विश्व बैंकले १३ अर्ब सहुलियत ऋण दिने

मंगलबार, १४ भदौ, २०७९
डिजिटल संस्करण
विश्व बैंकले १३ अर्ब सहुलियत ऋण दिने

ऋण सम्झौतामा हस्ताक्षरपछि ऋण पत्र आदानप्रदान गर्दै अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभा । तस्बिर : रासस

हरियाली, जलवायु–उत्थानशील र समावेशी विकास (ग्रिड)मा १० करोड सहायताका लागि विश्व बैंक र नेपालबीच सम्झौता

विश्व बैंकले नेपाललाई करिब १३ अर्ब रुपैयाँ सहुलियत ऋण दिने भएको छ । नेपाललाई हरियाली, जलवायु–उत्थानशील र समावेशी विकास (ग्रिड)तर्फ अग्रसर हुन विश्व बैंकले १० करोड अमेरिकी डलर ऋण सहयोग गर्ने भएको हो ।

नयाँ विकास नीति ऋण (डिपिसी)का लागि नेपाल सरकार र विश्व बैंकबीच सोमबार लगभग १३ अर्ब नेपाली रुपैयाँबराबरको सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो । ग्रिडअन्तर्गत तीन सहिलयतपूर्ण ऋण डिपिसीहरूको शृंखलामध्येको यो पहिलो भएको बैंकले जनाएको छ ।

यस सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले हस्ताक्षर गरेका छन् । 

नेपालको अर्थतन्त्राई हरितकरण गर्नुका साथै सामुदायिक वन, कृषि, स्वच्छ हावा, र ठोस फोहोर व्यवस्थापनजस्ता क्षेत्रहरूमा रोजगारी सिर्जना गर्ने सम्बन्धमा यस कार्यक्रमले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने विश्व बैंकले जनाएको छ । विकाससम्बन्धी निर्णय प्रक्रियामा समावेशितालाई सुदृढीकरण गर्नुका साथै स्रोत तथा सेवाहरूमा सबैको पहुँच बढाउनका लागि गरिने सुधार कार्यहरूमा पनि यस कार्यक्रमले सघाउनेछ ।

नेपाल सरकार, विश्व बैंक र  विकास साझेदारहरूले महत्वपूर्ण काठमाडौं घोषणापत्रमा हस्ताक्षर गरेसँगै हरित, थप समावेशी र थप उत्थानशील विकासका लागि सरकारको लक्ष्यलाई सघाउन नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेको प्रबन्धक स्ट्रेलकोभाले बताए । नेपालको ग्रिडमार्गतर्फको प्रस्थान भनेको यस अवसरले भरिपूर्ण तथा चुनौतीपूर्ण समयका लागि आवश्यक रणनीतिक कदम भएको सहसचिव अर्यालले बताए । 

सुझावित समाचार