१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख १७ सोमबार १६:४७:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

संखुवासभा : मतदातासामु विकासका वाचा, कार्यान्वयनमा छैन ताकेता

Read Time : > 2 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १६:४७:oo

पूर्वी पहाडी जिल्ला संखुवासभाको उत्तरी सिमाना छिमेकी चीनसँग जोडिएको छ । भोटखोला गाउँपालिका– १ किमाथांका र चीनको देदाङ बजारबीचको सिमाना  मितेरी पुलले जोडेको छ । 

सदरमुकाम खाँदबारीदेखि किमाथांका सडक खोल्ने र कालोपत्रे गर्ने प्रतिबद्धता शीर्षदेखि स्थानीय नेताले पटकपटक जनाउँदै आएका छन्, तर कार्यान्वयन भएको छैन । यसपटक पनि प्रतिनिधिसभाका उम्मेदवारहरूको एजेन्डामा यो सडक परेको छ । 

किमाथांका नाका खाँदबारीदेखि एक सय ६२ किमिमा र भारतसँग सीमा जोडिएको विराटनगरको जोगमुनीदेखि तीन सय ९० किमि दूरीमा छ । चीन जोड्ने नेपालको सबैभन्दा छोटो नाका खोल्ने र सडक पूरा गर्ने आश्वासन सबै शीर्ष नेताले जनाउँदै आएका छन् । 

यो सडकका लागि आर्थिक वर्ष ०७७–७८ सालमा सरकारले बजेट विनियोजन गरेको थियो । ०७८ असार १७ गते शर्मा–शिवशक्ति जेभी कम्पनीले सडक निर्माणको ठेक्का पाएकाे थियाे ।  कुल एक अर्ब ३२ करोडमा ठेक्का लागेको थियो । 

खाँदबारीदेखि नुमसम्म ३९ किलाेमिटर सडक १४ महिनाको अवधिमा जम्मा सात प्रतिशत मात्रै निर्माण भएको उत्तरदक्षिण कोसी सडक आयोजनाले जनाएको छ । 

केन्द्रीय कोसी–ल्हासा राजमार्गले विराटनगर, धरान, हिले, धनकुटा हुँदै संखवासभा जोडिएको छ । जसोतसो सदरमुकाम खाँदबारीमा यातायात सहज भए पनि त्यहाँभन्दा उत्तरतर्फ कच्चीको सडकको अवस्था दर्दनाक छ । 

स्थानीयले निर्माण भइसकेका सडकमा कालोपत्रे होस् भनेर माग गरिरहेका छन् ।  भोटखोलाका पिम्बिन लामा नेताहरूले चुनाव आउँदा मात्रै मान्छे चिन्ने र बाटो बनाउने भाषण गर्ने गरेको, तर  जितेर गएपछि गाउँ नै नफर्किएको गुनासो गरे । 

खाँदबारी– ४ का बमबहादुर गुरुङले पनि नेताहरूको आश्वासनमा विश्वास गर्न नसकिने टिप्पणी गरे । खाँदबारी नगरपालिका– ६ का फणीन्द्र राईले विकासको पहिलो आधार सडक भएको, तर नेताहरूले आश्वासन मात्रै दिएको गुनासो गरे । 

उम्मेदवारका आश्वासन 
०७४ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित एमाले नेता राजेन्द्र गौतमले खाँदबारी–नुम सडक कालोपत्रे हुने पटक–पटक आश्वासन दिए । अहिले पनि उम्मेदवार रहेका गौतमको चुनावी एजेन्डामा यसपटक पनि सडक छ ।  

सत्तागठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका कांग्रेस नेता दीपक खड्काको पनि चुनावी एजेन्डामा खाँदबारी–किमाथांका मार्ग छ ।  आफूलाई जिताए केन्द्रीय बजेट ल्याएर खाँदबारी–किमाथांका सडक कालोपत्रे गर्ने र नाका खुलाउन पहल गर्ने आश्वासन दिएका छन् । 

स्वतन्त्र उम्मेदवारको समेत नारा खाँदबारी–किमाथांका सडक कालोपत्रे गर्ने र सीमानाका खोल्न प्रयास गर्नेछ । स्वतन्त्र उम्मेदवार बनेका तेन्जिङ शेर्पाले खाँदबारीदेखि उत्तरी भेगका जनताले सडककै कारण दुःख पाएको, तर राजनीतिक दलका उम्मेदवारले काम गर्न नसकेको बताए । 
    
गौतम र खड्काबीच तेस्रोपटक प्रतिस्पर्धा 
संखुवासभामा प्रतिनिधिसभा उम्मेदवारका लागि गौतम र खड्काकाे यो तेस्रो प्रतिस्पर्धा हो ।  ०७० को निर्वाचनमा खड्काले  गौतमलाई हराएका थिए । खड्का राज्यमन्त्री पनि भएका थिए । 

०७४ को निर्वाचनमा गौतमले खड्कालाई हराएका थिए । ०७४ को निर्वाचनमा एमालेका उम्मेदवार गौतमलाई नेकपा माओवादी केन्द्रको साथ रहेको थियो । अहिले माओवादी केन्द्रको साथ कांंग्रेसलाई भएका कारण गौतमलाई चुनौती छ । 

संखुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेश सभा छन् । जिल्लाभित्र १० वटा गाउँपालिका र ७६ वटा वडा छन् । स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा एमालेभन्दा  गठबन्धन अघि छ । संखुवासभामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी पार्टी र जनमोर्चाबीच गठबन्धन छ । 

संखुवासभामा अहिले प्रतिनिधिसभामा स्वतन्त्रसहित ११ जना चुनावी मैदानमा छन् भने प्रदेश सभा (क) र (ख)का लागि १८ जना गरी २९ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा एक लाख १७ हजार पाँच सय ५४ जना मतदाता रहेका छन् । जिल्लामा एक सय आठवटा मतदानस्थल र एक सय ६२ वटा मतदान केन्द्र तोकिएको छ ।

ad
ad