१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o५:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रपति र चिनियाँ जनकंग्रेसका अध्यक्षबीच भेटवार्ता, सम्झौता कार्यान्वयन गरौँ : राष्ट्रपति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o५:५६:oo

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झाङ्सुले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भण्डारीले एक चीन नीतिमा नेपालको प्रतिबद्धता जनाउँदै विगतमा दुई देशबीच शीर्ष तहमा भएका समझदारी कार्यान्वयन हुनुपर्ने बताएकी छिन् । 

चिनियाँ नेता लीले राष्ट्रपति भण्डारी नेपालका मात्र नभएर चीनका लागि महिला आन्दोलनको प्रेरणाको स्रोत भएको उल्लेख गर्दै चीनले उनीसँग महिला आन्दोलनको अनुभव लिन चाहेको बताए । ‘कुराकानीको सुरुवातमै चिनियाँ नेताले राष्ट्रपतिज्यूलाई नेपालको मात्र नभएर चीनका लागि पनि महिला आन्दोलनको सन्दर्भमा अनुकरणीय व्यक्तिका रूपमा लिएको चर्चा गर्नुभयो,’ शीतलनिवासमा भएको भेटवार्तापछि राष्ट्रपति भण्डारीका प्रेसविज्ञ टीका ढकालले नयाँ पत्रिकासँग भने । 

ढकालका अनुसार तत्कालीन रूपमा नेपाल–चीन नाकामा सामान आवतजावतका लागि परिवेश निर्माण भएको जानकारी लीले दिएका थिए । नेता लीले केरुङ नाका तत्कालै खुल्ने जानकारी दिएका थिए । चीनको कूटनीतिक च्यानलमार्फत केरुङ–रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने जानकारी बुधबारै आएको परराष्ट्र स्रोतले जनाएको छ । तिब्बतका उच्च अधिकारीले ल्हासास्थित नेपाली महावाणिज्य दूत नवराज ढकाल तथा परराष्ट्र मन्त्रालयको चीन महाशाखा हेर्ने सहसचिव लोकबहादुर थापामार्फत यो जानकारी पठाएका थिए । जनकंग्रेसका अध्यक्ष लीले नाका खुल्ने विषयलाई पुनः पुष्टि गरिदिएका छन् । सिन्धुपाल्चोकस्थित तातोपानी नाका २५ भदौदेखि आंशिक रूपमा खुलेको छ । 

राष्ट्रपति भण्डारीले नेपाल एक चीन नीति तथा असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको स्पष्ट पारेकी थिइन् । राष्ट्रपति भण्डारीले दुई देशबीच सन्धि, सम्झौता र समझदारी कार्यान्वयनका लागि दुवै सरकारलाई आग्रह गर्दै यसले नेपालको व्यापार घाटा कम हुने र नेपालको विकासकै लागि सहयोग पुग्ने बताएकी थिइन् । सम्झौता कार्यान्वयनका लागि दुवै सरकारले मिलेर काम गर्नुपर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो ।

चिनियाँ नेता लीले बिआरआईको ढाँचामा दुई देशबीच भएका सम्झौता र समझदारी कार्यान्वयनका लागि चीन प्रतिबद्ध रहेको जवाफ दिएका छन् । परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुवै देशबाट भएका उच्चस्तरीय भ्रमणको स्मरण गर्दै दुवै पक्षबीच आपसी हितका विभिन्न विषयका विषयमा छलफल भएको छ ।’

चिनियाँ नेता लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री नारायण खड्कासँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटा र अध्यक्ष लीबीच मंगलबार औपचारिक भेटवार्ता भएको थियो । राष्ट्रपति भण्डारीसँगको भेटवार्तामा लीले भूराजनीतिक विषयमा प्रवेश नगरेको प्रेसविज्ञ ढकालले जानकारी दिए । ली नेतृत्वको ६७ सदस्यीय प्रतिनिधिमण्डल बिहीबार दक्षिण कोरियातर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
 

ad
ad