१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १७ शुक्रबार ०८:०३:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

यू–१७ पुरुष साफ च्याम्पियनसिप : पहिलोपटक उपाधि भित्र्याउने लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १७ शुक्रबार ०८:०३:००

श्रीलंकामा आयोजना हुने यू–१७ पुरुष साफ च्याम्पियनसिपमा सहभागी हुने नेपाली फुटबल टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ । २० देखि २९ भदौसम्म कोलम्बोमा हुने प्रतियोगिताका लागि २९ सदस्यीय टोली शुक्रबार भारतको नयाँदिल्ली हुँदै कोलम्बो पुग्नेछ । साफ च्याम्पियनसिपपछि यही टोलीले भियतनाममा आयोजना हुने एएफसी यू–१७ एसियन छनोट पनि खेल्नेछ । नेपाली टोलीका प्रशिक्षकमा उर्जन श्रेष्ठ र कप्तान प्रशान्त लक्षम छन् । समूह ‘बी’मा नेपालसहित भुटान र भारत छन् । नेपालले पहिलो खेल २२ भदौमा भुटान र २४ भदौमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।  

उपाधिविहीन नेपाल
यू–१५ साफमा नेपाल हालसम्म उपाधिविहीन छ । प्रतियोगिता ६ पटक आयोजना हुँदा भारत तीन, बंगलादेश दुई र पाकिस्तान एकपटक च्याम्पियन भएका छन् । यता, नेपाल तीनपटक फाइनल पुगेर पनि उपविजेतामै सीमित भएको छ । गत सिजनसमेत भारतसँग पराजित हुँदै नेपाल उपाधिबाट वञ्चित भएको थियो । कोरोना महामारीका कारण प्रतियोगिता दुई वर्ष आयोजना नहुँदा यसपटक यू–१७ को रूपमा हुन लागेको हो । यसअघि दक्षिण एसियाली फुटबल महासंघ साफले यू–१८ प्रतियोगितालाई समेत यू–२० को रूपमा आयोजना गरेको थियो । 

१७ सयबाट २३ खेलाडी छनोट
यू–१७ साफ च्याम्पियसिपमा सहभागी हुन एन्फाले यसपटक खेलाडीको छनोट खुला रूपमा गरेको थियो । उमेर समूहमा स्थान बनाउन देशभरबाट लगभग १७ सय खेलाडी एन्फा कम्प्लेक्समा आयोजना भएको छनोटमा सहभागी भएका थिए । प्रशिक्षक श्रेष्ठले १० साउनबाट सुरु गरेको छनोटबाट अन्तिम २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन् । टोलीमा छनोट भएका केही खेलाडीसँग ‘बी’ र ‘सी’ डिभिजन लिग खेलेको अनुभव छ । कप्तान प्रशान्त चर्च ब्वाइजबाट खेलेका हुन्, रुबिन बोगटीले आरसिटीबाट । यसै सिजनमा चर्च ब्वाइज क्लब ए डिभिजन क्लबमा उक्लेको थियो । हरिशराज भट्टले प्लानिङ ब्वाइज, धनसिंह विकले आरसी २३, विक्रम तामाङले झापा एघार, आश्विन घोरासैनीले सानेपा र मिराक लिङ्देनले साँगा एकेडेमीबाट खेलेका थिए । अन्य खेलाडी बुटवल र धरान एकेडेमीसहित खुला छनोटबाट स्थान 
बनाएका हुन् । 

उपाधिका लागि खेल्छौँ : प्रशिक्षक श्रेष्ठ
गत सहिद स्मारक ए डिभिजन लिगमा थ्रीस्टार क्लबको मुख्य प्रशिक्षकसमेत रहेका उर्जनले पहिलोपटक नेपालको उमेर समूह हेर्दै छन् । उनी साफमा सहभागी टोलीको स्तर एकै किसिमको भएको बताउँदै उपाधि जित्न नेपालले अन्य प्रतिस्पर्धीलाई प्रतिस्पर्धा दिने प्रतिक्रिया दिन्छन् । ‘सहभागी सबै राम्रा छन् । यही टोलीमा गरेको प्रदर्शनले खेलाडीको भविष्य निर्धारण गर्छ । त्यसैले निकै प्रतिस्पर्धा हुन्छ,’ श्रेष्ठ भन्छन् । उनी विगतमा समेत युथ टिमले राम्रो प्रदर्शन गरेको र यसपटक समेत त्यसलाई निरन्तरता दिने बताउँछन् । ‘हामीले धेरै समय खेलाडी छनोटमै खेर फालेका छौँ । तर पनि फिटनेसमा ध्यान दिँदै भारतलगायत देशलाई प्रतिस्पर्धा दिन्छौँ,’ श्रेष्ठ भन्छन् ।