मतगणनामा ढिलाइ : सोमबार राति १२ बजेसम्म एक सय १५ क्षेत्रमा मतगणना सुरु, ५० क्षेत्रमा अझै भएन

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण
मतगणनामा ढिलाइ : सोमबार राति १२ बजेसम्म एक सय १५ क्षेत्रमा मतगणना सुरु, ५० क्षेत्रमा अझै भएन

बुढानिलकण्ठ नगरपालिका–२ चपलीस्थित ज्येष्ठ नागरिक भवनमा काठमाडौं ४ को मतगणना हुँदै । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

प्रतिकूल मौसमका कारण हुम्ला, डोल्पा र बझाङका मतपेटिका ढुवानी हुन नसक्दा अन्योलमा मतगणना

निर्वाचन क्षेत्रैपिच्छे मतगणना गरेर सकेसम्म चाँडो परिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्ययोजना रहे पनि प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणनामा ढिलाइ भएको छ । निर्वाचन आयोगले मतदानकै राति अर्थात् आइतबारबाटै गणना सुरु हुने भने पनि सोमबार बिहानबाट मात्रै मतगणना सुरु भएको हो ।

सोमबार राति १२ बजेसम्म ११५ क्षेत्रमा मतगणना थालिएको छ । मनाङ, मुस्ताङ र ललितपुर–२ मा गरी सोमबार रातिसम्म तीन क्षेत्रको परिणाम आएको छ । अझै ५० क्षेत्रमा मतगणना बाँकी छ । कतिपय क्षेत्रमा पुनः मतदान गर्नुपर्ने भएकाले मतगणना रोकिएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अपेक्षाकृत रूपमा गणना प्रारम्भ हुन नसकेको बताए । ‘आठवटा जिल्लाको मतपेटिका आउन बाँकी छ । केही जिल्लामा विवाद छ,’ उनले भने, ‘मंगलबार साँझसम्म सबै क्षेत्रमा गणना प्रारम्भ हुन्छ । साँझदेखि उल्लेख्य ठाउँको मतपरिणाम पनि आउन थाल्छ ।’ 

केही ठाउँमा कर्मचारी थकित भएकाले पनि ढिलाइ भएको आयोगका सहप्रवक्ता कमल भट्टराईले बताए । ‘एउटा मतपत्र अर्काे मतपेटिकामा परेका ठाउँमा विवाद भएको र प्रतिनिधि बस्ने विवादले पनि समयमै गणना प्रारम्भ हुन नसकेको हो,’ उनले भने । विवादले पुनः गणनाको माग आएका ठाउँमा आधार र प्रमाणका आधारमा निर्णय हुने उनले बताए । ‘निर्वाचन अधिकृतले नसकेको हकमा मात्रै आयोगले उपयुक्त निर्णय गर्छ,’ उनले भने ।

तीन जिल्लाका मतपेटिका अझै आएनन्
सात हिमाली जिल्लामध्ये चार जिल्लाका मतदानस्थलबाट सेनाको हेलिकोप्टर प्रयोग गरी मतपेटिका तथा निर्वाचन सामग्री मतगणनास्थल ल्याइएको छ । सोलुखुम्बु, संखुवासभा, गोरखा र मनाङमा हेलिकोप्टरमार्फत ढुवानी गरिएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए । उनका अनुसार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका नौवटा मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम नाम्चे ल्याइएका छन् । 

गोरखाको चुमनुम्री गाउँपालिकाका २२ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम गोरखाबजार ढुवानी गरिएको छ । मनाङको नार्पाभूमि गाउँपालिकाको पाँच मतदान केन्द्रका मतपेटिका सदरमुकाम चामे ल्याइएको छ । संखुवासभाको भोटखोला गाउँपालिकाका चार मतदान केन्द्रका मतपेटिका तथा निर्वाचन सामग्री सदरमुकाम खाँदबारी ढुवानी गरिएको ज्ञवालीले बताए । 

हुम्ला, डोल्पा र बझाङका मतपेटिका भने मौसमका कारण ढुवानी हुन नसकेको आयोगले जनाएको छ । हुम्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका, ताँजाकोट गाउँपालिका र सर्केगाड गाउँपालिका गरी ३४ मतदान केन्द्रबाट मतदानको ३६ घन्टा बित्दा पनि मतपेटिका ल्याउन सकिएको छैन ।

डोल्पाको शेफोक्सुन्डो गाउँपालिकाका आठवटा मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउन सकिएको छैन । बझाङको साइपाल गाउँपालिकाको एउटा मतदान केन्द्रका मतपेटिका ल्याउन बाँकी रहेको ज्ञवालीले बताए । मौसम खराब भएर सोमबार हेलिकोप्टर उड्न नसकेकाले ल्याउन नसकिएको उनले बताए । ‘आज सकिन्छ वा सकिँदैन भन्न सकिँदैन । किनभने हुम्ला र डोल्पाको मौसममा भर पर्छ । मौसम राम्रो भयो भने सकिन्छ । सोमबार पनि दुई बजेपछि मौसमका कारण हेलिकोप्टर उड्न सकेन । नत्र सोमबारै सक्ने योजना थियो । बिहान मौसम खुल्दैन । साँझ हावा चल्छ । त्यही भएर हिमाली क्षेत्रमा ढुवानी गाह्रो छ,’ उनले भने । 

गुल्मी र सुर्खेतमा आज पुनः मतदान
कर्मचारीको कमजोरीले विवाद हुँदा स्थगित हुन पुगेको गुल्मी र सुर्खेतका पाँच मतदान केन्द्रमा आज मतदान हुने भएको छ । गुल्मी क्षेत्र नम्बर १ स्थित कालीगण्डकी गाउँपालिकाको भगवती मावि अर्वेनी मतदानस्थलका दुई केन्द्रमा आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । ‘कर्मचारीबाट भएको प्राविधिक त्रुटिले मतदान स्थगित हुन पुगेको थियो । सर्वदलीय सहमतिमा आज मतदान हुँदै छ । सुरक्षा व्यवस्था पहिलेभन्दा राम्रो छ,’ उनले भने । कर्मचारीकै त्रुटिले स्थगित भएको सुर्खेत क्षेत्र नम्बर १ स्थित सिम्ता गाउँपालिका वडा नम्बर ६ को सिम्ता बहुमुखी क्याम्पस केन्द्रमा पनि आज पुनःमतदान हुँदै छ । निर्वाचन अधिकृतको कार्यालयले मतदानको सूचना जारी गरिसकेको र बिहानदेखि सुरु हुने सुर्खेत १ का निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले जानकारी दिए । ‘मतदान सामग्री र कर्मचारी मतदान केन्द्र पुगिसकेका छन् । सुरक्षा व्यवस्था राम्रो छ,’ उनले भने । दलका प्रतिनिधिबाट मतपेटिकामा एसिड फ्याँकिएको नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नम्बर ४ को शान्ति सिर्जना आधारभूत विद्यालयमा भने सोमबार पुनः मतदान भएको छ । 

मत प्रतिशत बढेन 
मतदानको साँझ ६१ प्रतिशत मत खसेको जानकारी दिएको आयोगले सोमबार थप विवरण सार्वजनिक गरेन । आइतबार मतदानपछि प्रमुख आयुक्त थपलियाले मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको र सम्पूर्ण रूपमा केही प्रतिशत वृद्धि हुन सक्ने दाबी गरेका थिए । तर, सोमबारसम्म ६१ प्रतिशत नै प्रविष्ट छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने कति प्रतिशत खसेको भन्ने मंगलबार अन्तिम विवरण आउने बताए । 

आयोगका पदाधिकारीले ६१ प्रतिशतभन्दा पनि घट्ने चिन्ता प्रकट गरेका छन् । ‘अहिलेसम्मका चुनावमा ६१ प्रतिशतभन्दा तल झरेको छैन । त्यसैले ६१ भनेको हो । घट्लाजस्तो छ,’ एक आयुक्तले भने । आयोगको प्रारम्भिक विवरणमा ५९.७५ प्रतिशत प्रविष्ट भएकोमा अपडेट गरेर ६०.९११ प्रतिशत देखाइएको थियो ।  

मतदान उत्कृष्ट : विदेशी पर्यवेक्षक
काठमाडौं उपत्यकाको मतदानको पर्ववेक्षण गरेका विदेशी पाहुनाले मतदानको व्यवस्थापन र मतगणना शैलीको प्रशंसा गरेका छन् । मतदानको अवलोकन गर्न भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त र दक्षिण कोरियाका आयुक्त तथा जापानका विदेश राज्यमन्त्री ताकेई सुनसुकेको प्रतिनिधिमण्डल काठमाडौं आएको थियो । जापानी टोलीले रविभवनस्थित नाथुम कलेजमा मतगणनाको अवलोकनसमेत गरेको थियो । 

सोमबार साँझ आफ्नो अनुभव सुनाउँदै जापानी राज्यमन्त्री ताकेईले मतदान शान्तिपूर्ण भएको, मतदान केन्द्रमा लाइन व्यवस्थित भएको, अपांगमैत्री भएको भन्दै प्रशंसा गरे । ‘काउन्टिङमा मतपत्र पोखेको, मिक्स गरेको, भाँडो खाली गरेको शैलीलाई पनि जापनिजले प्रशंसा गरे,’ आयोगका सहायक प्रवक्ता कमल भट्टराईले भने । 

प्रमुख आयुक्त दिनेश थपलियासँग शिष्टाचार भेट गरेको जापनिज मन्त्रीको टोली साँझ स्वदेश फर्किसकेको छ । ‘उनले मतदान गज्जबै भयो भने । हाम्रो ५० देखि ५५ प्रतिशतभन्दा बढी मतदान हुँदैन । ६१ प्रतिशत कम होइन । यो राम्रो हो भन्ने उनको भनाइ रह्यो,’ थपलियाले भने, ‘हाम्रा पूर्वप्रधानमन्त्री सिन्जो आबेको पनि प्रचारकै क्रममा गोलीकाण्डमा परेर डेथ भयो । यहाँ त्यस्तो अवस्था पाइएन । सुरक्षा व्यवस्था राम्रो लाग्यो । हाम्रोमा फरक–फरक समयमा चुनाव हुन्छ । तपाईंहरूको यहाँ एउटै चरणमा हुँदो रहेछ । शान्तिपूर्ण रूपमा एकैपटक पनि गर्न सकिँदो रहेछ भन्ने उनको अनुभव थियो । भारतीय र भुटानी टोलीले यही कुरा सुनाए ।’ भुटानका प्रमुख आयुक्त र अन्य पाहुना मंगलबार स्वदेश फर्किने सहायक प्रवक्ता भट्टराईले बताए ।

बाजुरामा अनिश्चित

दुईजनाको मृत्यु र एक प्रहरीसहित चारजना घाइते भएको बाजुरामा भने पुनः मतदान कहिले हुने टुंगो लागेको छैन । एक मात्र निर्वाचन क्षेत्र रहेको यहाँ सोमबार पनि झडप र हिंसात्मक घटना भएका थिए । ‘दिउँसो आगजनी र नाराजुलुस भएको थियो । सर्वदलीय छलफल भएर साँझबाट शान्ति सुरक्षा सामान्य छ । दुई दलबीच विवाद भएकाले गाउँ–गाउँमा कडा सुरक्षा छ,’ मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले भने । 

ढाकाराम पौडेल, मुख्य निर्वाचन अधिकृत, बाजुरा

१६ ठाउँमा एमाले र आठ ठाउँमा कांग्रेसले पुनः मतदानको माग गरेका छन्, यी ठाउँमा मतदान सम्पन्न भएर मतपेटिका पनि आइसकेको छ । के गर्ने भनेर आयोगबाट निर्देशन आएपछि अघि बढ्छौँ । स्थगित भएको एउटा ठाउँमा पुनः मतदान गर्नुपर्ने हाम्रो तयारी छ ।

उनका अनुसार बाजुराको बुढीनन्दा नगरपालिका–५ मा एउटा मात्रै मतदानस्थलको मतदान स्थगित भएको छ । २८ मत खसेको अवस्थामा मतपेटिकासहित निर्वाचन सामग्री लुटिएपछि यहाँ मतदान स्थगित गरिएको थियो । अन्यमा सुरुवातमा विवाद भए पनि सहमति गरेर मतदान सम्पन्न गरिएको थियो । त्यस्ता ठाउँमा पनि पुनः मतदानको माग आएको पौडेलले बताए । ‘१६ ठाउँमा एमाले र आठ ठाउँमा कांग्रेसले पुनः मतदानको माग गरेका छन्, यी ठाउँमा मतदान सम्पन्न भएर मतपेटिका पनि आइसकेको छ । के गर्ने भनेर आयोगबाट निर्देशन आएपछि अघि बढ्छौँ,’ उनले भने, ‘स्थगित भएको एउटा ठाउँमा पुनः मतदान गर्नुपर्ने हाम्रो तयारी छ ।’  

बाजुराको वस्तुस्थितिबारे निर्वाचन आयोगमा मतदान अधिकृतको रायसहितको प्रतिवेदन पठाइसकेको भन्दै पौडेलले आयोगको समन्वयमा नयाँ मिति तोकिने बताए । ‘मिति तोक्न मान्छेको मृत्यु भएकाले सहज परिस्थिति छैन । २४ ठाउँमा दलबाट पुनः मतदानको माग भएको छ, विचार गर्नुपर्ने र स्थगित भएको एक ठाउँमा पुनः मतदान गर्नुपर्ने भनेर आयोगमा जानकारी गराएका छौँ । आयोगबाट निर्णय भएपछि अघि बढ्छौँ,’ उनले भने । 

संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का सदस्य एसएसपी डम्बर बिकेले बाजुरामा सुरक्षा अवस्था सामान्य रहेको बताए । सबै निकायबाट कुल पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । 

गुल्मी र सुर्खेतमा आज पुन: मतदान
कर्मचारीको कमजोरीले विवाद हुँदा स्थगित हुन पुगेको गुल्मी र सुर्खेतका पाँच मतदान केन्द्रमा आज मतदान हुने भएको छ । गुल्मी क्षेत्र नम्बर १ स्थित कालीगण्डकी गाउँपालिकाको भगवती मावि अर्वेनी मतदानस्थलका दुई केन्द्रमा आज बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए । ‘कर्मचारीबाट भएको प्राविधिक त्रुटिले मतदान स्थगित हुन पुगेको थियो । सर्वदलीय सहमतिमा आज मतदान हुँदै छ । सुरक्षा व्यवस्था पहिलेभन्दा राम्रो छ,’ उनले भने । कर्मचारीकै त्रुटिले स्थगित भएको सुर्खेत क्षेत्र नम्बर १ स्थित सिम्ता गाउँपालिका वडा नम्बर ६ को सिम्ता बहुमुखी क्याम्पस केन्द्रमा पनि आज पुनःमतदान हुँदै छ । निर्वाचन अधिकृतको कार्यालयले मतदानको सूचना जारी गरिसकेको र बिहानदेखि सुरु हुने सुर्खेत १ का निर्वाचन अधिकृत उपेन्द्रकेशर खनालले जानकारी दिए । ‘मतदान सामग्री र कर्मचारी मतदान केन्द्र पुगिसकेका छन् । सुरक्षा व्यवस्था राम्रो छ,’ उनले भने । दलका प्रतिनिधिबाट मतपेटिकामा एसिड फ्याँकिएको नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नम्बर ४ को शान्ति सिर्जना आधारभूत विद्यालयमा भने सोमबार पुनः मतदान भएको छ । 

See More On

सुझावित समाचार