१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o७:o८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बागमती करिडोर मिचेर बनेका संरचनामा महानगरको डोजर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:o८:oo

थापाथलीस्थित बागमती करिडोरमा बनेको अवैध संरचना महानगरले भत्काएको छ । साई आश्रम, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, ओम शान्तिको भवन र धर्मशालामा महानगरले शुक्रबार डोजर लगाएको हो । 

विभिन्न धार्मिक तथा सामाजिक नामका संघ–संस्थाले करिब दुई वर्षअघि बागमतीको दायाँ किनारमा अवैध रूपमा स्थायी संरचना बनाएका थिए । बागमती नदीको उत्तर रुद्रेश्वर मन्दिरको पश्चिम तथा पक्की सडकको दक्षिण क्षेत्रको नौ रोपनीमा हरियाली प्रवद्र्धन, उद्यान निर्माणका लागि केन्द्रसँग १० वैशाख ०७६ मा सम्झौता भएको थियो । सम्झौताको सर्त नम्बर ३ मा हरियाली उद्यान बनाउने कार्यमा स्थायी संरचना बनाउन नमिल्ने उल्लेख भए पनि स्थायी संरचना बनाइएको थियो । 

एक महिनाअघि महानगरले यस क्षेत्रका अवैध संरचना हटाउन सार्वजनिक सूचनासमेत जारी गरेको थियो । उक्त सूचनाअनुसार संरचना नहटाइएकाले महानगर आफैँले भत्काएको हो । पटक–पटक संरचना भत्काउन र सामान सार्न निर्देशन दिँदा पनि अटेरी गरेकाले डोजर लगाएको महानगरका नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराईले जानकारी दिए ।

सुविधासम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा उक्त अवैध संरचना भत्काइएको हो । ‘अवैध संरचनामा भत्काउने क्रम निरन्तर छ,’ उनले भने, ‘जहाँ–जहाँ अवैध संरचना छन्, ती भत्काउँछौँ ।’ उनका अनुसार ती संरचना हटाउन समितिले बारम्बार निर्देशन दिँदा पनि अटेरी गरेपछि महानगरीय प्रहरीले अवैध संरचना भत्काइदिएको हो । यसबाहेक महानगरले करिडोर क्षेत्रमा राखिएका ठेला व्यापार पनि हटाएको छ । 

हालसम्म आठ सय संरचना भत्काइयो 
काठमाडौं महानगरले साउनदेखि महानगरभित्रका अवैध संरचना भत्काउने अभियान थालेको थियो । हालसम्म करिब आठ सय यस्ता अवैध संरचना भत्काइएको महानगरले जनाएको छ ।

महानगरभित्र सडक, सडकपेटी र सार्वजनिक स्थान ओगटेर करिब १० हजार अवैध संरचना बनेको अनुमान गरिएको छ । ती संरचना क्रमशः भत्काउँदै जाने महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेको भनाइ छ । उनका अनुसार हालसम्म न्युरोड, सुन्धारा, दरबारमार्ग, नयाँ बानेश्वर, थापागाउँ, गौशाला, कोटेश्वर, बुद्धनगर, थापाथली, बालाजु, जडीबुटी, नयाँ बसपार्क, चाबहिल, सिनामंगल, तिनकुनेलगायत क्षेत्रका अवैध घरटहरा भत्काइएको छ । 

ठेलागाडा जफत गरेको भन्दै महानगरप्रति आक्रोश  
थापाथलीस्थित प्रसूतिगृहको पछाडि टहरामा बस्दै आएकी एक महिलाको ठेलागाडा नगर प्रहरीले बिहीबार जफत गरेपछि महानगरको विरोध भएको छ । बागमती करिडोर क्षेत्रमा ठेलामा व्यापार गर्दै आइरहेकी शर्मिला तामाङको ठेला नगर प्रहरीले जफत गरेको थियो । नगर प्रहरीले पेट पाल्ने ठेला नै खोसेपछि तामाङ चिच्याउँदै नगर प्रहरीको गाडी चढेकी थिइन् । उनी नगर प्रहरीले खोसेको ठेलागाडा लिन शुक्रबार टेकुसम्मै पुगेकी थिइन् ।

तर, उक्त ठेला नगर प्रहरीले फिर्ता दिएन । नगर प्रहरीले खोसेको ठेला समाउँदै रुँदै गरेको तामाङको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोमा अधिकांशले महानगरप्रति आक्रोश पोखेका छन् । गरिबलाई गरिखान नदिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले महानगरविरुद्ध अभिव्यक्ति दिएका छन् । ‘यो देश गरिबको पनि हो, श्रमजीवीको पनि हो,’ फेसबुकमा श्रीकुमार कठायतले लेखेका छन्, ‘मानवीयताविनाको विकासको कदम मान्छेका लागि हुँदैन ।’

तामाङले यस क्षेत्रमा दुई वर्षदेखि ठेलामा व्यवसाय गर्दै आएकी छिन् । उनले प्रसूतिगृहको दुई नम्बर गेटअगाडि ठेलामा पानीपुरी र चटपटे बेच्छिन् । श्रीमान् बिरामी भएकाले आफैँले ठेलागाडामा व्यापार गरेर परिवारको पेट पाल्न बाध्य भएको उनको भनाइ छ । ठेला खोसेपछि पेट पाल्नसमेत कठिन हुने तामाङको गुनासो छ । 

महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले भने ठेला हटाउन बारम्बार आग्रह गर्दा पनि अटेर गरेपछि महिलाको ठेला जफत गरेको बताए । ‘हामीले सुरुमै उहाँको सामान खोसेका होइनौँ,’ उनले भने, ‘पटक–पटक आग्रह गर्दा पनि नमानेपछि जफत गर्न बाध्य भएका हौँ ।’

ad
ad