Skip This
उत्तर कोरियालाई आणविक शक्ति राष्ट्रको मान्यता दिएको हो चीनले ?
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
नेक्टार ग्यान/युनजङ सिओ
२o८२ भदौ ३१ मंगलबार ११:४१:oo
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

उत्तर कोरियालाई आणविक शक्ति राष्ट्रको मान्यता दिएको हो चीनले ?

Read Time : > 3 मिनेट
नेक्टार ग्यान/युनजङ सिओ
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार ११:४१:oo
  • उत्तर कोरियाली नेता किम जोङ उनको नेतृत्वमा प्योङयाङले गोप्य रूपमा आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई तीव्र पारेको छ 

चीनको ८०औँ विजय दिवसका अवसरमा राजधानी बेइजिङमा आयोजना भएको विशाल सैन्य परेडमा विश्वका दुई दर्जनभन्दा बढी देशका नेता सहभागी थिए । तीमध्ये कसैले पनि किम जोङ उनले जस्तो महत्वपूर्ण कूटनीतिक लाभ हासिल गरेनन् । परेडमा किम चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग काँधमा काँध मिलाएर उभिएको देखियो । परेडबाट बाहिरिएका किमको तस्बिरले पश्चिमी विश्वलाई उत्तर कोरिया तिनले चाहेजस्तो विश्वमञ्चमा एक्लो नभएको, दुई शक्तिशाली छिमेकको साथमा रहेको सन्देश दियो ।

परेडको साइडलाइनमा किमले बेइजिङमा पुटिनसँग भेटघाट गरे । भेटमा रुसी राष्ट्रपतिले युक्रेनसँगको युद्धमा उत्तर कोरियाली सेनाको बलिदानलाई ‘कहिल्यै नबिर्सने’ वाचा गरे । त्यस्तै, बेइजिङमै किम र सीबिच ६ वर्षपछि पहिलो शिखर भेटवार्ता भयो । मस्कोसँग प्योङयाङको बढ्दो सैन्य गठबन्धनले चीनमा असहजता देखिएको समयमा भएको यस भेटले किमको चीनसँगको सम्बन्ध पुनस्र्थापित भयो । किमका लागि सीले चिनियाँ राजनीतिक शक्तिको मुटुमा मानिने ‘झोङ्नान्हाई’स्थित आफ्नो निवासमा विशेष भोज आयोजना गरे । त्यो सम्मान परेडमा उपस्थित २६ विदेशी पाहुनामध्ये पुटिन र किमलाई मात्र दिइएको थियो । बेइजिङ र मस्कोबाट लामो समयदेखि कनिष्ठ साझेदारको व्यवहार व्यहोरेका किमले अहिले दुवैबाट उच्च सम्मान पाए ।

पछिल्लो चीन भ्रमणका क्रममा किमले हासिल गरेको सबैभन्दा परिणाममुखी जित, बाहिर भनिएकोभन्दा भेटवार्तापछि नभनिएको कुराले संकेत गरेको छ । सी–किम शिखर भेटवार्तापछि बेइजिङले जारी गरेको आधिकारिक ‘रिडआउट’मा पहिलोपटक कोरियाली प्रायद्वीपको आणविक नि:शस्त्रीकरणको विषय उल्लेख थिएन । जबकि, सन् २०१८ र २०१९ बिचमा दुई नेताबिच पाँच शिखर भेटवार्ता हुँदा सबैमा यसको उल्लेख थियो । अहिलेको भाषा तीभन्दा बिलकुल भिन्न रह्यो ।

विश्लेषकका अनुसार कोरियाली प्रायद्वीपको आणविक नि:शस्त्रीकरणप्रति बेइजिङको मौनताले लामो समयदेखि किमले खोजेको कुरा प्राप्त भएको संकेत गर्छ । किमले उत्तर कोरियालाई आणविक शक्तिको रूपमा चीनको स्वीकृति खोज्दै आएका थिए । अहिले चीनले त्यसलाई मौन स्वीकृति दिएजस्तो छ । किमको नेतृत्वमा प्योङयाङले गोप्य रूपमा आणविक र क्षेप्यास्त्र कार्यक्रमलाई तीव्र पारेको थियो । कोरियाली प्रायद्वीपको आणविक नि:शस्त्रीकरणलाई लामो समयदेखि समर्थन गर्दै आएको बेइजिङको पछिल्लो परिवर्तन आश्चर्यजनक बदलाब हुनेछ । ‘सी–किम बैठकको आधिकारिक रिडआउटमा आणविक नि:शस्त्रीकरणको लक्ष्यको अनुपस्थितिले कोरियाली प्रायद्वीपमा चीनको दीर्घकालीन नीतिमा महत्वपूर्ण परिवर्तन आएको संकेत गर्छ,’ टोङ झाओले भने, ‘जो कार्नेगी एन्डोमेन्ट फर इन्टरनेसनल पिसका वरिष्ठ फेलो हुन्, ‘अनिच्छापूर्वक नै सही उत्तर कोरियाको सबैभन्दा शक्तिशाली सहयोगीले आणविकमुक्त कोरियाली प्रायद्वीपको लक्ष्य त्यागेको छ ।’

‘बेइजिङको मौन स्वीकृतिले उत्तर कोरियालाई आफ्नो आणविक कार्यक्रमलाई निरन्तरता दिने औचित्य प्राप्त भएको छ,’ सियोलको क्युङ्नाम विश्वविद्यालयका सुदूरपूर्वी अध्ययन संस्थानका प्राध्यापक लिम युल चुलले भने । दुई नेताले अन्तर्राष्ट्रिय परिस्थितिजस्तै बदलिए पनि सम्बन्धलाई बलियो बनाउने वाचा गरेको पनि युल
चुलले भने ।

सियोलस्थित ‘युनिभर्सिटी अफ नर्थ कोरिया स्टडिज’का प्राध्यापक याङ मु–जिनका अनुसार बेइजिङको ‘विजय दिवस’ परेडको सबैभन्दा ठुलो विजेता किम देखिएका छन् । ‘बेइजिङ गएदेखि किमको अन्तर्राष्ट्रिय हैसियत ह्वात्तै उचालिएको छ । आर्थिक सहयोगमार्फत चीनसँग पुनस्र्थापित सम्बन्धलाई उनले भविष्यमा अमेरिकासँग हुन सक्ने वार्तामा मोलमोलाइका लागि प्रयोग गर्न सक्छन्,’ मु–जिनले भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग पुन: वार्ताको इच्छा देखाएका छन् । ट्रम्पले पहिलो कार्यकालमा आणविक नि:शस्त्रीकरण सम्झौता गर्ने असफल प्रयास गरेका थिए । तर, तत्कालका लागि अमेरिकी राष्ट्रपति युक्रेन, मध्यपूर्वलगायत विभिन्न गम्भीर वैदेशिक मुद्दाले घेरिएकाले थप अर्को क्षेत्रमा फस्ने सम्भावना भने न्यून छ ।

उत्तर कोरियाको मुख्य सहयोगी र आर्थिक जीवनरेखा मानिने चीन लामो समयसम्म प्योङयाङको आणविक महत्वाकांक्षालाई नियन्त्रण गर्ने विश्वव्यापी प्रयासमा सामेल रह्यो । अझ बेइजिङ यस प्रयासको केन्द्रबिन्दुमै थियो । यस उद्देश्यमा कहिलेकाहीँ चीन र संयुक्त राज्य अमेरिकाले मिलेर काम गर्थे । धेरै अवसरमा चीनले संयुक्त राष्ट्र संघमा उत्तर कोरियाको आणविक कार्यक्रमविरुद्ध हुने मतदान पश्चिम देशसँगै उभिने गरेको छ । तर, अमेरिका–चीन सम्बन्ध बिग्रँदै जाँदा बेइजिङले उत्तर कोरियाको आणविक महत्वाकांक्षालाई रोक्ने प्रयास घटाएजस्तो छ । युक्रेन युद्ध सुरु भएपछि पश्चिमी प्रतिबन्धबिच आणविक अप्रसारको कट्टर समर्थक रुसले पनि त्यस्तै कदम चालेको देखिएको छ ।

उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण बढाइरहेको समयमा सन् २०२२ मा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा अमेरिकाले प्योङयाङविरुद्ध थप प्रतिबन्धको प्रस्ताव ल्याएको थियो । त्यस प्रस्तावविरुद्ध चीन र रुसले संयुक्त रूपमा भिटो प्रयोग गरे । चीनले अन्तिमपटक सन् २०२४ मा जापान र दक्षिण कोरियासँगको त्रिपक्षीय शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा कोरियाली प्रायद्वीप आणविकमुक्त हुनुपर्ने प्रतिबद्धता जनाएको थियो । प्योङयाङले संयुक्त घोषणालाई ‘गम्भीर राजनीतिक उत्तेजना’ भन्दै आफ्नो सार्वभौमसत्ताको उल्लंघनको रूपमा व्याख्या गरेका थियो । त्यसयता, बेइजिङले प्रायद्वीपको आणविक नि:शस्त्रीकरण आधिकारिक बयान वा कागजातमा उल्लेख गर्न छाडेको ‘कार्नेगी इन्डमेन्ट फर इन्टरनेसनल पिस’का झाओले औँल्याए । 

यसबिच, गत वर्ष रुस र उत्तर कोरियाबिच पारस्परिक रक्षा सन्धिमा हस्ताक्षर भयो । दुई देशबिच बढ्दो सैन्य–सम्बन्धले चीन चिन्तित बनेको छ । उत्तर कोरियाली हतियार र सेनाको बदलामा पुटिनले प्योङयाङको क्षेप्यास्त्र प्रविधि र आणविक हतियार वितरण प्रणाली विकासमा सहयोग गर्न सक्ने प्रक्षेपण छ । रुसी अधिकारीले सार्वजनिक रूपमै करिब–करिब उत्तर कोरियाको आणविक कार्यक्रमलाई खुला समर्थन गर्न थालेका छन् । गत सेप्टेम्बरमा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले रुसका लागि उत्तर कोरियाको आणविक नि:शस्त्रीकरणको विषय अब ‘टुंगिएको मुद्दा’ भएको बताए । प्योङयाङको आणविक हतियारमाथिको निर्भरतालाई आफ्नो अस्तित्व रक्षाको आधारको रूपमा बुझेको उनले बताएका थिए । जुलाईमा लाभरोभले एक कदम अगाडि बढेर रुसले उत्तर कोरियाको आणविक महत्वाकांक्षालाई ‘सम्मान’ गर्ने टिप्पणी गरे । 

उत्तर कोरियाली आणविक कार्यक्रमलाई लिएर बेइजिङ मस्कोजत्ति अगाडि बढिसकेको छैन । तर, आणविक नि:शस्त्रीकरणको लक्ष्यको मौन परित्यागमार्फत बेइजिङले सूक्ष्म तर परिणाममुखी परिवर्तनको संकेत गरेको छ । यसले चीन–उत्तर कोरिया घनिष्ठताको ढोका खोल्न सक्छ । साथै, रुस, चीन र उत्तर कोरियाबिचको त्रिपक्षीय सहयोगलाई गति दिन सक्ने पनि झाओले भने । उत्तर कोरियाको आणविक हैसियतलाई लिएर चीनको मौन स्वीकृतिलाई ट्रम्प प्रशासनको सहयोगी देशमा आणविक प्रसार स्वीकार गर्ने प्रयासले पनि प्रेरित गरेको हुन सक्छ । ‘ओकस’ नामक कार्यक्रममार्फत अमेरिका र बेलायतले अस्ट्रेलियालाई आणविक शक्तियुक्त पनडुब्बी निर्माण गर्न सहयोग गर्दै छन् । बेइजिङले ‘ओकस’को नाममा आणविक हतियार सामग्री स्थानान्तरण गर्ने प्रयास भएको भन्दै आलोचना गरेको छ । 

ग्यान हङकङस्थित सिएनएन इन्टरनेसनलकी शीर्ष न्युज डेक्स रिपोर्टर हुन् भने सिओ सिएनएनकी सियोल ब्युरोकी कार्यक्रम निर्माता हुन् । 

सिएनएनबाट