१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Friday, 09 May, 2025
२o७९ असोज १४ शुक्रबार १६:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावी चटारोमा मकवानपुरे शीर्ष नेताहरू, छैन दसैँको वास्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १६:१७:oo

चुनावी चटारोका कारण मकवानपुरे शीर्ष नेताहरुमा यसपटक दसैँको चहलपहल देखिएको छैन । अघिल्ला वर्षहरुमा दसैं नजिएपछि कार्यकर्ता भेटघाट, शुभकामना आदानप्रदान, सहयोग वितरण, पारिवारिक भेटघाट जस्ता गतिविधिमा व्यस्त देखिने नेताहरुले यसपटक जिल्लामा लामो समय बिताएका छैनन्।

मकवानपुर घर भएका केही नेता आआफ्ना दलका केन्द्रीय समितिमा समेत प्रभावशाली भूमिकामा छन् । दसैँलगत्तै ४ मंसिरमा संघीय र प्रदेश सभा सदस्यको निर्वाचन भएकाले पनि उनीहरू चुनावी चटारोमा छन् । 

कांग्रेस सहमहामन्त्री डिना उपाध्याय, राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा, एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडा र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ मकवानपुरकै हुन् । तर, दसैँभन्दा चुनावी रणनीति तयार पार्न काठमाडौं ओहोरदोहोर गरिरहेका छन्।

सत्तापक्षको गठबन्धनबाट कांग्रेसकी सहमहामन्त्री डिना मकवानपुर क्षेत्र नम्बर १, एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य खतिवडा क्षेत्र नम्बर २ र कांग्रेस बागमती सभापति बानियाँ प्रदेशसभा २ (ख)बाट चुनावी प्रतिस्पर्धामा उत्रिने सम्भावना देखिन्छ। राप्रपा नेपालका केन्द्रीय अध्यक्ष थापा भने प्रमुख प्रतिपक्ष एमालेको साथ लिएर डिनासँग प्रतिस्पर्धामा उत्रिने तयारीमा छन्।

यी चार नेताहरू उम्मेदवार बन्ने सम्भावनासँगै टिकट बाँडफाँडमा समेत जुट्नुपर्ने भएपछि उनीहरूमा दसैँको वास्ता देखिएको छैन। आन्तरिक तयारी र चुनावी रणनीतिमा जुटिसकेका उनीहरू मुख्य दसैँमा समेत गृहजिल्लामा नरहने सम्भावना छ। काठमाडौं रहेर दसैँ मनाउने र दसैँलगत्तै टिकट हात पारेर उम्मेदवारी दर्ताका लागि हेटौँडा आउने बुझिएको दलका जिल्ला नेताहरू बताउँछन्।

आफू उम्मेदवार हुनेमा मात्र नभई क्षेत्रगत टिकट बाँडफाँडमा समेत यी नेताहरूको भूमिका हुनेछ। डिना कांग्रेसको संस्थापन पक्षकी विश्वासिलो पात्र मानिन्छिन्। त्यसकारण पनि उनी टिकट बाँडफाँडमा सक्रिय हुनेछिन्। कांग्रेसले डिनालाई समानुपातिक सूची तयार पार्नसमेत भूमिका दिएको थियो। राप्रपा नेपालका अध्यक्ष थापा एमालेसँग तालमेल गर्न र टिकट बाँडफाँडमा आफैँ अग्रसर हुनुपर्ने भएकाले उनी पनि दसैँबीच चुनावी चटारोमै हुने निश्चित छ।

‘इन्द्र दाइ (बानियाँ)लाई यस वर्ष खास दसैँको वास्ता देखिँदैन। उहाँ काठमाडौंमै रहेर प्रदेश सभा सदस्यको उम्मेदवार टुंगो लगाउन जुट्नुहुने बुझिएको छ,’ कांग्रेस प्रदेश सभापति बानियाँनिकट एक स्थानीय नेताले भने। गृहजिल्लामा कहिलेकाहीँ मात्रै देखापर्ने राप्रपा नेपालका अध्यक्ष थापा यसपटक भने चुनावको मिति घोषणा भएसँगै जिल्लामै छन्। तर, उनी पार्टीको नेतृत्वमा भएका कारण चुनावी रणनीतिमा बढी व्यस्त रहने जिल्ला अध्यक्ष गुरुप्रसाद सापकोटा बताउँछन्।

‘अध्यक्षज्यू चुनावी चटारोमै हुनुहुन्छ। उहाँ चुनावी प्रतिस्पर्धामा उत्रिने निश्चित छ। आफू प्रतिस्पर्धामा उत्रिने मात्र नभई पार्टी नेतृत्वमा समेत रहेकाले चुनावी दौडधुपमा व्यस्त हुनुहुन्छ,’ सापकोटाले भने। एकीकृत समाजवादीका खतिवडा पनि राजनीतिक गतिविधिमै व्यस्त छन्। केही दिनअघि मकवानपुरको मनहरी गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भएका खतिवडाले पनि कार्यकर्ता भेटघाटलगायतका अन्य चुनावी गतिविधिलाई प्राथमिकता दिइरहेका छन्।