- पशुचौपाया गौशालामा राख्ने मात्रै होइन, समुदाय जोडेर आहारा जुटाउनेदेखि दुध–गोबर बेचेर आम्दानी गर्ने अभ्यास
धनगढी/केही वर्ष अघिसम्म धनगढीका सडक, बजार र खेतबारीमा हुलका हुल छाडा चौपाया देखिन्थे । बुढो भएपछि वा दुध दिन छाडेपछि गाईवस्तु जथाभावी छाडिदिने प्रवृत्तिले सडकमा दुर्घटनाको जोखिम बढाएको थियो । किसानले बालीनाली जोगाउनसमेत समस्या भोग्दै आएका थिए ।
तर, अहिले धनगढीका सडक र बजार क्षेत्रमा पहिलेजस्तो छाडा चौपायाको हुल देखिँदैन । उपमहानगरपालिकाले समुदायको सहभागितामा गौशाला निर्माण गरी सञ्चालनमा ल्याएपछि छाडा चौपायाबाट उत्पन्न समस्या केही हदसम्म घटेको छ ।
धनगढी उपमहानगरपालिकाले वडा नम्बर ३ विशालनगर, ७ देवहरिया, १६ बेहडाबाबा र १८ फूलबारी ई गाउँमा चारवटा गौशाला सञ्चालन गरिरहेको छ । तीनवटा गौशाला उपमहानगरपालिकाले र एउटा धार्मिक संस्थाले सञ्चालन गरिरहेको छ । ती गौशालामा अहिले एक हजार दुई सय गाईवस्तु रहेको उपमहानगरपालिकाले जनाएको छ ।
गौशाला सञ्चालनको धनगढीको अभ्यासमा स्थानीय तहको बजेटसँगै समुदायको सहभागिता पनि जोडिएको छ । स्थानीयले घाँस, पराल, भुसलगायत आहारा सहयोग गर्ने गरेका छन् । कतिपयले जन्मदिन तथा अन्य अवसरमा पशुलाई आहारा दान गर्ने गरेका छन् । यसले गौशालाको नियमित खर्चमा समुदायको प्रत्यक्ष सहभागिता बढाएको छ ।
बाली जोगाउन रातभर बस्नुपर्ने बाध्यता हट्यो
धनगढी उपमहानगरपालिका– १८, ई गाउँका सोमनाथ खतिवडाले चार वर्षअघिसम्म खेतबारीमा लगाएको बाली छाडा चौपायाबाट जोगाउन निकै कठिन हुने गरेको बताए । ‘बाली जोगाउन रातदिन हेरालु बस्नुपर्थ्यो । एकैछिन छोड्दा पनि हुलका हुल आउने पशुचौपायाले बाली खाइदिन्थे,’ खतिवडाले भने, ‘अहिले गाउँनजिकै गौशाला बनेपछि छाडा चौपायाबाट बालीमा हुने हानिनोक्सानी रोकिएको छ ।’
स्थानीय समुदायको समेत संलग्नतामा उपमहानगरपालिकाले वनको छेउमा ‘हाम्रो गौशाला’ निर्माण गरी सञ्चालनमा ल्याएको हो । उक्त गौशालामा ३६० चौपाया राखिएका छन् ।
गौशालामा ५० चौपायाबराबर एकजना हेरालु राखिएको छ । वनको निश्चित क्षेत्रलाई चौपायाको चरिचरनका लागि प्रयोग गरिएको छ ।
स्थानीयले घाँस, पराल, भुसालगायत आहारा व्यवस्थापनमा समेत सहयोग गर्ने गरेका छन् । ‘पराल, भुसालगायत आहारा स्थानीयले सहयोग गरिरहेका छन् । कतिपयले आफ्नो जन्मदिन आदि अवसरमा पशुलाई आहारा दान गर्छन् । केही खरिद पनि गर्छौँ,’ हाम्रो गौशाला व्यवस्थापन समितिका अध्यक्ष यादव भण्डारीले भने ।
छाडा चौपायाका कारण विगतमा स्थानीय आफैँ समस्यामा परेकाले गौशाला सञ्चालनमा समुदायको सहभागिता बढेको उनले बताए ।
पालिकाको बजेट, समुदायको सहयोग
धनगढी उपमहानगरपालिकाका अनुसार गौशाला सञ्चालनका लागि चालू आर्थिक वर्षमा ३४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । हेरालुको तलब, पशुचौपायाको आहारा खरिदलगायत गौशाला व्यवस्थापनमा उक्त बजेट खर्च हुने पशु शाखा प्रमुख डा. समीरकुमार ठाकुरले बताए ।
उपमहानगरपालिकाले सञ्चालन गरेका गौशालामा ५० गाईवस्तुबराबर एकजना हेरालु राखिएको छ । गौशाला सञ्चालनमा ल्याएपछि छाडा चौपायाको समस्या न्यूनीकरण भएको ठाकुरले बताए ।
तर, गौशालाको व्यवस्थापनमा पालिकाको बजेट मात्रै प्रयोग भएको छैन । स्थानीय समुदायबाट पनि नियमित रूपमा आहारा सहयोग भइरहेको छ ।
दुध र गोबरबाट आम्दानी
धनगढी– १६, बेहडाबाबा र वडा नम्बर १८, फूलबारी ई गाउँमा रहेका गौशालाले छाडा चौपाया व्यवस्थापनसँगै आम्दानीको स्रोत पनि बनाउन थालेका छन्। यी गौशालाले दुध र गोबर बिक्री गर्ने गरेका छन् ।
फूलबारीस्थित हाम्रो गौशालाले अहिले दैनिक करिब १३ लिटर दुध बिक्री गर्दै आएको छ । त्यस्तै, गोबर बिक्रीबाट वार्षिक दुई लाखदेखि साढे दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताए ।
उपमहानगरपालिकाका पशु शाखा प्रमुख ठाकुरका अनुसार बेहडाबाबामा रहेको गौशालाले पनि दुध र गोबर बिक्री गरेर आम्दानी गर्न थालेको छ । उपमहानगरपालिकाले यी दुई गौशालालाई गोबरबाट मल बनाउने विद्युतीय मेसिनसमेत उपलब्ध गराएको छ । गौशालाबाट उत्पादन हुने गोबर मल स्थानीय कृषकले खरिद गर्ने गरेका छन् ।
‘धेरै ठुलो नभए पनि थोरैथोरै आम्दानी हुन थालेको छ । गौशालाको खर्च व्यवस्थापन हुने गरी आम्दानीको स्रोत बनाउन खोजेका छौँ,’ पशु शाखा प्रमुख ठाकुरले भने ।
गौशालाको आम्दानीबाट आहारा खरिदलगायतका काममा समेत खर्च गर्ने गरिएको छ । उपमहानगरपालिकाले हेरालुलाई मासिक १० हजार रुपैयाँ तलब दिने गरेकोमा दुध तथा गोबर बिक्रीबाट भएको आम्दानीबाट थप पाँच हजार रुपैयाँ दिने गरिएको हाम्रो गौशाला व्यवस्थापन समितिका सचिव कल्पना देवकोटाले बताइन् । गौशालामा गाईमा कृत्रिम गर्भाधान र नस्ल सुधारको कामसमेत हुने गरेको छ ।
अशक्त चौपायाका लागि छुट्टै व्यवस्थापन
धनगढी– ७ मा रहेको गौशालामा भने अशक्त चौपायालाई राख्ने गरिएको छ । यसले सडकमा छाडिएका बिरामी तथा कमजोर चौपायालाई छुट्टै व्यवस्थापन गर्न सहयोग पुगेको उपमहानगरपालिकाले जनाएको छ ।
यसरी धनगढीमा गौशाला निर्माण मात्रै नभई चौपायाको अवस्था र व्यवस्थापनको आवश्यकताअनुसार फरक–फरक व्यवस्था गर्ने प्रयास गरिएको छ ।
कैलाली–कञ्चनपुरका पालिकाकै साझा समस्या
छाडा पशुचौपाया व्यवस्थापन कैलाली र कञ्चनपुरका अधिकांश पालिकाको प्रमुख समस्याका रूपमा रहेको छ । राजमार्गमा छाडा चौपाया हुँदा सवारी दुर्घटनाको जोखिम बढ्ने गरेको छ भने ग्रामीण क्षेत्रमा किसानको बालीनाली नष्ट हुने समस्या छ ।
स्थानीय तहहरूले छाडा चौपाया व्यवस्थापनमा हरेक वर्ष ठुलो रकम खर्च गर्दै आए पनि धेरैजसो पालिकामा समस्या उस्तै छ । एउटा पालिकाले चौपाया व्यवस्थापन गरे पनि अर्को पालिकाबाट ल्याएर छाड्ने प्रवृत्तिले समस्या थप जटिल बनाउने गरेको छ ।
धनगढी उपमहानगरपालिकाकी उपमेयर कन्दकलाकुमारी रानाले छाडा चौपायाले बालीनालीमा ठुलो असर गर्न थालेपछि समुदायकै संलग्नतामा गौशालाहरू सञ्चालनमा ल्याएर व्यवस्थापन गरिएको बताइन् । तर, धनगढीले मात्र प्रयास गरेर समस्या समाधान नहुने उनको भनाइ छ । ‘अन्य पालिकाबाट पनि यहाँ छाडा चौपाया आउँछन् । जथाभावी चौपाया छोड्न नदिने र सबै पालिकाले व्यवस्थित रूपमा गौशाला सञ्चालन गर्ने हो भने छाडा चौपायाको समस्या कम हुन्छ,’ उनले भनिन् ।