१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असोज १८ मंगलबार १९:३१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बिरामीको मृत्युपछि चितवन मेडिकल कलेजमा तोडफोड

Read Time : > 1 मिनेट
२०७९ असोज १८ मंगलबार १९:३१:००

चिकित्सकको लापरबाहीले उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले चितवन मेडिकल कलेजमा तोडफोड गरेका छन्।

भरतपुर महानगरपालिका– १३ का रमेश कुँवरको साेमबार बेलुका मृत्यु भएको थियो। साेमबार बिहान ग्यास्ट्रिक बढ्यो भन्दै उपचार गराउन मोटरसाइकलमा अस्पताल आएका कुँवरको चिकित्सककै लापरबाहीका कारण ज्यान गएको मृतकका भाइ रामबहादुर कुँवरले दाबी गरे।

‘ग्यस्ट्रिक भयो भनेर अस्पताल ल्याएको हो। उपचार गर्दै थिए। पछि भ्याल्टिलेटरमा राखे। घाँटीसहित शरीरका विभिन्न भागमा खोपेको छ,’ कुवँरले नयाँ पत्रिकासँग भने, ‘मोटरसाइकलमा आरामसँग आएको मान्छेलाई अस्पतालले मृत्यु भएको घोषणा गर्‍याे। कहिले जन्डिस, कहिले फोक्सोमा पानी जमेको छ त कहिले निमोनिया भएको भन्छन्,  उपचारमा लापरबाही नभई यस्तो हुन सक्दैन।’

मृतकका आफन्तले बिरामीको उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गरेका छन्। 

‘मेरो दाइ २२ गते कतार जाने तयारीमा थियो। उसको मेडिकल रिपोर्ट सबै ठीक छ। अस्पतालले उपचारमा लापरबाही गरेर परिवारजनको ज्यान लियो। लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दा प्रहरीले दमन गयो,’ कुँवरले थपे। 

अस्पतालले कुँवरको मृत्यु भएको घोषणा गरेपछि अस्पतालपरिसरमा ठूलो संख्यामा मृतकका आफन्त जम्मा भएका थिए। 

अस्पतालले आफ्नो लापरबाही नरहेको भन्दै शव बुझ्न आग्रह गरेको थियो । तर, आफन्तले शव बुझेनन्। 

आक्रोशित आफन्तको समूहले मंगलबार अस्पतालको सघन उपचार कक्ष (आइसियू) कक्षभित्र नै प्रवेश गरेर तोडफोड गरेका थिए। 

तोडफोडबाट लाखौँको क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ। तोडफोडबाट आइसियू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ।

आक्रोशित भिडले आइसियू कक्षमा रहेका चिकित्सक र नर्सलाई समेत हातपात गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले बताए।

त्यस क्रममा प्रहरीले १० जनालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए। प्रहरी र उनका आफन्तको कारण अस्पताल रणमैदानमा परिणत भएको थियो।

कमजोरी छैन : अस्पताल

कुँवरको उपचारमा कुनै कमजोरी नभएको अस्पताल प्रशासनले जनाएको छ । देवकोटाका अनुसार उनलाई प्यानक्रियाटाइटिस भएको र सोको तीव्र संक्रमणको कारणले शारीरिक रूपमा स्थिर राख्ने अंगजस्तै फोक्सो, मिर्गौला, श्वासप्रश्वासमा संक्रमण फैलिएको र काम गर्न अवस्थामा समेत कमजोर भएपछि उनको मृत्यु भएको  थियो।

घटनाबारे अस्पताल प्रशासनबीच छलफल चलिरहेको वेला केही समूहले अस्पतालमा तोडफोड गरेका थिए। सो क्रममा प्रहरीले नयाँ पत्रिकाकर्मी विवेक पोख्रेलको क्यामरा बन्द गराउने र रिपोर्टिङ गर्नसमेत अवरोध गरेका थिए।