मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ कार्तिक ७ सोमबार ०६:१३:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राति सडकमा जथाभावी फोहोर फ्याँक्ने २० जना  कारबाहीमा, पाँच हजारदेखि १० हजारसम्म जरिवाना

Read Time : > 1 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ कार्तिक ७ सोमबार ०६:१३:००

रातिको समयमा लुकिछिपी सडकमा फोहोर फाल्नेमाथि काठमाडौं महानगरपालिकाले धमाधम कारबाही थालेको छ । जथाभावी फोहोर फ्याँक्नेलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाको नगर प्रहरीले रातिको समयमा गस्ती बढाएको छ ।पछिल्लो १५ दिनमा जथाभावी फोहोर फ्याँक्ने २० जनामाथि कारबाही गरेको महानगरले जनाएको छ ।

रातिको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने उनीहरूलाई नगर प्रहरीले पक्राउ गरी जरिवाना तिराएको छ । फोहोर फाल्नेलाई पाँच हजारदेखि १० हजारसम्म जरिवाना गरिएको छ । फोहोर फालेको भेटिए महानगरको नगर प्रहरीले समाउन सक्छ । सडकमा फोहोर फालेको भेटिएमा कारबाही गर्ने महानगरको नीति छ । राति नै भ्यानमा राखेर लैजाने नगर प्रहरीको कार्यालयमा लगेर थुन्छ । 

जथाभावी फोहोर फाल्नेलाई पाँच हजारदेखि १० हजारसम्म जरिवाना तिराउने गरेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । ‘महानगरको गाडी नियमित फोहोर उठाउन आउँदा–आउँदै पनि सडकमा फोहोर फाल्ने प्रवृत्ति हटेको छैन । रातिको मौका छोपेर सडकमा धेरैले फोहोर फाल्ने गरेका छन् । अब यो प्रवृत्ति रोक्छौँ । जसले सडकमा फोहोर फाल्छ वा फाल्दै आइरहेको छ, उसले चर्को जरिवाना तिर्नुपर्छ । त्यति मात्रै होइन, सडकमा फालेको फोहोर टिप्प पनि लगाउँछौँ,’ उनले भने । 

पाण्डेका अनुसार रातिमा फोहोर फाल्नेमाथि कारबाही गर्न पाउने नगर प्रहरीलाई कानुनी अधिकार छ । कानुनमै टेकेर फोहोर फाल्नेमाथि कारबाही अघि बढाइएको नगर प्रहरी प्रमुख पाण्डेको भनाइ छ । जथाभावी फोहोर फाल्नेमाथि कारबाही गर्न महानगरको नगर प्रहरीले चारवटा समूह बनाएर गस्ती गरिरहेको छ । ती समूह रातिमा फोहोर फाल्न सक्ने सम्भावित ठाउँमा परिचालित हुन्छन् ।

कोही मानिस फोहोर बोकेर आएको देखे नगर प्रहरीले त्यहीँ समात्छ । हाल चारवटा समूहमा २० जना नगर प्रहरी परिचालन गरिएको छ । मुख्य सडकलाई मध्यनजर गर्दै नगर प्रहरीले गस्ती गरिरहेको छ । कोटेश्वर, नयाँ बानेश्वर, ठमेल, सुन्धारा, बालुवाटार, कलंकी, चाबहिललगायत क्षेत्रमा नगर प्रहरीले रातिमा गस्ती बढाएको नगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।