१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १४:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

माथिल्लो दोर्दी ‘ए’ को २५ मेगावाट बिजुली दसैँभित्र राष्ट्रिय ग्रिडमा थपिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:५६:oo

लमजुङको दोर्दीखोलामा निर्माण सम्पन्न गरी विद्युत् उत्पादन परीक्षणको तयारीमा रहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली दसैँभित्र राष्ट्रिय प्रणालीमा जोडिने भएको छ।

लिवर्टी इनर्जीले निर्माण गरेको आयोजनाको सिभिल संरचना र उपकरण जडानलगायत सबै क्षेत्रको काम सकिएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए। दुईसाताको बिजुली उत्पादन परीक्षण सफल भएमा आयोजनाले व्यापारिक उत्पादन सुरु गर्नेछ।

आयोजनाबाट ०७६ चैतदेखि विद्युत् उत्पादन सुरु गर्ने तालिका थियो। प्रसारण लाइनको समस्या, कोरोना महामारी र बाढीपहिरोका कारण उत्पादन तालिका धकेलिँदै आएको हो।

यसअघि आयोजना चार अर्ब ६४ करोड ६१ लाख रुपैयाँ लागतमा सम्पन्न भए पनि बाढीले पुर्याएको क्षतिको पुनःनिर्माण गर्दा लागत बढेको आयोजनाले जनाएको छ। आयोजनामा बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइप छ। रन अफ द रिभरमा आधारित उक्त आयोजनाले २०७१ वैशाख १५ मा विद्युत् उत्पादन अनुमति पाएको थियो। आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ५४ लाख रुपैयाँ छ। आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट बिजुली उत्पादन हुनेछ।

नदीको बहावमा आधारित (रन अफ द रिभर) प्रकृतिको आयोजनाको प्रतिफल १५.४५ प्रतिशत छ। दोर्दी गाउँपालिका–६ ढोडेनी र ७ फलेनीको तल्लो सिमीस्थित लोदो खोलाको दोभानमा निर्माण गरिएको बाँधबाट मालेबगरमा निर्माण गरिएको विद्युतगृहमा पानी खसालिनेछ। आयोजनामा हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र बर्खाको समयमा ४ रुपैयाँ ८० पैसा रहने गरी प्रवर्धक कम्पनी लिबर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री समझौता (पिपिए) भएको हो।

आयोजनाबाट उत्पादित विद्युत् दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मर्स्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनमा जोडिनेछ। दोर्दी कोरिडोरमा माथिल्लो दोर्दी ‘ए’सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी–१ लगायत आयोजना निर्माणाधीन छन्। २७ मेगावाटको दोर्दी खोलाले भने विद्युत् उत्पादन परीक्षण सुरु गरेको छ।

ad
ad