१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १४:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

खगराजको आक्रोश– गुठी विधेयकलाई भड्काउनेहरू अहिले सत्तामा के गर्दै हुनुहुन्छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o१:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवं पूर्वमन्त्री खगराज अधिकारीले गुठियारहरूको समस्या समाधान गर्न सरकार उदासीन रहेकोे भन्दै आक्रोश व्यक्त गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले  गुठियारहरूको समस्या समाधान गर्न सरकार उदासीन रहेकोे भन्दै आक्रोश  व्यक्त गरे।

केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सोसम्बन्धी विधेयकको विरोध गर्नेहरू अहिले सरकारमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई दबाबसमेत दिए ।

उनले भने, ‘अघिल्लो केपी ओली नेतृत्वको सरकार हुँदा गुठीसम्बन्धी विधेयक हामीले छलफलमा ल्यायौँ । गम्भीर छलफल र बहस भयो । आज यत्रा समस्याहरू छन् । अहिलेसम्म  श्री ५ को वायु गुठी धादिङमा छ । अनि, पलाञ्चोक, म्याग्दीलगायत देशका विभिन्न भागमा अहिले पनि गुठी समस्या छन् । र, ती गुठीको समस्या समाधान गर्न सरकारले कुनै ध्यान दिएको छैन । उदासीन छ । र, यो सरकारले हिजो गुठीको समस्या समाधान गर्न ल्याएको विधेयकलाई भड्काउन माइतीघर मण्डलामा जुलुसमा सामेल हुनेहरू अहिले सत्तामा हुनुहुन्छ । उहाँहरू के गर्दै हुनुहुन्छ ?हामी गम्भीरतापूर्वक सरकारबाट जवाफ चाहन्छौँ ।’

उनले अघिल्लो सरकारले अगाडि बढाएको एक सय ६५ वटा रणनीतिक महत्वका सडक सुषुप्त अवस्थामा रहेको कि रोकेको भन्दै प्रश्न गरेका छन् । प्रतिपक्ष प्रतिनिधिसभाका सदस्यहरूले सिफारिस गरेका ठाउँहरूमा बजेट निकासा नदिने वा तिनलाई कामयावी हुन नदिनेसम्मको काम सरकारले गरेको भन्दै उनले  अनेकौँ विकास आयोजनाहरूमा यस्तो किसिमको गम्भीर सरकारी षड्यन्त्रहरू भइरहेको आरोप लगाए ।

उनले भने, ‘विकास निर्माणको कामलाई ठप्प पारिएको छ । सरकारले यसको जवाफ दिनुपर्छ । विकासविरोधी सरकार हुनुहुँदैन । सरकारले यदि प्रतिशाेध साँध्न खोजेको हो भने जनता यसको जवाफ चाहन्छन् । र, सरकारले यसको गम्भीरतापूर्वक जवाफ दिनुपर्छ । र, गुठी समस्या समाधान गर्न सरकारले जवाफ दिन्छ कि दिँदैन ? सरकार गुठियारहरूप्रति जवाफदेही छ कि छैन ? यसको जवाफ चाहियो ।’  

सांसद अधिकारीले ओली नेतृत्वको अघिल्लो सरकारले गुठी समस्या समाधानका लागि ल्याएको सो विधेयक गम्भीरतापूर्वक छलफल गरी गुठियारहरूको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराए । 

ad
ad