१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
दीपक अधिकारी काठमाडौं
२०७९ कार्तिक ११ शुक्रबार ०९:१९:००
Read Time : > 2 मिनेट
ब्लग डिजिटल संस्करण

मेसीबिना जित्न बिर्सिएको बार्सिलोना

Read Time : > 2 मिनेट
दीपक अधिकारी, काठमाडौं
२०७९ कार्तिक ११ शुक्रबार ०९:१९:००

मेसीविहीन बार्सिलोनाले जित्न सम्भव छ ? फेरि एकपटक यो प्रश्न गुञ्जिएको छ । विशेषतः बार्सिलोनाका समर्थक र शुभेच्छुकहरूमाझ । आफ्नै घरेलु मैदान नेउक्याम्पमा बायर्न म्युनिखसँगको हारपछि जे नतिजा सामुन्ने थियो, त्यसले पनि यो प्रश्नलाई बल प्रदान गर्‍याे । 

बायर्न म्युनिखसँग ३–० को त्यो हारपछि पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरियो । बार्सिलोना र उसका समर्थकहरूका लागि ज्यादै दुःखी बनाएको यो नतिजा पहिलो थिएन । बार्साको क्लब इतिहासमा धेरैपटक यस्तो भएको छ । तर, आफ्ना स्टार खेलाडी मेसीले क्लब छाडेयता बार्सा लगातार दोस्रोपटक यही नतिजा व्यहोर्दै थियो ।

 

लेखक : दीपक अधिकारी

अघिल्लो सिजनमा लगातार खराब प्रदर्शनपछि क्लबले प्रशिक्षक बर्खास्त गर्दै आफ्ना पूर्वस्टार मडफिल्डर जाभीलाई भित्र्याएको थियो । तर, जाभीले प्रशिक्षण सम्हालेपछि पनि च्याम्पियन्स लिगमा बार्साको नतिजा फरक आउन सकेन । 

टिमलाई मजबुत र चुस्त बनाउन जाभीले ठूलो धनराशि खर्च गरेर केही उत्कृष्ट खेलाडी भित्र्याएका थिए । बायर्न म्युनिखबाट बार्सा आएका लेभेन्डोस्की तिनैमध्ये एक हुन् । तर, लेभेन्डोस्की र अन्य भित्र्याइएका स्टार खेलाडीले पनि बार्सालाई बचाउन सकेनन् । अझ, बार्सा लेभेन्डोस्कीकै पूर्वक्लब बायर्नसँगका लगातारका दुई भेटमा नमिठो पराजय व्यहोर्न बाध्य भयो । 

बार्सा यतिवेला पछिल्लो दुई दशकयताकै खराब नतिजा व्यहोरिरहेको छ । च्याम्पियन्स लिगमा मात्र होइन, ला लिगामा पनि बार्सा पहिलेपहिलेजस्तो सुदृढ देखिएको छैन । मेसीविहीन बार्सिलोनाले जित्न सम्भव छ ? भन्ने प्रश्न उठ्नुको मुख्य कारण नै यही हुनुपर्छ । 

धेरै खेल विश्लेषक बार्साको यो खराब नतिजाको मुख्य कारण आफ्ना स्टार खेलाडी लियोनल मेसीलाई अप्रत्याशित रूपमा क्लब छाड्न बाध्य तुल्याइएको घटनाभित्रै लुकेको विश्लेषण गरिरहेका छन् । 

हुन पनि परिणामले त्यही देखाएको छ । मेसीले नेउक्याम्प छाड्न बाध्य भएपछि बार्साले च्याम्पियन्स लिगमा ११ खेल खेलेको छ । र, तिनमा केवल तीन मात्र जित हात पारेको छ । बार्साको वर्तमान नियति देखाउन यो नतिजा काफी छ । 

मेसी रहँदासम्म बार्सा कुनै पनि सिजन च्याम्पियन्स लिगको पहिलो चरणबाटै आउट भएको थिएन । मेसीसहितको बार्सालाई सधैँ च्याम्पियन्स लिगको सम्भाविता विजेताको रूपमा हेर्ने गरिन्थ्यो । 

बार्सिलोनाले क्लब स्थापनाको एक सय २३ वर्षको अवधिमा अहिलेसम्म जम्मा पाँचपटक च्याम्पियन्स लिगको ट्रफी उचालेको छ । ती पाँचमध्ये चार ट्रफी बार्सामा मेसीको उदयपछि सम्भव भएका हुन् । 

बार्सिलोनाले च्याम्पियन्स लिग सुरु भएको ३६ वर्षपछि सन् १९९१–९२ मा पहिलोपटक च्याम्पियन्स लिग जितेको थियो । दोस्रोपटक ट्रफी उचाल्न १४ वर्ष लाग्यो । २००५–०६ पछि २००८–०९, २०१०–११ र २०१४–१५ मा यही क्रम दोहोर्‍यायो । 

बार्सिलोनाको इतिहासमा यो स्वर्णिम समय मानिन्छ । र, मेसी त्यही समयका सबैभन्दा प्रमुख खेलाडी थिए । ती समय मेसीका पनि स्वर्णिम समय थिए । २००३ देखि बार्सामा उदाएका मेसीले त्यहाँ लगातार १७ वर्ष बिताए । र, यसबीच च्याम्पियन्स लिग मात्र होइन, क्लबलाई अभूतपूर्व सफलता दिलाए । 

त्यस समयमा बार्साले जित्न बाँकी केही थिएन । २००३ यता बार्साले १० ला लिगा टाइटल जित्यो । सातपटक कोपा डेल रे उचाल्यो । सातैपटक सुपरकोपा डे स्पाना उचाल्यो । तीनपटक युइएफए सुपर कप र त्यति नै पटक फिफा क्लब विश्वकप कब्जा गर्‍याे । यी अभूतपूर्व उपलब्धि मेसी बार्सामै रहँदा सम्भव भएका थिए । 

मेसी बार्सा छाडेर पिएसजी पुगेपछि पहिलो सिजन राम्रो खेल्न सकेनन् । तर, जारी सिजनमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । लिग वान मात्र होइन, च्याम्पियन्स लिगमा समेत मेसीको प्रदर्शन प्रभावशाली छ । पछिल्लो खेलमा उनले दुई गोल र तीन असिस्ट गर्दै उनले ३५ वर्षको उमेरमा पनि अन्य कुनै खेलाडीभन्दा कम नरहेको प्रमाण दिएका छन् । 

यसै साता उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको रेकर्डसमेत भंग गरेका छन् । च्याम्पियन्स लिगमै उनी प्लेयर अफ द मन्थको नोमिनेसनमा परेका छन् । उता, उनको पूर्वक्लब बार्सा लगातार खराब प्रदर्शनको पीडामा डुबेको छ । 

समर्थकहरू भनिरहेका छन्, ‘मेसीविना बार्साको जित सम्भव छैन ।’ मेसीको लोकप्रियता केवल बार्सिलोनामा मात्र सीमित छैन । बायर्नका समर्थकसमेत गत साता क्याम्प नेउमा लगातार मेसी...मेसी...भन्दै चिच्याइरहेका थिए । अर्थात्, उनीहरू पनि मेसी बार्साकै जर्सीमा देख्न चाहिरहेका थिए । तर, अब मेसीको प्रतीक्षामा होइन, बार्सिलोनाले उठ्न, धुलो टकटक्याउन र जित्न सिक्नैपर्छ ।