१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १५:o५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

वामी–भुवाचिदी सडकको दुर्दशा : तीनपटक म्याद थप्दा पनि भएन कालोपत्रे

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:o५:oo

वर्षातमा हिलाम्ये र हिउँदमा धुलाम्ये रिडी–रुद्रवेणी–वामीटक्सार सडकको विशेषता हो। जिल्लाको सबैभन्दा व्यस्त र पुरानो सडक बेहाल हुँदै गएपछि स्थानीयवासी निर्माण व्यवसायी, स्थानीय तह र नेताहरूप्रति आक्रोशित बन्न थालेका छन्।

रिडी–रुद्रवेणी–वामीटक्सार सडक खण्डअन्तर्गत भुवाचिदी–वामी सडक समयमै कालोपत्रे नभएपछि केही समय पहिले स्थानीयले आन्दोलन गरेका थिए। निर्माण व्यवसायी घेर्ने र निर्माण सामग्री रोक्ने गरेपछि निर्माण व्यवसायीले गत चैत–वैशाखमै काम सक्ने प्रतिबद्धता जनाएका थिए। तर, प्रतिबद्धताअनुसारको काम भने अहिलेसम्म पनि भएको छैन। निर्माण भएको संरचना पनि अहिले भत्किएर जान थालेको छ।

बजारकै कालाेपत्रे उप्किन थालेकाले ग्राभेलको नामोनिसाना नभएको तत्कालीन संघर्ष समितिका संयोजक फूलप्रसाद सापकोटाले गुनासो गरे। ‘सडकको कन्तबिजोकले अझै कति वर्ष सास्ती खेप्नुपर्ने हो पत्तो छैन। नागरिकले दिने दबाब मात्रै रहेछ। काम गर्नेले नगरेपछि थाक्यौँ,’ उनले भने, ‘काम समयमै भएन, भएको जति पनि गुणस्तरीय छैन।’

रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डअन्तर्गतको वामी–भुवाचिदीको पाँच किलोमिटर सडक पाँच करोड ८५ लाखको लागतमा श्रेष्ठ कन्स्ट्रक्सन जेभी गुल्मीले कालोपत्रे गर्नेे जिम्मा पाएको छ। तर, तीनपटक म्याद थप गरे पनि काम पूरा भएको छैन। निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले भने पहिलो खण्डको साढे तीन किलोमिटरमध्ये बजार आसपासको दुई किलोमिटर कालोपत्रे गर्दागर्दै वर्षात भएकाले काम रोकिएको दाबी गरे। उनले अझै पनि निर्माण सामग्रीहरू निर्माणस्थलमा भएकाले वर्षात् रोकिनेबित्तिकै काम गर्ने बताए।

गरेको केही काममा क्षति भए पनि पुनः मर्मत गर्ने श्रेष्ठले बताएका छन्। ‘मलाई आफ्नो कामको चिन्ता नहुने कुरै भएन। धेरै काम सकिएकाले मौसममा सुधार हुनेबित्तिकै काम गर्छौँ,’ उनले भने, ‘बिग्रिएको संरचनाको पनि मर्मत गर्छौँ।’ सम्झौताअनुसारको पाँच किलोमिटर सडकमध्ये केही भागमा पूर्ण कालोपत्रे, केही खण्डमा पहिलो लेयर र केही ठाउँमा ग्राभेलकै काम बाँकी छ। पाल्पा सडक डिभिजन कार्यालयका इन्जिनियर नीरञ्जन अर्यालले निर्माण व्यवसायीलाई काममा ताकेता गरिएकाले मौसममा सुधार हुनेबित्तिकै काममा लगाउने बताए। उनका अनुसार निर्माण व्यवसायीले हालसम्म तेस्रोपटक म्याद थप गरिसकेका छन्।

ठेकेदारले पहिले कोरोना संक्रमण र अहिले मौसमलाई देखाएर काम नगरेको मुसिकोट नगरपालिकाका मेयर जीवन खरेल बताउँछन्। काम छिटो गराउने उद्देश्यले आफूहरूले कार्यालय र निर्माण व्यवसायीसँग छलफल र दबाब दिने काम गरिरहेको उनले बताए।

ad
ad