Skip This
पाकिस्तानमा बाढीबाट साढे तीन करोड मानिस प्रभावित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २८ शुक्रबार
  • Friday, 10 May, 2024
एजेन्सी इस्लामावाद
२o८१ बैशाख २८ शुक्रबार २३:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पाकिस्तानमा बाढीबाट साढे तीन करोड मानिस प्रभावित

Read Time : > 1 मिनेट
एजेन्सी, इस्लामावाद
नयाँ पत्रिका
२o८१ बैशाख २८ शुक्रबार २३:४४:oo

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पाकिस्तानमा विनाशकारी बाढीका कारण ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो रहेको जनाएको छ । पाकिस्तानमा बाढीले विध्वंस मच्चाइरहेका वेला पाकिस्तान सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ भने ६६ जिल्लालाई ‘विपत्तिग्रस्त’ क्षेत्र घोषणा गरेको छ । 

करिब तीन सय ५० बालबालिकासहित एक हजार एक सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यस्तै, एक हजार सयभन्दा बढी मानिस घाइते भएका छन् भने दुई  लाख ८७ हजारभन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन् । यसबाहेक, करिब सात लाख ३५ हजारभन्दा बढी पशुपक्षी नष्ट भएका छन् भने २० लाख एकड जमिनमा लगाइएको बालीनालीमा प्रतिकूल असर परेको छ । 

डब्लुएचओले एक रिपोर्टमा भनेको छ, ‘जुलाई २०२२ को मध्यमा पाकिस्तानमा सुरु भएको भारी मनसुनी वर्षा देशका धेरै भागमा जारी छ र यसले पाकिस्तानका एक सय ५४ जिल्लामध्ये एक सय १६ जिल्ला (७५ प्रतिशत)लाई प्रभावित पारेको छ । सबैभन्दा बढी सिन्ध प्रभावित बनेको छ भने बलुचिस्तान दोस्रो प्रभावित प्रान्त हो ।’ 

संयुक्त राष्ट्र संघले भनेको छ, ‘पाकिस्तानमा २५ अगस्ट २०२२ सम्ममा वर्षा र बाढीका कारण तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् । चार लाख २१ हजार शरणार्थीसहित ६४ लाखभन्दा बढी मानिसलाई मानवीय सहायताको खाँचो छ । एक हजारभन्दा बढीले ज्यान गुमाएका छन् भने करिब १५ हजार मानिस घाइते भएका छन् ।’ 

डब्लुएचओका अनुसार वर्षा र बाढीको कारण देशका स्वास्थ्य संस्थाहरू नराम्ररी प्रभावित भएका छन् भने सन् २०२२ अगस्ट २८ सम्ममा आठ सय ८८ स्वास्थ्य संस्थामा क्षति पुगेको छ, जसमध्ये १८० वटा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीमा पहुँच अहिलेका लागि मुख्य स्वास्थ्य चुनौती का रूपमा रहेको डब्लुएचओले जनाएको छ । विश्व स्वास्थ्य संगठनले देशको स्वास्थ्य प्रणालीले कोभिड– १९, हैजा, टाइफाइड र दादुराजस्ता विभिन्न समसामयिक स्वास्थ्य खतरासँग जुधिरहेको जनाएको छ ।

यद्यपि पाकिस्तानमा अहिलेको बाढी आउनुभन्दा पहिले पनि ग्रामीण र सहरी क्षेत्रबीच स्वास्थ्य सेवाको पहुँचमा ठूलो असमानता थियो । 

संयुक्त राज्य अमेरिकाले पाकिस्तानमा भीषण बाढीबाट प्रभावित व्यक्ति र समुदायलाई सहयोग गर्न थप ३० मिलियन अमेरिकी डलरको जीवन रक्षक मानवीय सहायताको घोषणा गरेको छ भने अन्य मुलुकबाट पनि सहयोगका लागि प्रतिबद्धता आएका छन् ।
 

ad
ad