१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १६ बुधबार
  • Friday, 09 May, 2025
२o७९ कार्तिक १६ बुधबार १o:o७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तिहारमा एउटै किसानले बेचे सात लाखको सयपत्री फूल   

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक १६ बुधबार १o:o७:oo

तिहारमा चितवनका एउटै किसानले सात लाख रुपैयाँको सयपत्री फूल बेचेका छन् । भरतपुर महानगरपालिका– २६ दिव्यनगरका ६२ वर्षीय किसान दीपक पाख्रिनले यस वर्षको तिहारमा  सात लाखको फूल बेचेका हुन् । गत वर्ष डेढ बिघा क्षेत्रफलमा लगाएको सयपत्री फूलबाट मनग्य आम्दानी भएपछि उनले यस वर्ष चार बिघामा फूल रोपेका थिए । सयपत्री फूलको माग अत्यधिक भएकाले चार बिघाको फूल पनि कम भएको उनको भनाइ छ ।

पाख्रिनले भने, ‘गत वर्ष डेढ बिघामा लगाएको सयपत्री फूलले यहाँको माग पुर्‍याउन सकिएन भनेर अहिले चार बिघामा लगाएको फूलले राम्रै बजार पायो, आम्दानी पनि मनग्य भयो ।’  यस वर्ष भारतबाट फूल आयात कम भएका कारण पनि व्यापार राम्रो भएको उनले जानकारी दिए । तिहारको अवधिभर १२ हजारभन्दा बढी फूलको माला बिक्री भएको उनले बताए । फूल बिक्रीबाट सात लाखभन्दा बढी आम्दानी भएको पाख्रिनले जानकारी दिए ।

‘मैले उत्पादन गरेको फूल सबै जिल्लाभित्रै खपत भयो,’ उनले भने, ‘केही फूल पश्चिम नेपालका जिल्लामा पनि पठाएँ ।’ उनले अझै  चार–पाँच लाखको फूल बारीमा नै रहेको बताए । ‘मंसिरमा बिहेको लगन आउँदै छ, त्यसवेला बाँकी रहेको फूल बिक्री हुन्छ, अन्य समयमा पनि फाट्टफुट्ट बिक्री भइरहन्छ,’ उनले भने । डेढ बिघा जग्गामा फूल बिक्री गरिसकेपछि उनले अहिले त्यो ठाउँमा तोरी खेती गरेका छन् ।

यसपालिको तिहारमा एउटा माला एक सयमा र फूल प्रतिकेजी चार सयमा बिक्री गरेको उनले जानकारी दिए । पाख्रिनले विगत १८ वर्षदेखि व्यावसायिक रूपमा फूलखेती गर्दै आएका छन् । यो व्यवसाय गर्नका लागि उनलाई श्रीमती सरस्वती खत्री पाख्रिनको उत्तिकै साथ छ । उनीहरूका दुई छोरी र दुई छोरा छन् ।  

६२ वर्षीय पाख्रिनले १८ वर्षको दौरानमा देशभर सयभन्दा बढी शिष्य बनाइसकेका छन् । जो अहिले व्यावसायिक रूपमा फूलखेती गरिरहेका छन् । पाख्रिनसँगै सातजनाले स्थायी रोजगारी पाएका छन् । उनी नेपालको हावापानीमा सयपत्री फूल सहजै उत्पादन हुने बताउँछन् ।