१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:१८:oo
Read Time : > 2 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

यस वर्ष सर्वाधिक कमाइ गर्ने ६ टेनिस खेलाडी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:१८:oo

वर्षको अन्तिम ग्रान्डस्लाम युएस ओपन सुरु भइसकेको छ । पहिलो चरणमा अप्रत्याशित नतिजा आएको छ । युएस ओपनको धनराशि २.६ मिलियन डलर छ । पुरुष वा महिलातर्फका विजेता यसपटक मालामाल हुनेछन् । विश्व खेलकुदमा टेनिस सक्रिय खेलमा पर्छ । यस खेलमा सहभागी खेलाडी वर्षभरि नै व्यस्त हुन्छन् । जसका कारण उनीहरूले खेलेबापत पनि लाखौँ डलर कमाइ गर्छन् । फोर्ब्सले सन् २०२२ मा टेनिस खेलमा सबैभन्दा कमाइ गर्ने खेलाडीको सूची तयार पारेको छ । 

१. रोजर फेडेरर 

फेडेररले १४ महिनादेखि टेनिस खेलेका छैनन् । चोटका कारण फेडेररले कुनै पनि प्रतियोगितामा आफ्नो नाम दर्ता गराएका छैनन् । अचम्मको पक्ष के छ भने फेडेरर सन् २०२२ सिजनमा टेनिस खेलाडीमध्ये सर्वाधिक कमाइ गर्ने एथलेटिक्स बनेका छन् । उनी लगातार १७औँ वर्ष टेनिस खेलमा सबैभन्दा धेरै कमाइ गर्ने खेलाडी बनेको फोर्ब्सले जनाएको छ । ४१ वर्षीय फेडेररले आफूलाई अर्को वर्ष सक्रिय खेलमा फर्कने विश्वास राखेका छन् । २० ग्रान्डस्लाम जितेका फेडेररले यस वर्ष ९० मिलियन डलर कमाएका छन् । उनले विश्व चर्चित उनिक्लो, क्रेडिट स्विस तथा रोलेक्स घडीको विज्ञापन गरी कमाएको फोर्ब्सले जनाएको छ । 

२. नाओमी ओसाका 

जापानी महिला खेलाडी ओसाका टेनिस खेलमा धेरै कमाइ गर्ने सूचीको दोस्रो स्थानमा छिन् । उनले ५६.२ मिलियन डलर कमाइ गरेकी छन् । खेलबाट उनको आम्दानी १.२ मिलियन डलर रहेको छ । टेनिसबाहेक उनले विभिन्न कम्पनीको विज्ञापन तथा ब्रान्ड एम्बास्डरका रूपमा थप ५५ मिलियन डलर कमाइन् । विश्व खेलमा उनी ४४औँ कमाइ गर्ने खेलाडीमा पर्छिन् । उनको हातमा अहिले २० कम्पनी छ । 

३. सेरेना विलियम्स

यस सिजनको अन्तिम ग्रान्डस्लाम टेनिस युएस ओपनमा सेरेनाले उत्कृष्ट सुरुवात गरेकी छन् । गत महिना उनले युएस ओपनपछि सन्न्यास लिने बताएकी थिइन् । पछिल्लो समय खासै ठूला टेनिस उपाधि नजिते पनि सेरेना सन् २०२२ को बढी धन आर्जन गर्ने टेनिस खेलाडीको सूचीकै तेस्रो स्थानमा छिन् । उनले खेलबाट ०.१ मिलियन तथा अन्यबाट ३५ मिलियन डलर रकम कमाएको फोर्ब्सले जनाएको छ । सेरेनाको मुख्य लक्ष्य नै मार्गेट कोर्टले राखेको विश्व कीर्तिमानी २४ ग्रान्डस्लाम उपाधि बराबरी गर्नु हो । अहिले सेरेना एक उपाधिले पछि छिन् । सेरेनाले विभिन्न ६० कम्पनीमा लगानी गरेकी छन् । अर्को महिना ४१ वर्षकी हुने सेरेनासँग दर्जनभन्दा बढी विश्व चर्चित ब्रान्ड छन् । नाइक, गुची तथा मिचेलोव अल्ट्राजस्ता विश्व चर्चित ब्रान्ड उनका पछाडि छन् । यसै वर्ष उनले इभान र पोर्चे कम्पनीसँग सहकार्य गरेकी हुन् । 

४. राफेल नाडाल

स्पेनिस खेलाडी नाडाल पुरुषतर्फ कीर्तिमानी रूपमा २२ ग्रान्डस्लाम जित्ने खेलाडी हुन् । नाडालले खेलमा सहभागिता जनाउँदै यस वर्ष ६.४ मिलियन तथा अन्यबाट २५ मिलियन डलर कमाएका छन् । सन् २०१९ पछि पहिलोपटक युएस ओपनमा सहभागिता जनाइरहेका नाडालले नाइक, किया तथा रिचार्ड मिलेजस्ता कम्पनीसँग आबद्धता जनाएका छन् । यी तीनवटै कम्पनीका उनी कर्पोरेट पार्टनर हुन् । यस वर्षको विम्बल्डनको सेमिफाइनलमा उनी चोटका कारण बाहिरिएका थिए । तर, अस्ट्रेलियन तथा फ्रेन्च ओपन जित्दै उनले ४.४ मिलियन डलर प्राइज मनीका रूपमा कमाए । 

५. नोभाक जोकोभिक
 
जोकोभिकले युएस ओपनमा दमदार प्रदर्शन गर्ने अपेक्षा राखेका छन् । वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनमा कोभिड परीक्षण नगराएका कारण आयोजकले उनलाई खेल्न दिएनन् । टेनिस कोर्टमा शान्त देखिने जोकोभिक यस वर्ष टेनिस खेलकै पाँचौँ धेरै धन आर्जन गर्ने खेलाडीमा पर्छन् । उनले अहिलेसम्म २७.१ मिलियन डलर कमाएका छन् । प्रतियोगिताबाट उनले ७.१ मिलियन तथा अन्यबाट २० मिलियन डलर कमाएको फोर्ब्सले जनाएको छ ।

६. इमा राडुकानु  
गत वर्ष युएस ओपन उपाधि उचाल्नुअघि बेलायतकी इमा विश्व टेनिस महिला वरीयताको एक सय ५०औँ स्थानमा थिइन् । बेलायतलाई पहिलोपटक महिला खेलाडीका रूपमा युएस उपाधि दिलाएपछि इमाको ख्याति एकाएक चुलियो । त्यसपछि उनको पछाडि बेलायतसँगै अन्य देशका कम्पनीहरूले सहकार्य गरे । यसै कारण एक वर्षपछि उनी टेनिसतर्फ सर्वाधिक कमाइ गर्ने खेलाडी सूचीको छैटौँ स्थानमा छिन् । उनले सन् २०२२ मा २१.१ मिलियन डलर कमाइन् । खेलबाट उनले ३.१ मिलियन तथा अन्यबाट १८ मिलियन डलर कमाएको फोर्ब्सले जनाएको छ । यस वर्ष उनी अस्ट्रेलियन, फ्रेन्च तथा विम्बल्डनको दोस्रो चरणसम्म मात्र पुगिन् । 

ad
ad