
नेपाल समाजवादी पार्टीले अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा घोषणापत्र लेखन तथा अर्का अध्यक्ष महिन्द्र राय यादव संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रले आसन्न ४ मंसिरको प्रदेश एवं प्रतिनिधिसभा निर्वाचन माओवादी केन्द्रको चिह्नमा लड्ने गरी निवेदन दिएका छन् ।
भट्टराईको संयोजकत्वमा गठित सातसदस्यीय घोषणापत्र लेखन समितिमा एमपी रिजाल, डा. जनक शाह, ई. नहेन्द्र प्रधान, दुर्गादेवी भट्टराई, डा. गजाधर सुनार र जगदेव चौधरी सदस्य छन् ।
केन्द्रीय कार्यकारिणी समिति बैठकले यादव संयोजकत्व र सहअध्यक्ष गंगा श्रेष्ठ सहसंयोजक रहने गरी निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिमा केन्द्रीय पदाधिकारी, प्रदेश इन्चार्ज र विभागीय प्रमुख छन् । आगामी निर्वाचनलाई ध्यानमा राखेर सबै प्रदेशमा अभिमुखीकरण कार्यक्रमसमेत आयोजना गरिएको अध्यक्ष भट्टराईद्वारा जारी विज्ञप्तिमा छ ।
९८ केन्द्रीय सदस्य थपिए
बैठकले गोविन्दप्रसाद चौधरीलाई सहअध्यक्षमा मनोनीत गरेको छ । बैठकबाट ९८ जना केन्द्रीय समिति सदस्यमा मनोनीत भएका छन् भने ९३ सदस्यीय राजनीतिक समितिसमेत गठन गरिएको छ ।
केन्द्रीय सल्लाहकार समितिको अध्यक्षमा विष्णुहरि शर्मा, विज्ञ परिषद् प्रमुखमा एमपी रिजाल र निर्वाचन आयोग प्रमुखमा कृष्णप्रसाद शर्मालाई जिम्मेवारी तोकिएको छ । यस्तै, केन्द्रीय कार्यालय प्रमुखमा फणीन्द्र देवकोटा, पार्टी कोष निर्माण तथा परिचालन विभागको प्रमुखमा हरि रिजाल र अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नहेन्द्र प्रधानलाई जिम्मेवारी तोकिएको छ ।
बैठकले समाजवादी थारू संघको इन्चार्जमा गोविन्दप्रसाद चौधरी, समाजवादी महिला संगठनको इन्चार्जमा हिसिला यमी, शिल्पी÷दलित महासंघको इन्चार्जमा दुर्गा सोव, समाजवादी विद्यार्थी युनियनको इन्चार्जमा बन्दना सुवेदी, समाजवादी युवा संघको इन्चार्जमा राजु नेपाल, बौद्धिक पेसाकर्मी महासंघको इन्चार्जमा दुर्गा भट्टराई, समाजवादी ट्रेड युनियन महासंघको इन्चार्जमा लालध्वज नेम्वाङ, समाजवादी मुस्लिम संघको इन्चार्जमा मो. इजरायल अहमदलाई जिम्मेवारी तोकेको छ ।