१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
• वि.सं २o८१ बैशाख १७ सोमबार
• Monday, 29 April, 2024
टेकराज थामी काठमाडाैं
नवीन अर्याल काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:३४:oo
Read Time : > 6 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

मन्त्रीको सनकले सेक्युरिटी गार्ड हिरासतमा

Read Time : > 6 मिनेट
टेकराज थामी, काठमाडाैं
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:३४:oo

शुक्रबार करिब ११ बजे पक्राउ परेका सेक्युरिटी गार्ड शेरजंग गुरुङविरुद्ध अनुसन्धान गर्न आइतबार जिल्ला प्रशासन कार्यालयले पाँच दिनको म्याद थप गरेको छ । स्वयम्भूमा डेरा गरी बस्ने उनलाई अभद्र व्यवहार जाहेरी दर्ता भएको छ ।

शुक्रबार बिहान ९:०८ बजे ठमेलस्थित छाया सेन्टरअगाडि झन्डावालसहित दुईवटा गाडी रोकिए । पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, उनकी पत्नी, अंगरक्षक र उनीहरूसँगै गएका नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का केही कर्मचारी गाडीबाट ओर्लिए । ‘एलिभेटर’ चढेर उनीहरू तेस्रो तलास्थित ‘भिएफएस ग्लोबल’को कार्यालय पुगे । र, सरासर भित्र छिर्न अघि बढे ।

भिएफएसको सुरक्षामा खटिएका थिए, गरुड सेक्युरिटिज गार्डका सुपरभाइजर ५१ वर्षीय शेरजंग गुरुङ । दलबलसहितको टोली नै कार्यालयभित्र छिर्न लागेपछि उनले रोके । कार्यालय प्रवेशका लागि अन्य चार सेवाग्राही लाइनमा थिए । गुरुङले मन्त्रीसहितको टोलीलाई पनि ‘लाइनमा बसिदिन’ आग्रह गरे । मन्त्री श्रेष्ठका अंगरक्षक गुरुङनजिकै गएर भने, ‘उहाँ मन्त्रीज्यू हो, भित्र जानबाट रोक्ने ?’

क्यानडा, जापान, अस्ट्रेलिया, युकेलगायत २५ मुलुकका नेपालस्थित दूतावासले भ्रमणका लागि भिसा आवेदन गर्नेहरूको ‘बायोमेट्रिक परीक्षण’ गर्ने  जिम्मा ‘भिएफएस’ कम्पनीलाई दिएको छ, जसको कार्यालय छाया सेन्टरमा छ । मन्त्री श्रेष्ठसहितको टोली अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)को सभामा सहभागी हुन क्यानडाको भिसा प्रोसेसअन्तर्गत ‘बायोमेट्रिक’ परीक्षणका लागि भिएफएस पुगेको थियो । हरेक तीन–तीन वर्षमा हुने सभा यसपटक २७ सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म क्यानडास्थित आइकाओको मुख्यालयमा हुँदै छ ।

सुरक्षागार्ड गुरुङले मन्त्री श्रेष्ठलाई पनि अरू सेवाग्राहीझैँ व्यवहार गरेर लाइनमा बस्न आग्रह गरेका थिए । त्यसैले मन्त्रीका अंगरक्षकलाई भने, ‘तपाईंहरू कार्यालय खुल्नुअघि नै आउनुभयो । उहाँ (अरू लाइनमा रहेका)हरू पनि लाइनमा बस्नुभएको छ । अहिले तपाईंहरू पनि लाइनमा बस्नुहोस् ।’ गुरुङको जवाफ अंगरक्षकले मन्त्रीलाई जस्ताको तस्तै सुनाए । मन्त्रीले निको मानेनन् । तर, उनीसँग विकल्प थिएन, अप्ठ्यारो मान्दै लाइनमा बसे ।

‘भिएफएस’ले ‘बायोमेट्रिक’ लिनुअघि प्रत्येक आवेदकको ‘होल बडी स्क्यानिङ’ गर्छ । जसका लागि प्रवेशद्वारमै व्यवस्था छ । ‘स्क्यानिङ’ गर्ने जिम्मा भने सुरक्षागार्डकै हो । ‘बायोमेट्रिक’ लिनुअघि प्रत्येक आवेदकलाई मेसिनअघि खडा गराएर ‘होलबडी स्क्यानिङ’ गरिन्छ । हातहतियारलगायत शंकास्पद वस्तु देखिए सोही ठाउँमा रोक्छन्, जुन सेक्युरिटी गार्डको जिम्मेवारी हो ।

केहीबेरपछि मन्त्री श्रेष्ठ अंगरक्षकसहित ‘बायोमेट्रिक’ परीक्षणका लागि क्यानडाको ‘भिसा एप्लिकेसन सेन्टर’तर्फ अघि बढे । ‘बडी स्क्यानिङ’ नै नगरी टोली कार्यालय छिर्न खोजेपछि सेक्युरिटी गार्ड गुरुङले पुनः रोके । र, सबैलाई ‘स्क्यानिङ’ गर्न आग्रह गरे । यसबाट मन्त्री श्रेष्ठ थप चिढिए । यद्यपि, कुनै प्रतिक्रिया नजनाई ‘स्क्यानिङ मेसिन’अगाडि उभिए । त्यसपछि उनका अंगरक्षकको ‘बडी स्क्यानिङ’ गरियो । उनीसँग हतियार थियो ।

गुरुङले हतियारसहितको व्यक्ति भित्र छिर्न नपाउने भएकाले बाहिरै बस्न अनुरोध गरे । अब भने मन्त्री श्रेष्ठ र उनका अंगरक्षकको आक्रोश विस्फोट भयो । उनीहरू गुरुङमाथि खनिए । मन्त्रीसँगै गएका अरूले पनि घेरे । असहज भएपछि मन्त्री श्रेष्ठलाई उनकी पत्नीले रोकिन् । केहीबेरको नोकझोकपछि मन्त्री श्रेष्ठ ‘बायोमेट्रिक’ परीक्षण गरेर त्यहाँबाट फर्किए ।
तर, मन्त्री श्रेष्ठको शक्ति–उन्माद त तब सुरु भयो, जब उनी मन्त्रालय पुगे । स्रोतका अनुसार उनले सेक्युरिटी गार्ड गुरुङविरुद्ध कारबाही गर्न मन्त्रालयबाटै गृहलाई पत्र लेख्न लगाए, अंगरक्षकलाई जाहेरी दिन प्रहरी वृत्त दरबारमार्ग पठाए । गृहले गुरुङलाई पक्राउ गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई तत्कालै निर्देशन दिइसकेको स्रोतको भनाइ छ । अभद्र व्यवहारअन्तर्गत उनीविरुद्ध प्रहरीमा जाहेरी दर्ता भयो । र, लगत्तै पक्राउ गरियो ।

शुक्रबार करिब ११ बजे पक्राउ परेका गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दाअन्तर्गत पाँच दिनको म्याद थप गरेको छ । उनलाई अहिले दरबारमार्ग प्रहरीको हिरासतमा राखिएको छ । परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले अभद्र व्यवहार कसुरअन्तर्गत म्याद थप भएर थप अनुसन्धान अघि बढेको बताए । ‘गुरुङविरुद्ध अभद्र व्यवहार गरेको अभियोगमा जाहेरी दर्ता भएको छ । सोहीअनुसार उनलाई पक्राउ गरिएको हो । थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले पाँच दिनको म्याद थप गरेको छ,’ उनले भने ।

‘भिएफएस ग्लोबल’ विदेशी कम्पनी हो । विदेश भ्रमणमा जानुअघि आवेदकले सोही कम्पनीमा आफ्ना कागजात पेस गर्नुपर्छ । भिसा स्वीकृत भएपछि पनि आवेदक सोही कम्पनीमा पुगेर कागजात बुझ्नुपर्ने हुन्छ । त्यसैले कम्पनीले कार्यालयको सुरक्षा–प्रबन्ध कडा बनाएको छ । सुरक्षाको जिम्मा नेपाली कम्पनी गरुड सेक्युरिटिजलाई दिइएको छ । शुक्रबार सोही जिम्मेवारी पूरा गरेका थिए गुरुङले । तर, उनका लागि जिम्मेवारी निर्वाह महँगो साबित भएको छ । शुक्रबारदेखि हिरासतमा रहेका उनी अझै पाँच दिन हिरासतमै बस्नुपर्नेछ । नेपाली सेनाका अवकाशप्राप्त सिपाही गुरुङ केही वर्षदेखि गरुडमा जोडिएका थिए । उनी परिवारसहित स्वयम्भूमा डेरामा बस्दै आएका छन् ।

गरुड सेक्युरिटीका प्रशासकीय अधिकृत अभिषेक कार्कीले गुरुङले इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्दा प्रहरी हिरासतमा पुर्‍याइएको बताए । ‘बायोमेट्रिक परीक्षण गर्ने क्रममा मन्त्रीजीसहितको टोली पुनः जबर्जस्ती कार्यालय छिर्न खोज्यो । गुरुङजीले रोक्न खोज्नुभयो । त्यसपछि मन्त्रीज्यू नै उहाँमाथि जाइलाग्नुभयो । अंगरक्षक पनि त्यसमा थपिनुभयो । यो क्रियाकलाप सिसिटिभी फुटेजमा समेत देखिन्छ,’ उनले भने, ‘हो, उहाँ मन्त्रीज्यू नै हो । तर, कार्यालय आउनुअघि हामीलाई जानकारी गराउँदा के बिग्रन्थ्यो ? सुरक्षागार्डले सायद उहाँलाई चिनेन । आफ्नो जिम्मेवारी खुरुखुरु गर्नतर्फ लागे । यो कुरा मन्त्रीज्यूलाई मन परेन । त्यही कारण अहिले सुरक्षागार्ड प्रहरी हिरासतमा हुनुहुन्छ । मन्त्रीज्यूले भनेअनुसार गरेको भए सुरक्षागार्डको जागिर कम्पनीले खाइदिन्थ्यो ।’

मन्त्री श्रेष्ठले भने सेक्युरिटी गार्ड गुरुङले आफूहरूमाथि दुव्र्यवहार गरेको बताए । ‘सेक्युरिटी गार्डको व्यवहार रुखो थियो । उसमा कुनै पोलाइटनेस नै थिएन । उसले मन्त्री भन्नेबित्तिकै झन् दुव्र्यवहार गर्न खोजेको हो,’ उनको दाबी छ, ‘उनले मेरो अंगरक्षकलाई पनि दुव्र्यवहार गरे । अंगरक्षकले नै आफ्नो सेक्युरिटी प्रोसेसअनुसार माथिल्लो निकायलाई जानकारी गराएका हुन् । त्यसपछि प्रहरी आएर फक्रेर लगेको हो । मैले प्रहरी बोलाउन भनेको पनि होइन, पक्राउ गर्न पनि भनेको होइन । यसमा मेरो कुनै भूमिका नै छैन ।’

सेक्युरिटी गार्डको व्यवहार नै रुखो थियो
आमसेवाग्राहीझैँ ‘तपाईं पनि लाइनमा बसिदिनुस् न’ भनेर अनुरोध गर्ने सेक्युरिटी गार्डलाई इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेको भनेर धन्यवाद दिनुपर्नेमा प्रहरी लगाएर थुनाउनुभएछ ?
क्यानडाको भिसाका लागि ठमेलस्थित छाया सेन्टरमा रहेको भिएफएस ग्लोबलमा हामी बिहान ९ बजे पुगेका थियौँ । हामीलाई ९ बजेकै समय दिइएको थियो । त्यहाँ पुग्दा लाइनमा दुईजना मात्र थिए । हामी पुग्नेबित्तिकै एकजना भित्र पसे, बाहिर एकजना मात्र थिए । हामी लाइनमै थियौँ ।म, मेरी श्रीमती, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का साथीहरू भिसा प्रोसेसका लागि गएका थियौँ । अंगरक्षक पनि सँगै हुनुहुन्थ्यो । यत्तिकैमा त्यहाँको सेक्युरिटी गार्ड लाइन–लाइन भन्दै ठेल्दै–धकेल्दै आए । मेरो अंगरक्षक ‘उहाँ मन्त्रीज्यू हो’ भनेर चिनाउँदै हुनुहुन्थ्यो । तर, उनी ‘मन्त्रीसन्त्री मतलब छैन’ भन्दै सन्किए । ‘मन्त्री’ भन्नेबित्तिकै उनले हामीप्रति फरक व्यवहार देखाउन थाले ।

उनको अभद्र व्यवहारपछि मेरो अंगरक्षक र गार्डबीच भनाभन भयो । उसले ‘म पनि सेनाको भूपू हुँ’ भन्दै मेरो अंगरक्षकलाई कार्ड देखाउँदै दुव्र्यवहार ग¥यो । म भित्र गएर बाहिर निस्किँदासम्म उसले ‘घुरेर’ हेर्दै थियो । उसको व्यवहार पटक्कै ठीक थिएन । कुनै पनि सेवाग्राही जाँदा गार्डको त्यस्तो दुव्र्यवहार हुनुभएन । भिएफएसको सेवाप्रवाह राम्रो भएन । उसले सेवाग्राहीलाई गरेको व्यवहार पटक्कै चित्तबुझ्दो रहेनछ । अनि, मेरो अंगरक्षकले रिपोर्ट गरेपछि प्रहरीले ती सेक्युरिटी गार्डलाई पक्राउ गरेको हो ।

तपाईंले ‘भिआइपी हुँ’ भनेर अतिरिक्त ‘प्रिभिलेज’ खोज्नुभयो । सांसद–मन्त्रीहरूले आमसेवाग्राही नागरिकभन्दा चाँडो र सहज ढंगले सेवा पाउनुपर्छ भन्ने व्यवस्था कानुनमा छ र ?
युरोप, अमेरिकासहित जुनसुकै देशमा भिआइपी भन्ने हुन्छ । ती देशमा पनि सुरक्षालगायत विविध कारणले प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थको प्रोटोकल मेन्टेन गर्ने भन्ने हुन्छ । तर, मैले त्यहाँ कुनै प्रिभिलेज खोजेकै थिइनँ । मन्त्री भएकै कारण चाँडो काम हुनुपर्छ भन्ने मनसाय पनि थिएन । भिडभाड नभएकाले भिआइपी बनेर अगाडि जानुपर्ने आवश्यकता नै थिएन । तर, सेक्युरिटी गार्डको रुखो स्वभाव थियो । उसमा कुनै पोलाइटनेस नै थिएन । सेवाग्राहीलाई भेडाबाख्रा धपाएजस्तै व्यवहार गरिरहेको थियो । उसले मन्त्री भन्नेबित्तिकै झन् दुव्र्यवहार गर्न खोजेको हो ।

मन्त्रीलाई अंगरक्षक दिइएको हुन्छ । सेक्युरिटी गार्डले अंगरक्षकलाई पनि दुर्व्यवहार गरे । उनै अंगरक्षकले आफ्नो सेक्युरिटी प्रोसेसअनुसार माथिल्लो निकायलाई जानकारी गराएका हुन् । त्यसपछि प्रहरी आएर फक्रिएर लगेको हो । मैले प्रहरी बोलाउन भनेको पनि होइन । पक्राउ गर्न पनि भनेको होइन । यसमा मेरो कुनै भूमिका नै छैन । मेरो सुरक्षाका लागि राज्यले सुविधा दिएका अंगरक्षकले आफ्नो जिम्मेवारी निभाएका मात्रै हुन् । त्यहाँ म मात्र थिइनँ, क्यानका कर्मचारी पनि हुनुहुन्थ्यो । आफ्नो गल्ती ढाकछोप गर्न सेक्युरिटी गार्डले घटनालाई अतिरञ्जित गरेको हो । गल्ती आफू गर्ने अनि मन्त्रीलाई दोष दिएर हुन्छ त ?

सेक्युरिटी गार्डमा कुनै पोलाइटनेस नै थिएन । सेवाग्राहीलाई भेडाबाख्रा धपाएजस्तै व्यवहार गरिरहेको थियो । उसले मन्त्री भन्नेबित्तिकै झन् दुर्व्यवहार गर्न खोज्यो ।

दुव्र्यवहार भएको थियो भने प्रहरीमा रिपोर्ट गर्न सक्नुहुन्थ्यो, तर अंगरक्षकले माथिल्लो निकायमा जानकारी गरायो भनेर उम्किन मिल्छ र ?
मेरो सुरक्षाका लागि राज्यले अंगरक्षकको व्यवस्था गरेको हुन्छ । केही तलबितल हुनेबित्तिकै अंगरक्षकले आफ्नो लाइनमा रिपोर्ट गर्छ । त्यहाँ मन्त्रीको सुरक्षामा तलबितल भए अपजस अंगरक्षकलाई पनि जान्छ । त्यही भएर अंगरक्षक यस्ता कुरामा सम्झौता गर्दैनन् । ममाथि त्यहाँ दुव्र्यवहार भएपछि उनीहरूले नै प्रहरीमा खबर गरेका हुन् । अंगरक्षकले सेक्युरिटीमा आँच आउने र कसैले दुव्र्यवहार गरेमा तुरुन्तै ‘एक्सन’ लिने गर्छन् । मैले गएर उजुरी–बाजुरी गर्नैपर्दैन । मेरो सुरक्षाको जिम्मेवारी उनीहरूले लिएका हुन्छन् ।
तपाईंले हिरासतमा राखिएका सेक्युरिटी गार्डलाई छाडिदिन प्रहरीलाई भन्न त सक्नुहुन्थ्यो होला नि ?
कानुनी कारबाही अगाडि बढेपछि मैले ‘इन्टरफेयर’ गर्नु पनि भएन । ऊ आफैँले भूपू आर्मी हुँ भनेको छ । भूपू आर्मी भएपछि आफैँ मन्त्रीको सुरक्षमा उत्रिनुपर्ने हो । तर, म पनि आर्मीको मान्छे भनेर विवादमा उत्रियो । आर्मीलाई मन्त्रीको सुरक्षाबारे थाहै हुन्छ । उसले सही ढंगको व्यवहार र भूमिका निर्वाह गरेन । त्यो दुर्व्यवहार नै हो ।

सुरक्षागार्डले  जिम्मेवारी पूरा गरे, त्यो कुरा मन्त्रीज्यूलाई मन परेन
अभिषेक कार्की, प्रशासकीय अधिकृत, गरुड सेक्युरिटिज

भिएफएस ग्लोबल विदेशी कम्पनी हो । यसका आफ्नै नियम छन् । विशेष गरी सुरक्षाका मामलामा उनीहरू कसैसँग सम्झौता गर्दैनन् । कम्पनीको सुरक्षा जिम्मा हामी (गरुड सेक्युरिटिज)ले लिएका छौँ । शेरजंग गुरुङ हामीसँगै काम गर्नुहुन्छ । उहाँ भिएफएस ग्लोबल सुपरभाइजर हो । सुरक्षामा सम्झौता गर्ने छुट उहाँलाई छैन । शुक्रबार उहाँ ड्युटीमा रहेका वेला बिहान करिब ९ः०८ बजे मन्त्रीज्यूको टोली कार्यालय गएछ । सरासर कार्यालय भित्र छिर्न खोज्दा गार्डले रोक्यो । ‘बायोमेट्रि क’ गर्ने क्रममा उहाँहरू फेरि जबर्जस्ती कार्यालयभित्र छिर्नुभयो । गुरुङजीले रोक्न खोज्नुभयो । त्यसपछि मन्त्रीज्यू नै उहाँमाथि जाइलाग्नुभयो । अंगरक्षक पनि त्यसमा थपिनुभयो । यो क्रियाकलाप सिसिटिभी फुटेजमा समेत देखिन्छ । हो, उहाँ मन्त्रीज्यू नै हो । तर, कार्यालय आउनुअघि हामीलाई जानकारी गराउँदा केबिग्रन्थ्यो ? सुरक्षागार्डले सायद उहाँलाई चिनेन । आफ्नो जिम्मेवारी खुरुखुरु गर्नतर्फ लागे । यो कुरा मन्त्रीज्यूलाई मन परेन । त्यही कारण अहिले सुरक्षागार्ड प्रहरी हिरासतमा हुनुहुन्छ । मन्त्रीज्यूले भनेअनुसार गरेको भए सुरक्षागार्डको जागिर कम्पनीले खाइदिन्थ्यो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी भरतबहादुर बोहरा भन्छन्– यस विषयमा मलाई नसोध्नुहोस

प्रहरीले भीएफएस ग्लोबलका सेक्युरिटी गार्ड शेरजंग गुरुङ शुक्रबार पक्राउ गरेर थप अनुसन्धान गर्न पाँच दिनको म्याद थप गरेको रहेछ । उनको कसुर के हो ?

शेरजंग गुरुङ पक्राउ परेको र उहाँविरुद्ध दरबार मार्ग वृत्तमा मुद्दा चलेको सुचना मैेले पनि पाएको छु । कुन मुद्दामा कसरी पक्राउ गरिएको हो बुझ्न पाएको छैन । दरबार मार्गको डिएसपीलाई बुझ्दा ठिक होला ।

दरबारमार्ग त तपाई मातहतको कार्यालय हो । त्यहाँको कार्यालय प्रमुखलाई अनुमति बिना बोल्ने अधिकार छैन । यो बिषयमा त तपाईले नै बोल्दा ठिक होइन र ?

होइन पछिल्ला दिनमा मुद्दाको अनुसन्धान गर्ने जिम्मा वृतहरूलाई नै छ । पक्राउ गर्ने जिम्मा पनि उनीहरूसँग नै हुन्छ । त्यसको विस्तृत अनुसन्धान पनि दारबारमार्गमै हुन्छ । मलाई यस बिषयमा केही जानकारी दिएका छैनन् ।

तपाई मातहतको कार्यालय भएकाले पक्राउ गरेको सम्बन्धमा रिपोर्टिङ त गरेको होला नि ?

मलाई दरबारमार्ग वृतले विस्तृत केही पनि भनेको छैन । ‘मिस बिहेब’ गरेकोले पक्राउ गरिएको मात्रै भनेको छ । अनुसन्धान गर्ने अधिकार पनि त्यहीँ हुन्छ । त्यसैले उतै सोध्दा राम्रो ।

दुर्व्यवहार गरेको हो भने त कसै न कसैले जाहेरी त पक्कै पनि दिएको होला । मन्त्री वा उनको अंगरक्षक कसले जाहेरी दियो ? यो जनकारी त तपाईसँग होला नि ?

यसको अनुसन्धान गर्ने, मुद्दा चलाउने अधिकार दरबारमार्गकै हो । कसले जाहेरी दिएको हो भन्ने मलाई रिपोर्टिङ भएको छैन । त्यहाँकै डिएसपीलाई सोध्नुहोला ।

ad
ad