मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
उदयराज खनाल
२०७९ असोज ९ आइतबार ०९:५२:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

असचेत मतदाता र अविवेकी नेता

कैयाैंपटक कार्यकारी भएको धाक लगाउने अक्षम प्रमाणित नेतासँग निर्वाचनको समयमा कामको हिसाब माग्ने सचेत मतदाताको अझै खाँचो छ

Read Time : > 3 मिनेट
उदयराज खनाल
२०७९ असोज ९ आइतबार ०९:५२:००

चौतारीदेखि प्रज्ञालयसम्म राजनीतिको चर्चा चलाउने हाम्रो राष्ट्रिय रञ्जनमै रमेर केही विचार राख्दै छु, यद्यपि विज्ञानकै आडमा । प्राकृतिक प्रक्रियाका अभ्यस्त अवलोकनबाट शोधित तŒवज्ञानलाई निरन्तरको प्रयोगले प्रमाणित गरेसम्म सिद्धान्त अर्थात् ‘थ्योरी’ मानिन्छ, जस्तै– सापेक्षता र क्वान्टम । तर, राहु–केतुका आडमा दुई सहस्राब्दी टिकाएको भूकेन्द्रित खगोलजस्ता सिद्धान्त, एकै खण्डनले मिथ्या साबित हुन्छन् । प्राकृतिक वरणलाई उद्विकासको कारक मान्ने ‘डार्विनियन’ सिद्धान्त, सूक्ष्म परीक्षणले अझै परिष्कृत बन्दै छ । कति शिक्षाविद् त ब्रह्माण्डको ‘बिग ब्याङ’ विस्तार र जीवको उद्विकासबारे नजान्नेलाई अशिक्षित मान्छन् । सद्य सिद्ध ज्ञान र प्रतिवादितव्य वाद एकै होइनन् । 

१० हजार वर्षअघिदेखि वर्धनशील रहेको सामाजिक जटिलताका कारक हलो र खड्ग भएको निष्कर्ष निकाल्ने अनुसन्धान २४ जुन २०२२ को ‘साइन्स एडवान्सेस’मा प्रकाशित छ । कृषिदेखि धर्म र वर्गसंघर्ष जस्तालाई जिम्मेदार मान्ने पाँच प्रचलित धारणाका सत्र प्रतिनिधि परिमाण र तिनका लाखभन्दा बढी भिन्न मिश्रणले शासन र न्याय पद्धतिजस्ता जटिलता संगठित गरिएको मापकमा पार्ने प्रभावको परीक्षण गरियो । केही सयका सिकारी समूहलाई कृषिक्रान्तिले हजारौँका नगरमा बटुलेर लाखौँको राज्यमा गाभ्दा तीव्र बढेको मापक, कास्ययुगको पतनसँगै रथले बनेका ठूला राज्य ढल्दासम्म स्थिर भयो । अनि लौहयुगका अझै घातक हतियार र द्रुत अश्वसेनाजस्ता युद्ध प्रविधिको बलमा निर्मित साम्राज्यसँगै अर्काे उचाइमा स्थिर हुन पुगेको मापक, बारुदको उपयोगले अरबौँसम्म अटाउने महासाम्राज्य बन्दा केही वृद्धि भएको देखिन्छ । यस्तो राज्य विस्तारले लादेको जातीयता र दासताजस्ता अमानवीय अवशेष विद्यमान छन् ।

व्यक्ति र समाज मानव चेतनाका दुई पाटा हुन् । नवजात शिशुको आत्मबोधी रोदनमा शरीर र मस्तिष्कका असंख्य कोशिकाहरूको समन्वयित क्रिया हुन्छ । माताको मनोशारीरिक सुस्वास्थ्य तथा मधुर वातावरणले गर्भमै हितकारी प्रभाव पारे पनि समाजसँगको साक्षात्कार जन्मपछि मात्र हुन्छ । बच्चाको जिम्मा लिने आदिम हजुरआमाले राजोनिवृत्तिपछिको लामो आयु पाएसँगै, परिवार विस्तार गर्न मुक्त भएकी माताको कारण हाम्रो मस्तिष्क र शरीर सुगठित भयो । यसको महŒव अंकित गर्ने, ४० हजार वर्षभन्दा अघिदेखिका भेनस फिगरिनजस्ता अजिमाका मूर्ति सर्वत्र भेटिन्छन् । 

मातृसत्ताको धारणाले केही समर्थन पाए पनि, छोरीले जिम्मा पाउँथिन् कि बुहारीले, स्पष्ट छैन । केही उत्तर अमेरिकी आदिवासी समूहको अध्ययनबाट मोर्गनाले बनाएका आदिम साम्यवादको धारणाका आलोचकले, उपस्थित सिकारी समाज हेर्ने युरोकेन्द्रित विनोदन भन्छन् । सम्बन्धीको अभावग्रस्त समूहमा बाँडीचुँडी उपभोग हुन्छ । सबैले जसो माओले पनि वर्षको दुई जोर लुगा लिने प्रथा, धनवान् चीनमा नहोला । एउटा रानोमा समर्पित भएर श्रम विभाजन गर्ने मौरीका फौज बढी सफल कि घारै खाने भालु, निश्चित गर्न सकिन्न । 

व्यक्ति प्रधान कि समाज भन्ने सदाको विवादले विश्व राजनीतिलाई दुई धु्रवमा बाँडेको छ । यही बहसका सामयिक निष्कर्षले, समाजको दायाँ र बायाँ खुट्टालाई समृद्धि र समानतातर्फ क्रमशः सार्छ । देखिने सफल स्विडेनी समाजवादको वैयक्तिक आधार लुप्त छ । बेरोजगारी भत्ता पनि भट्टीमा सक्ने र वर्षाैंको मिहिनेतले प्राप्त दक्षताबाट राष्ट्रिय जीवन उकास्न दिनरात खट्नेको जीवनस्तर उस्तै हुन थालेपछि निराश भएका नवयुवालाई उचित हौसला आवश्यक प¥यो । बिरालोको रङलाई भन्दा मुसा मार्ने क्षमतालाई महŒव दिन थालेपछि मात्र, चीन समृद्ध भयो । 

अतिरिक्त उत्पादनको कमाइ नै सामाजिक क्षेत्रमा खर्चिने हो । जति सफल समाजवादले पनि आइन्सटाइनजस्ता व्यक्तित्वको फौज उत्पन्न गर्दैन । विशेष सापेक्षताबाट विस्मित समाजको श्रद्धाले सामान्य सापेक्षता निर्माण गर्ने प्रेरणा भने पक्कै पाए होलान् । अदम्य व्यक्तित्वले समानताका लागि गरेको संघर्ष नै इतिहासमा लेखिने हो । नायक उचाल्न जुट्ने समाज, फुट्दा सबै लड्छन् । दलविशेषको वाद अँगालेर प्रतिवादको अधिकार खोस्ने संविधानले आज्ञाकारी असिर्जनशील यान्त्रिक समाज बनाउँछ । स्टालिन, हिटलर, पोलपोटहरूले समाजवादकै दुहाइ दिए । 

सबै पञ्चे हुँदा जस्तै, सबैलाई एकवादी बनाएर स्वघोषित प्रजातान्त्रिक प्रगतिशील धार्मिक जातिवादीको भेद मेटाएपछि, अधम लोभले जता तान्यो, उतै गठबन्धन र दलबदल गर्ने स्वेच्छाचार हाबी हुन्छ । यस आदर्शहीन कोलाहलमा त्यागी नेताले समेत निकृष्ट स्वार्थको स्वर मात्र सुनेर स्वस्तूतिमा रम्दै, बहसलाई व्यक्तिगत लाञ्छनामा झार्छन् । यिनै एकाधिकारीको ताबेदारीबाट प्राप्त प्राज्ञको उपाधि भिर्नेद्वारा प्रदत्त विचारशून्य शिक्षाले उद्यमशीलता मूर्छित पार्दा, जीवनयापन र परिवार पालनका लागि लाहुरिने व्यथा झनै चर्किन्छ, अनि रेमिट्यान्सले ठडिएका भ्युटावर, समृद्धिको प्रतीक बन्छ । 

हजार वर्षे दृष्टान्तका अलिखित संविधानले चल्ने वेस्टमिनिस्टरीय व्यवस्थाप्रतिको उत्कट मोहलाई यथार्थ बनाउन कठिन छ । कैयन्पटक कार्यकारी भएको धाक लगाउने अक्षम प्रमाणितसँग कामको हिसाब माग्ने सचेत मतदाता चाहिन्छ । स्थापित विधिअनुसार विशेषज्ञको रायमा चल्ने विवेकी उत्तरदायी नेता छान्न नसके, लोभ र त्रासबाट भोट सोहरेर देश र जनताको दोहन गर्नेहरूले संसद्लाई निरीह पार्छन् । 

कार्यकारीको लहडमा बस्ने र स्थगित हुने संसद्, विपक्षीय होहल्लाभन्दा ठूलो स्वरले शासकको विधेयक पारित गर्न बाध्य हुन्छ । उपस्थिति र पदपूर्तिलाई गौण बनाएर बेकामी राख्न सकिने संसद्मा, शोक प्रस्ताव मात्र सहजै टेबुल हुन्छ । कार्यकारीकै कृपाबाट प्राप्त न्यायिक नियुक्तिका निर्णयहरू पनि पक्षपातपूर्ण हुने प्रबल सम्भावना छ । संसद्प्रति जिम्मेदार कार्यकारी त यसरी तानाशाह बन्न सक्छ भने प्रत्यक्ष निर्वाचितले के मात्र नगर्ला । वैयक्तिक समानता र अधिकारको उद्घोष, राज्यशक्तिको प्रकट पृथकीकरण तथा ज्ञानको प्राप्ति र उपयोगमा समर्पित भएको संविधान नै, जनमुखी उत्तरदायी र विकसित राज्यको आधार हो । विधि निर्माणमा केन्द्रित स्थायी संसद्लाई, आधा सदस्यको तीनवर्षे प्रत्यक्ष चुनावबाट पुनर्पाेषित गर्नुपर्छ । जनताबाट विमुख नेताभक्त पाल्ने समानुपातिकको औचित्य छैन । यसै सदनबाट अनुमोदित, सन्न्यास लिएका एक–दुई राजनेता तथा विभिन्न विधाका क्रियाशील प्राज्ञ र राष्ट्रिय जीवनमा ख्याति कमाएका स्रष्टा सम्मिलित, आदरणीयको माथिल्लो सभाले नैतिकता स्थापनामा सहयोग गर्छ । 

प्रत्यक्ष चुनिएकामध्ये तीन वर्षका लागि विश्वास पाएका कार्यकारी प्रमुखले यिनै विशेषज्ञको मन्त्रिमण्डल बनाएर, अनुसन्धानमा आधारित विधिसम्मत निर्णयद्वारा प्रशासन चलाए नीतिगत तदर्थता र भ्रष्टाचार घट्छ । यस्तो कुनै उपायबाट कार्यकारी र विधायिकालाई पृथक् नराखे ढुकुटीको दोहन नै राजनीतिको उद्देश्य बन्छ । 

विशेषज्ञबाट सञ्चालित मन्त्रालय मात्र यो जटिल विश्वमा सार्थक हुन्छ, मन्त्री र सचिवको अनुहार फेर्दैमा हुँदैन । शक्तिराष्ट्र त १५–२० मन्त्रालयले चल्छन् भने पारित विधेयकमै नाम र संख्या तोकिनुपर्छ । कति सम्पन्न देशमा एटोर्नी जनरल (महान्यायाधिवक्ता) भनेकै न्यायमन्त्री हो, तर गरिब देशले खर्च बढाउन भिन्नलाई राख्छन् । विधि र विधानको प्राकृतिक न्यायसम्मत अर्थकरण तथा कार्यान्वयनमा उब्जेका र अन्य विवादबारे निर्णय गर्ने न्यायपालिकालाई बाह्य प्रभावबाट पृथक् राख्ने स्पष्ट संवैधानिक व्यवस्था अनिवार्य छ । अवकाश पाउनुअघिको केही महिने नियुक्तिले संस्था अस्थिर हुन्छ । 

मानवअधिकार आयोगमै महिला र समावेशीजस्ता आवश्यक उपाध्यक्ष राखेर सामाजिक न्यायको परिवेक्षण शक्ति–सम्पन्न छिटोछरितो समन्वयी तथा मितव्ययी बनाए उत्पीडनको उन्मूलनमा तीव्रता आउँछ । कुनै ऐतिहासिक, सांस्कृतिक, भौगोलिक आधार नभएको कृत्रिम प्रदेशभन्दा, साना राज्य र जनपदका त्यस्ता आधारसँगै स्थानीयको आकांक्षा र अधिकार बोक्ने जिल्लाको संघीयता बढी सक्रिय हुन्छ ।

विदित र शोधित ज्ञानको प्रयोगका लाभालाभबाट सिक्ने वैज्ञानिक संस्कारले विनयी बनाउँछ । यसबाट वर्धित पात्रताको बलमा समृद्ध भएर सुख प्राप्त गर्ने धर्म पालन गर्न, जापान र सिंगापुरलाई प्राकृतिक स्रोतको अभावले रोकेन । वसुधाको सम्पन्नतामा कौटुम्बिक न्यायोचित भागिदारी कायम गर्न लम्केको अविरत मानव गतिका अवरोध हटाउन लाग्ने यत्न, नेतृत्वको क्षमामा भर पर्छ ।

(खनाल भौतिकशास्त्रका प्रध्यापक हुन्)