बाजुरामा एमालेको जितमा ब्रेक लगाउने दाउमा गठबन्धन

दोस्रो जितको योजनामा थापा र पहिलो पटक चुनाव लड्दै पाण्डे

बिहिबार, १ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा एमाले र सत्तागठबन्धन आमने–सामने भएका छन् । ४ मंसिरमा हुने चुनावमा एमाले जित दोहोर्याउने दाउमा छ भने कांग्रेस ब्रेक लगाएर आफू जित्ने योजनामा छ । यहाँ एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे मुख्य प्रतिस्पर्धी हुन् ।

माओवादी र एकीकृत समाजवादीको साथ पाएको कांग्रेस ०७४ र ०७० को नतिजा उल्ट्याउने दाउमा छ । बाजुरामा ०७० मा एमालेका कर्णबहादुर थापा र ०७४ मा एमालेकै लालबहादुर थापाले जितेका थिए । ०७० को चुनावमा कांग्रेस बाजुराका सभापति मनबहादुर रावल निकटतम प्रतिस्पर्धी थिए भने ०७४ मा कांग्रेसकै कविराज पाण्डे मुख्य प्रतिस्पर्धी थिए ।

यसपटक दुवै दलले फरकफरक उम्मेदवार चुनावी मैदानमा उतारेका हुन् । बाजुरामा थापा र पाण्डेसँगै जनता पार्टीका रामबहादुर शाही, राप्रपाका जंगकुमार गिरी र स्वतन्त्रबाट टेक बडुवाल उम्मेदवार छन् ।

दोस्रो जितको दाउमा थापा र पहिलोपटक चुनाव लड्दै पाण्डे 
थापा र पाण्डे लामो समयदेखि संसदीय राजनीतिमा रहे पनि आमने–सामने भने पहिलोपटक भएका हुन् ।  तीन पटक (०५६, ०६४ र ०७०) मा चुनाव लडेका थापालाई ०७० मा मात्र सफलता मिलेको छ भने पाण्डे पहिलोपटक प्रत्यक्ष चुनाव लड्दै छन् । ०७० मा चुनाव जित्दा थापा उद्योगमन्त्री बनेका थिए ।  

तीन पटक (०५६, ०६४ र ०७०) मा चुनाव लडेका थापालाई ०७० मा मात्र सफलता मिलेको छ भने पाण्डे पहिलोपटक प्रत्यक्ष चुनाव लड्दै छन् । पाण्डे ०७० मा समानुपातिकबाट संविधानसभा सदस्य  र ०७४ मा राष्ट्रिय सभा सदस्य बनेका थिए ।

०७० मा समानुपातिकबाट संविधानसभा सदस्य बनेका पाण्डे ०७४ मा राष्ट्रिय सभा सदस्य बने पनि उनमा चुनाव लडेको अनुभव छैन । भन्छन्, ‘म जनताबाटै अनुमोदित हुन चाहन्छु्, त्यही भएर चुनावी मैदानमा होमिएको हुँ ।’ बाजुराका मुख्य प्रतिस्पर्धी कांग्रेस र एमाले नै हुन् । ०४८, ०५६, ०६४ मा कांग्रेस विजयी भएको थियो भने ०५१, ०७० र ०७४ मा एमालेले जितेको थियो  । 
 
कसको पल्ला भारी ?
०७० को दोस्रो संविधानसभा निर्वाचनमा एमालेका कर्णले कांग्रेसका मनबहादुरलाई झन्डै पाँच हजार मतान्तरले हराएका थिए । कर्णले २३ हजार पाँच सय ५५ मत पाउँदा मनबहादुरले १८ हजार पाँच सय मत पाएका थिए । त्यतिखेर गठबन्धन थिएन । ०७४ को चुनावमा भने एमाले, माओवादीबीच गठबन्धन हुँदा बाजुरामा एमालेका लालबहादुर २८ हजार ६५ मतसहित विजयी भएका थिए । कांग्रेसका कविराज २३ हजार एक सय मतमा खुम्चिएका थिए ।

पछिल्ला चुनावको नतिजा हेर्दा बाजुरामा एमाले बलियो रहे पनि पार्टी फुटको असर देखा पर्न सक्छ । एमालेबाट छुट्टिएको एकीकृत समाजवादीको साथ कांग्रेसलाई छ भने ०७४ मा एमालेलाई सघाएको माओवादी पनि कांग्रेसतिर छ । त्यसैले पनि कांग्रेसका नेताहरूले जित्ने दाबी गर्दै आएका छन् । ०७४ को स्थानीय तह निर्वाचनमा नौमध्ये ६ पालिका जितेको कांग्रेस ०७९ मा आइपुग्दा तीन पालिकामा खुम्चिएको छ । ०७४ मा तीन पालिकामा सीमित रहेको एमालेले यसपटक ६ पालिका जितेको छ ।

३० वैशाखको स्थानीय चुनावमा प्राप्त मतलाई दलीय हिसाबमा हेर्दा एमाले अगाडि छ । तर, कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनको संयुक्त मतसँग तुलना गर्दा एमाले केही कमजोर देखिन्छ । वडा तहमा प्राप्त मत केलाउँदा गठबन्धनसँग २९ हजा आठ सय १३ छ भने एमालेसँग २७ हजार ६ सय ५५ मत छ । दलीय हिसाबमा हेर्दा कांग्रेसको २४ हजार चार सय ५७, माओवादीको तीन हजार नाै सय ९२ र एकीकृत समाजवादीको एक हजार तीन सय ६४ मत छ । बाजुरामा ८३ हजार पाँच सय ६७ मतदाता छन् ।

सुझावित समाचार