग्रता लिएको छ । पछिल्लो चुनाव जितेका एमालेका महेश बस्नेत कांग्रेसका दुर्लभ थापा क्षेत्रीभन्दा करिब हजार मतले पछाडि छन् । क्षेत्रीले नौ हजार ९७८ मत ल्याउँदा बस्नेतले नौ हजार १५ मत ल्याएका छन् ।
सत्तालाई सके ठक्कर, नसके झड्का दिने काठमाडौंको चरित्र हो : प्रा. कपिल श्रेष्ठ
काठमाडौं देशकै राजधानी हो । पूर्वाधार, शिक्षा र सभ्यताका हिसाबले यो समृद्ध छ । तर, यहाँका रैथाने सत्ताको केन्द्रबाट जहिले पनि बाहिर छन् । हिजो अत्यन्त कमजोर पृष्ठभूमिबाट आएकाहरू काठमाडौं छिरेर सत्ता र सम्पत्तिमा राज गरेका छन् । झापा, मोरङदेखि डडेलधुरासम्मका आएर यहाँ धेरैचोटि प्रधानमन्त्री भइसके । बाहिरबाट आए, काठमाडौंप्रति उनीहरू भावनात्मक नै भएनन् । सत्तामा मात्रै उनीहरूको ध्यान भयो ।
यहाँको मूल समुदाय भने जहिल्यै सीमान्तकृतजस्तो भयो । सत्तामा सहायक भूमिकामा मात्र रह्यो । यसर्थ यहाँका रैथानेमा पीडा छ । यसविरुद्ध पूर्णतया विद्रोह गर्न सक्दैनन्, तर त्यसलाई प्रतीकात्मक रूपमा उजागर गर्छन् । यसैक्रममा कहिले नानीमैया दाहाल त कहिले गोल्छे सार्कीलाई पनि जिताउँछन् । असन्तोष, अविश्वास, मोहभंग र आक्रोशको स्थिति चुनावमार्फत् विगतदेखि देखाउँदै आएका छन् ।
केपी ओलीले दुईपटक संसद् विघटन गरेर दुईतिहाइको सरकार ढाले । शेरबहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री भए, तर उनको भाषण म अहिलेसम्म बुझ्दिनँ । यिनीहरूबाट दिक्क भएर यहाँका मान्छेले नयाँ अनुहार खोजेका छन् । यहाँका मान्छेलाई विचार र सिद्धान्त पनि चाहिँदैन । सत्तालाई सके ठक्कर, नसके झड्का दिने काठमाडौंको चरित्र हो । काठमाडौंको भोटिङ प्रवृत्ति यही हो, उनीहरू सिद्धान्त र पृष्ठभूमि हेर्दैनन्, पोखरीमा ढुंगा हानेर छाल उत्पन्न गराउँछन् । नाङ्लो ठटाएर हात्ती तर्साउने । जात्रा पनि त्यस्तै, मान्छे पनि त्यस्तै ।
सत्ताको केन्द्रमा रहेकाहरूले बदमासी गरेपछि अब तिमीहरू मात्र छैनौ, अरू पनि छन् भन्ने धारणा मानिसमा विकास भयो, त्यो मतमार्फत प्रकट भयो : प्रा. डा. गंगा थापा
समाज जहिले पनि अग्रगामी हुन्छ । अहिलेको मान्छेले धेरै कुरा बुझिसकेको छ । नयाँ धेरै कुरा देखेको छ । अझ राजधानी त धेरै चहलपहल हुने ठाउँ हो । यहाँका मानिस शिक्षित र हरहिसाबमा अब्बल छन् । तर, यहाँ ससाना कुराका लागि पनि लडाइँ गर्नुपर्ने अवस्था भयो । प्रणाली नै बसेन । प्रणाली बसाएपछि आफैँ त्यसभित्र रहनुपर्ने भएकाले प्रणाली बसाउन पनि कसैले चाहेन । किनकि त्यसले भोलि आफैँलाई गाह्रो हुने भयो ।
नेताहरू निर्वाचित भए, त्यसमा जनताको सहभागिता त जरुरी नै भयो । तर, त्यो जनतासँग जोडिएन । जोडिए पनि आफ्ना समूहभित्र मात्र भयो । जनतालाई जोड्ने राजनीतिक प्रणाली भएन । सत्तासीनले जनताका दुःख र आधारभूत समस्यालाई फेर्नै चाहेनन् । दुईतिहाइ मत ल्याउँदा पनि चलाउन सक्ने अवस्था भएन ।
असन्तुष्टि बढेको छ । यसले पूरा प्रणालीमै विश्वास घट्यो । यसर्थ, यहाँ जनतामा उत्साह छैन । नेताहरूप्रति विश्वास छैन । मानिसमा फ्रस्टेसन छ । सत्ताको केन्द्रमा रहेकाले यसो गरेपछि अब तिमीहरू मात्र छैनौ, अरू पनि छन् भन्ने धारणा मानिसमा विकास भएको छ । यो मतमार्फत प्रकट भएको छ । काठमाडौंबाट होस् वा बाहिरबाट संसद्मा नयाँ अनुहार जाने अवस्था देखियो । यद्यपि, यो त्यति सजिलोचाहिँ नहोला ।