१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १५:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

उपनिर्वाचनमा कांग्रेसको मत बढेको छ, आत्तिनुपर्ने अवस्था छैन : रामहरि खतिवडा

साना दल अस्थिरताको गोटी बनेको आरोप 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १५:३८:oo

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले उपनिर्वाचनमा पार्टीको मत बढेको भन्दै नआत्तिन कार्यकर्तालाई अपिल गरेका छन्।

कांग्रेस खिजीदेम्बा गाउँपालिका समितिद्वारा बुधबार आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खतिवडाले दलहरूबीच गठबन्धन हुँदा परिणाम पक्षमा नआए पनि सैद्धान्तिक रूपमा मत बढ्नुलाई जितकै रूपमा लिनुपर्ने बताए। इलाम र बझाङमा आफ्नो मतलाई बढाएको, तर गठबन्धनको कारणले मत नपुगेको उनको भनाइ थियो। 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडाले गणितीय रूपमा चुनाव हारे पनि सैद्धान्तिक रूपमा आफूहरूको जित भएको तर्क गरे। ‘अहिलेको गठबन्धन सरकार हाम्रै सिद्धान्तलाई मानेर जनताको मतबाट सत्तामा पुग्नुपर्छ भनेर चुनावी प्रक्रियामा आउनु नै कांग्रेसको सैद्धान्तिक जित हो,’ उनले भने, ‘गणतीय मत जुनसुकै वेला पनि परिवर्तन हुन सक्छ।’ त्यसैले इलाम र बझाङको परिणामले आत्तिनुपर्ने अवस्था नभएको उनको भनाइ छ। 

खतिवडाले कांग्रेसभित्र आन्तरिक एकता कायम गरेर संगठनलाई सुदृढ गर्नुपर्नेमा जोड दिए। खतिवडाले नेपाली राजनीति स्थिरताको बाटो कहिल्यै नरोजेको बताउँदै अहिले साना पार्टीले च्याँखे दाउ थापेर सरकार ढाल्ने र गठन गर्ने कुरामा मात्र सीमित भएको टिप्पणी गरे। कांगेसले सबै जात, धर्म र वर्गको नेपाल बनाउन चाहेको उनको भनाइ थियो। 

कार्यक्रममा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्य, कांग्रेस जिल्ला पार्टी सभापति तेजेन्द्र खनाल, सचिवद्वय अजय लुइँटेल, राजकुमार ढुंगाना, महाधिवेशन प्रतिनिधि बेदबहादुर रोक्का, हरि दाहाल, जिल्ला सदस्यहरू सुशीला तामाङ, टंक सुनुवार र प्रकाश दाहाल तरुण दल केन्द्रीय सदस्य गोविन्द पौडेल, नेविसंघ केन्द्रीय सदस्य रोशन महतरालगायत नेता–कार्यकर्ताको उपस्थिति थियो।

ad
ad