१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
उदयराज खनाल
२o८१ बैशाख २४ सोमबार o९:४९:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण डिजिटल संस्करण

क्वान्टम चिदात्मा 

Read Time : > 5 मिनेट
उदयराज खनाल
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:४९:oo

सृष्टिकालीन शून्यताको भवसागरमा प्रकट असंख्य ब्रह्माणुमध्ये बढी घनत्वका तुरुन्तै विलीन भए, कमका तीव्र दरमा फुक्दै मानवअनुकूल भएनन् भने चार्ज र घनत्वजस्ता सबै भौतिक गुण मिलेको एकले हाम्रो ब्रह्माण्डको रूप लियो 


आवर्तनमा ऊर्जाकै रूप देखेर प्लांकले थालेका तरंग–कण एकीकरणबाट सूक्ष्माणविक अन्तरक्रियाको जडमा पुगेको क्वान्टम तथा पदार्थरूपी दिक्काल वक्रता (कर्वेचर)को लहरमा सर्वव्यापी गुरुत्व भेटाएर पञ्चतत्‍वलाई आकाशमै एकत्र गर्ने आइन्सटाइनको सापेक्षताले बिग ब्याङपश्चात् एक सेकेन्डको हजार खर्ब खर्ब खर्बवां भाग (टेन टु दी पावर माइनस ३६ सेकेन्ड)को विद्युत्दुर्बल (इलेक्ट्रोविक) युगीन ब्रह्माण्डदेखि १४ अर्ब वर्षको वर्तमान र सुदूर भविष्यको वर्णन गर्छ । निरन्तरको परीक्षणमा प्रमाणित रहने यी मात्र सिद्धान्त हुन्, राहुकेतुका कथाले हजारौँ वर्ष धानेको भूकेन्द्रित खगोललाई ग्यालिलियोको एकै अवलोकनले मिथ्या बनायो । 

क्वान्टम र सापेक्षताको एकीकरणबाट बिग ब्याङसम्मै पु¥याउन खोज्ने सर्वसंहित थिअरी अफ एभ्रिथिङका दश आयामिक तन्तु (स्ट्रिङ) या एघारको त्वच (मेमब्रेन) जस्ता विसृताणु (एक्सटेन्डोन)को विभिन्न कम्पनिक अवस्थाबाट गुरुत्वाणु (ग्राविटोन)सहितका सबै प्राथमिक कण उत्पन्न हुन्छन् । थप केही आयामका द्रप्स (ड्रप)को गति समीकरणलाई सुचालक माध्यममा प्रवाहित तरंगको रूपमा ढालेर, त्यसको हलबाट ऊर्जा प्रसारणको समूह (गु्रप) गति प्रकाशको भन्दा तीव्र हुन सक्ने देखाएको थिएँ (इन्टरनेसनल जर्नल अफ मोडर्न फिजिक्स ए १३, पृ. २९७९, १९९८) । ब्ल्याक होलका धु्रवीय क्षेत्रबाट प्रवाहित फोहरा (जेट)मा समेत देखिने यस्ता पारप्रकाश (सुपरलुमिनल) गतिको परीक्षण अझै हुँदै छ (फिजिकल रिभ्यु लेटर्स १२६, पृ. २०५००१, २०२१) । सर्वसंहितामा जीवात्मक अन्तरक्रियाको चिदानन्दी समाज पनि समेटिने अपेक्षा धेरैको छ । विज्ञानको व्यावहारिकतासँगै जटिलता बढेको छ । प्रकृतिको भाषा सिक्दै परमूल बनेको गणितमा विज्ञानकी सर्वभूति रानी देखेर सकीनसकी पछि लाग्ने चाहिँ राजा होला । पत्ता लागेको सय वर्षसम्म भौतिक उपयोग नपाएर शुद्ध गणित ठानिएको ई ८ सममिति (सिमेट्री), विसृताणुमा उपयोग हुँदै चुम्बकत्वमा प्रत्यक्ष देखियो । यस्ता सममितिको ज्यामितीय चित्रणले मण्डलाकार लिन्छन् । भौतिकताको एकत्व यथार्थ हो, द्वन्द्वता भ्रम । 

क्वान्टम शून्यता (भ्याकुम)को महासागरीय उथलपुथल (फ्लक्चुएसन)मा असंख्य भर्चुअल पार्टिकल एन्टिपार्टिकलका अमूर्त कण प्रतिकण जोडीको अविरत सृज–क्षय चल्छ, एक साथी ब्ल्याक होलको जस्तो गुरुतात्‍िवक क्षितिजमा हराएर सममिति भंग गर्दा अर्काे हकिङ उत्सर्जन (रेडिएसन)बाट स्थित हुन्छ । बुद्धले भनेझैँ सर्वभूति दिक्कालिक शून्यताबाटै सृष्टि हुने रहेछ । शून्यतामै अवशिष्ट ६८ प्रतिशतको सत्‍वगुणी अदृश्य (डार्क) ऊर्जाले ब्रह्माण्डको विस्तारलाई प्रवेगित (एक्सिलरेट) गर्दै छ भने तामसिक अदृश्य पदार्थमा परिणत २७ प्रतिशतले आकाशगंगा तथा अझ विशाल संरचनालाई गुरुत्व प्रदान गर्नेबाहेक केही थाहा छैन र तानतुन ५ प्रतिशत पुग्ने उज्ज्वल (लुमिनस) रजगुणी आणविक पदार्थ हेर्दै आफैँलाई सर्वज्ञ ठान्छौँ । धूम्रकेतुजस्ता पिण्डमा भेटिने एमिनो एसिडहरूले आकाशबाटै अवतरित जीवत्वको सङ्केत गर्छन् । प्रयोगशालामा सबैजसो जीवरस बने पनि न प्राण हाल्ने मन्त्र छ, न चिदात्माको बयान । 

पाश्चात्य वैज्ञानिकले भौतिक जगत्को विवरण बनाएर चेतनाको गुह्य खोज्न थाले । सत्रौँ शताब्दीका देकार्तले म सोच्छु त्यसैले छु भन्दै आत्मबोधलाई चेतनाको लक्षण माने । क्वार्कको एसयू ३ सममितिक षट्कोणी प्रतिरूपमा प्रोटोनजस्ता बेरिओन राख्ने ऐटफोल्ड वे (बुद्धको अष्टांगमार्गबाटै नामित) बनाएका नोबेल पुरस्कृत गेलमानले जटिल (कम्प्लेक्स) प्रणालीको अध्ययनबाट चेतनाको जड भेट्ने चेष्टामा शान्ता फे संस्थान खोले । क्याम्ब्रिजको मन पदार्थ एकीकरण परियोजनाका नोवेल विजयी संस्थापक जोसेफसन वैज्ञानिक सम्मेलनमै गीताबाट चेतनाबारे सिक्ने राय दिन्छन् । भौतिकता र चेतनाबारे कैयन् पुस्तक लेख्ने नोवेल पुरस्कारका विजयी पेनरोजचाहिँ क्वान्टम गुरुत्वबाट यो रहस्य खोल्ने यत्नमा छन् । 

चिदात्माको भौतिकता बुझेका भृगुले अथर्ववेदको कालसुक्तमै (१९ः५३), कालो भूतिम सृजत, काले मनः, काले प्राणः भन्न भ्याए । सापेक्षताको पूर्वाभासमा दिक्कालावाकाशादिभ्य भन्ने कपिलमुनिको सांख्यसूत्रले, अव्यक्त प्रकृति (क्वान्टम भ्याकुम)को मोहमा वकृत दिक्कालिक पुरुषले त्रिसाम्यता भंग भएर बुद्धि अहंकार र सत्गुणी मनजस्ता तीन आत्मबोधक अन्तष्कर्ण, पाँच–पाँच सात्विक बाह्यबोधक ज्ञानेन्द्रिय र कर्मेन्द्रिय, तामसिक उत्तेजक पञ्चभूत र सम्बन्धित तन्मात्र तथा समान रूपमा वितरित रजोगुण व्यक्त भएको देख्छ । अणुवादी कणादमुनिको वैशेषिक दर्शनले पञ्चतत्वमा दिक्काल आत्मा र मन थपेर नवद्रव्य बनायो । पतञ्जलीको योगसूत्रले चित्त वृत्तिको निरोध गरे मात्र वास्तविक, अन्यथा विकृत अवस्था देखिने भन्दै क्वान्टम प्रकृतिको झल्को दियो । 

आफ्नो शक्तिशाली विद्युत्–चुम्बकीय आभामा उत्पन्न अमूर्त जोडीहरूसँगको रसलीलामा मग्न इलेक्ट्रोनलाई न स्थिर पार्न सकिन्छ, न एक्ल्याएर हेर्न । जति शक्तिशाली (एक्स–रे) दृष्टिले भेदेर नग्न इलेक्ट्रोन हेर्न खोज्यो, झनै घना जोडी बटुलेर नाचको तीव्रता बढाउँदै, पिण्डजस्ता सबै गुण अझै अनिश्चित पार्छ । नुक्लियसमै नभएको इलेक्ट्रोन, बिटा रेडियोधर्मिताको क्वान्टम सुरुङ (टनेल) खनेर अणु बाहिर प्रकट हुन्छ । जहिले चाह्यो तहिले अवतार लिने यस्ता क्वान्टमको कण गणना गर्दा लुप्त हुने तरंगको, अपकिरण (डिस्पर्सन) हेर्दा कणिकता देखिन्न । यी द्वैध चरित्रमध्येको वरणलाई जति विलम्बित (डिलेड चोइस) गराए पनि परे क्वान्टम इरेजरद्वारा इतिहास नै मेटेर सचेत प्रकृतिले द्रष्टाअनुकूल भेष तत्काल धर्ने रहेछ । दृष्टिबाट मात्र प्रत्यक्ष हुने दृश्यको सापेक्षताले शून्य चित्त असम्भव पार्दै, निरपेक्ष सत्यको अप्राप्यता इंगित गर्छ । 

पदार्थका प्राथमिक कण इलेक्ट्रोक्वार्कजस्ता अर्ध घुमाइ (स्पिन)का फर्मिओनले पौलिको निषेधाज्ञा (एक्सक्लुजन) मान्छन्, उही प्रणालीमा एकै क्वान्टम गुणका एकभन्दा बढी बस्दैनन्, कुनै भिन्नता हुनैपर्छ । प्रत्येक प्राकृतिक प्रणाली विशेष छ, न दुई चट्टान उस्तै, न दुई पात । सारा मानव समान र क्षमतावान् छौँ, किन्तु व्यक्तित्व र विशेषता भिन्न । उही क्षमताका मध्ये विपन्नको समावेशी सर्वाेचित हो । 

भिन्न अर्ध घुमाइका कणबाट बन्ने पूर्ण (शून्यसमेत) घुमाइका प्रणाली भने एकै ऊर्जावस्थामा बोस घनिष्ठ भएर अतितरल (सुपरफ्लुइड) सामूहिकता देखाउँछन् । यस्ता तापीय प्रणालीको सांख्यिक विकास बयान गर्ने बोल्ट्जमान परिवहन (ट्रान्सपोर्ट) समीकरणले सामाजिक गतिशीलताको रहस्य पनि खोतल्दै छ । 

आफ्नो शक्तिशाली विद्युत्–चुम्बकीय आभामा उत्पन्न अमूर्त जोडीहरूसँगको रसलीलामा मग्न इलेक्ट्रोनलाई न स्थिर पार्न सकिन्छ, न एक्ल्याएर हेर्न । जति शक्तिशाली दृष्टिले भेदेर नग्न इलेक्ट्रोन हेर्न खोज्यो, झनै घना जोडी बटुलेर नाचको तीव्रता बढाउँदै, पिण्डजस्ता सबै गुण अझै अनिश्चित पार्छ । नुक्लियसमै नभएको इलेक्ट्रोन बिटा रेडियोधर्मिताको क्वान्टम सुरुङ खनेर अणुबाहिर प्रकट हुन्छ ।

सम्भाव्य गुण मात्र थाहा लाग्ने अणुले भविष्यवाणी नहुने यदृच्छ अवस्थान्तर गरेको संकेतचाहिँ प्रसार गर्छन् । यस्ता निर्जीव सूक्ष्म क्वान्टमको त भविष्य थाहा हुँदैन, खर्बाैं अणुका खर्बाैं उपप्रणालीले बनेको सचेत मानवको भविष्य कसरी राशिफल र हस्तरेखामा देखिन्छ ? जोडिएर एकै क्षणमा जन्मिएकाको त व्यवहार भिन्न हुन्छ, भविष्यको के कुरा । जसरी एकै ऊर्जावस्थाका दुई अणुले उस्तै अवस्थान्तर नगर्लान्, उस्तै कार्यको उही फल नहोला । समान सम्भाव्यताका चिट्ठा किनेकामध्ये पर्नेलाई भाग्यमानी भन्छौँ । यसर्थ, कर्म गर्दैमा निश्चित फलको आशा नगर्नु भनियो । प्रतिकूल अवस्थामा प्रोत्साहन गर्न पिताज्यूले सुनाउने श्लोक, उद्योगिनं पुरुष–सिंहम् उपैति लक्ष्मीर् दैवेन देयम् इति कापुरुषा वदन्ति । दैवं निहत्य कुरु पौरुषः आत्म–शक्त्या यत्ने कृते यदि न सिध्यति कोऽत्र दोषः ।। निकै स्मरणीय लाग्छ । भूतको कर्मले लेखेको छुराकै धारमा हिँड्न बाध्यलाई चेतनाको के आवश्यकता ? सचेतनामा रोजेको सत् या दुष्कर्मको उत्तरदायित्व बोक्ने हो ।

क्वान्टम अवस्थान्तरको सम्भावना निकाल्ने फेनमान पथ समाकलन (पाथ इन्टेग्रल) विधिले, घटितसँगै सबै सम्भव इतिहासका भारित प्रभाव समावेश गर्छ । यस्तो क्वान्टम कर्मले लेख्ने सम्भावित भविष्यको धारलाई अनिश्चितताले भुत्तो पारेको हुन्छ । स्वेच्छाले यता–उता डग्मगाउँदै, नयाँ बाटो खोज्दै, परे सुरुङसमेत खन्दै गन्तव्यसम्म पुग्न सकिन्छ, यद्यपि बढी डगमगाउने लड्लान या सुरुङ भासिएला । आर्थिक र सामाजिक गतिको अध्ययनमा पनि फेनमान विधि उपयोगी छ । 

प्रकाशाणु (फोटोन) जान सक्ने तीनवटा कोठामा गए÷नगएको पत्ता लगाउने युक्ति गरेर निकै महत्‍वपूर्ण प्रयोग गरियो, आस्किङ फोटोन्स ह्वेर दे हाव बिन (फिजिकल रिभ्यु लेटर्स १११,२४०४०२,२०१३ ) । नगएको कोठाको समेत बोधत्व जाहेर गर्ने प्रकाशाणुबाट सबै चकित भए । यसरी कारणत्व (कजालिटी)कै खण्डन गर्दै सम्भावित गन्तव्यको पूर्वसूचना प्राप्त हुने क्वान्टम अन्तरक्रियामा ऊर्जा र चार्जसहितका कुनै गुण अविनाशी रहँदैन । पदार्थ खाएर ब्ल्याक होल बनेको कि प्रतिपदार्थ, थाहा लाग्दैन । यस्ता अविनाशिताको सममितिक आधारलाई सृष्टिकालीन गुरुत्वले भंग गरेर पदार्थ स्थापित गरेको हो । 

प्रत्येक दिक्काल क्वान्टममा पदार्थ उत्पन्न गर्ने क्षमतासँगै जीवत्वको चिदात्मक बीज हुनैपर्छ । सबै बीज सर्वत्र अंकुरित हुँदैनन्, अनेकन् परिबन्धन तोड्ने केही मात्र विभिन्न स्तरसम्म टुसाउने, फुल्ने र फल्ने गर्छन् । यस्तो सच्चिदात्मक मानस्विन् जीवत्वले पूरित सर्वभूति दिक्काल क्वान्टमको नाम ब्रह्माणु उपयुक्त छ । सृष्टिकालीन शून्यताको भवसागरमा प्रकट असंख्य ब्रह्माणुमध्ये बढी घनत्वका तुरुन्तै विलीन भए, कमका तीव्र दरमा फुक्दै मानवअनुकूल भएनन् भने चार्ज र घनत्वजस्ता सबै भौतिक गुण मिलेको एकले हाम्रो ब्रह्माण्डको रूप लियो । 

सबै खगोलीय पिण्डलाई जकड्ने जुन ब्रह्मजाल (कज्मिक वेब) देखिएको छ, त्यो तन्त्रिकीय (न्युरल) हुन सक्नेबारे अनुसन्धान चल्दै छ । के सारा जीवात्मा बुन्ने यस्तै जालो नै परमात्मा हो ? सबैको मन बुन्ने परब्रह्मको जाल पनि छ ? यो भवसागर नै बहुआयामिक विसृताणुको सतहबाट ३ प्लस १ आयामिक दिक्कालमा प्रक्षेपित मायाजाली होलोग्राम त हैन ? प्रज्ञानम् ब्रह्मबाट थालिएको खोजले अयम् आत्मा ब्रह्मको अहंकारलाई तत् त्वम् असिको द्वैधतामा व्याकुल पारेर अहम् ब्रह्मास्मिको इच्छित दृश्य देखाएको हो ? यस्ता प्रश्नको उत्तरसहित सर्वभूति जीवात्मक रसको मनोसामाजिक अन्तरक्रियाबाट स्थापित सच्चिदानन्दको अवस्था बयान गर्ने ब्रह्मसूत्र मात्र थिअरी अफ एभ्रिथिङ हो, यद्यपि पूर्ण व्याख्यामा अनन्तकाल लागोस् । (खनाल भौतिकशास्त्रका प्राध्यापक हुन्)

ad
ad