१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

दार्चुला घटना : गल्ती स्विकार्दै भारतीय निर्माण कम्पनीले गर्‍यो १६ लाख दिने सहमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:३४:oo

तावाघाट–लिपुलेक सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले बालक पवन महराको मृत्युमा गल्ती स्विकार्दै उनको परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेको छ ।  शनिबार भारतको धार्चुलास्थित एसडिएम कार्यालयमा पीडित परिवारसँग भएको छलफलमा कम्पनीका प्रतिनिधिले गल्ती स्वीकार गर्दै १० लाख भारतीय रुपैयाँ दिने सहमति बनेको व्याँस गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए । 

कम्पनीले सुरुमा हिक्मत महरासँग उनका चार सन्तानको कक्षा १२ सम्मको पढाइ खर्च व्यहोर्ने र परिवारका एकजनालाई कम्पनीमा रोजगारी दिने प्रस्ताव गरेको थियो । तर, उनले नगदै क्षतिपूर्ति मागेपछि त्यसैअनुसार सहमति बनेको हो । शनिबार पीडित परिवार लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि धार्चुला गएको थियो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा विनासूचना विस्फोट गराउने ज्यादतीका गतिविधि रोक्न टोलीले भारतीय पक्षसँग आग्रह गरे पनि गरेको छ ।

मानवीय क्षतिका घटना दोहोर्‍याउँदै भारत
भारतले नेपाल र नेपालीमाथि सीमा क्षेत्रमा जानाजान गरेको ज्यादती यो पहिलो होइन । पटक–पटक मानवीय क्षति हुने घटना दोहोर्‍याएको छ । गत वर्ष तुइन फुस्काइदिँदा जयसिंह धामी मारिए । अहिले चट्टान फोड्न विस्फोट गराएर सीमावारि हिँड्दै गरेको अवोध बालक मारिए ।

गत वर्ष हिक्मत महराकै घरगोठको छानामा भारतबाट आएको ढुंगा बज्रिँदा एउटा गाई मरेको थियो । ‘सीमामा हामीमाथि पटक–पटक भारतले यस्ता घटना दोहोर्‍याइरहेको छ । वारि हाम्रो घर छ । पारिपट्टि सडकबाट आएको ढुंगा सीधै घरमा आइपुग्दा भौतिक क्षति हुने गरेको छ,’ उनले भने । गत वर्षको घटनाबारे नेपाल प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाए पनि क्षतिपूर्तिका लागि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । 

अहिले निर्माण गरिरहेको सडक क्षेत्रमै गत भदौमा पहिरोमा परेर चारजना नेपाली घाइते भएका थिए । उनीहरू अहिलेसम्म पनि उपचारकै क्रममा छन् । व्याँस गाउँपालिका– २ का जयलाल वड, सुकवीर धामी, धीरनसिंह धामी र दिनेश धामी घाइते भएका हुन् । जयलालको भारत पिथौरागढमा उपचार भइरहेको छ भने धीरन धनगढीमा उपचार गराउँदै छन् । सुकवीर र दिनेशले स्थानीय स्वास्थ्य संस्थामै उपचार गराउँदै आएका छन् । उनीहरूले अहिलेसम्म निर्माण कम्पनीबाट कुनै क्षतिपूर्तिसमेत नपाएको व्याँस– २ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले बताए । अहिले निर्माण गरिरहेको सडक क्षेत्रमै उनीहरू पहिरोमा परेका थिए । 

त्यस्तै, २५ जेठ ०७८ मा व्याँसकै दुम्लिङ र कल्जु क्षेत्रबाट पारि भारतले बाटो विस्तारका लागि विस्फोट गर्दा चट्टान खसेर नेपालतर्फको बाटो भत्किएको थियो । दुम्लिङबाट करिब दुई सय मिटर उत्तरतर्फको घोरेटो बाटो महाकालीले बगाएको थियो । बाटो बगाउँदा नेपालको भूमिबाटै व्याँस जाने बाटो अवरुद्ध भएको छ । भारतले सडकको ट्र्याक खोल्न गराएको विस्फोटमा नेपालतर्फ दुम्लिङका चारवटा घरमा पनि क्षति पुगेको थियो । पारिबाट उछिट्टिएर आएको ढुंगा लागेर घरपालुवा चौपाया पनि घाइते भएका थिए ।

ad
ad