१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ६ सोमबार २०:४८:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

बेलायतमा नेपाली नर्सका लागि ढोका खुल्यो

नेपाल सरकार र बेलायत सरकारबीच सम्झौता, जिटुजीमार्फत् कामदार लगिने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ६ सोमबार २०:४८:००

नेपाल सरकार र बेलायत सरकारबीच नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई बेलायतमा रोजगारी प्रदान गर्नेसम्बन्धी द्विपक्षीय श्रम सम्झौता भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमबीच नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन् । 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर पनि उपस्थित थिए। समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरूलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवं नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ।

यसका अतिरिक्त बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने व्यवस्था मिलाइएको छ। नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापन र सेवा सुविधासम्बन्धी मापदण्ड हाल छलफलका क्रममा रहेको र कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) बमोजिम हुने मन्त्रालयले जनाएको छ ।

 

स्वास्थ्यकर्मी बेरोजगार बन्नुपर्ने अवस्थाको अन्त्य : श्रमसचिव अर्याल

श्रमसचिव एकनारायण अर्यालले नेपालमा केही स्वास्थ्यकर्मी (नर्स) बेरोजगार रहेको र केही अत्यन्त न्यून पारिश्रमिकमा काम गर्न बाध्य रहेको अवस्थामा दुई देशबीच भएको ऐतिहासिक समझदारीले स्वास्थ्यकर्मी बेरोजगार बन्नुपर्ने अवस्थाको अन्त्य गरेको बताए। स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिललगायत निकायसँग छलफल गरेर मात्रै बेलायत रोजगारीमा पठाइने जनशक्तिको संख्या टुंगो लगाइने उनले जानकारी दिए । 

समझदारीअनुसार बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवासुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने व्यवस्था मिलाइएको छ । वैदेशिक रोजगार विभाग र बेलायतको स्वास्थ्य तथा सामाजिक हेरचाह विभागबीच आवश्यक समन्वयबाट स्वास्थ्यकर्मीको भर्ना प्रक्रिया अगाडि बढ्नेछ। 

भर्ना प्रक्रियालाई निष्कर्षमा पुर्याउन दुवै देशका सरकारी निकायको सहभागितामा कार्यान्वयन प्रोटोकल तय गरिने समझदारी बनेको छ। ‘स्वास्थ्यकर्मीको छनोट र पदस्थापना नेपालको वैदेशिक रोजगार विभाग तथा बेलायतको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर वा तोकिएको निकायको प्रत्यक्ष संलग्नतामा सरकारी प्रक्रियाबमोजिम हुनेछ,’ समझदारीपश्चात् जारी संयुक्त प्रेस वक्तव्यमा भनिएको छ।

नेपाली स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी मापदण्ड छलफलमै रहेको र कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) अनुसार हुने गरी द्विपक्षीय सहमति भएको मन्त्रालयका सहप्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए। 

स्वास्थ्यकर्मीको भर्ना प्रक्रियासँग सम्बन्धित सम्पूर्ण जानकारी श्रम मन्त्रालयको वेबसाइटमा राखिनेछ। बेलायत रोजगारीका लागि आवश्यक योग्यता पुगेका व्यक्तिले अनलाइमार्फत वैदेशिक रोजगार विभागमा आवेदन दिन सक्नेछन्। समझदारीले जनशक्तिको भर्नाका लागि तेस्रो पक्षको संलग्नतालाई अस्वीकार गरेको छ। स्वास्थ्य जनशक्तिको भर्ना प्रक्रियामा तेस्रो पक्षको संलग्नता हुने छैन। रोजगारीका लागि बेलायत जान चाहनेले सम्बन्धित सरकारी निकायमा सम्पर्क गर्नुपर्नेछ।

तोकिएको योग्यता पुगेका महिला तथा पुरुष सबैले आवेदन गर्न सक्नेछन्। सबैका लागि समान अवसर प्रदान गरिएको छ। दुई देशबीच भएको समझदारीअनुसार भर्ना प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रोटोकल निर्माण गरिने जनाइएको छ। बेलायत रोजगारीका लागि नेपाली स्वास्थ्यकर्मीको निश्चित योग्यता हुनुपर्ने व्यवस्था गरिएको छ।

रोजगारीका लागि बेलायत जान चाहने नेपाली राहदानीबाहक स्वास्थ्यकर्मीको उमेर २० देखि ४५ वर्षबीचको हुनुपर्नेछ। त्यस्ता जनशक्तिले निश्चित शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ। स्टाफ नर्सका रूपमा काम गर्दै आएको, नर्सिङमा स्नातक उत्तीर्ण वा नेपाल सरकारबाट मान्यता प्राप्त संस्थाबाट नर्सिङमा स्नातकोत्तर भएको हुनुपर्नेछ।

नेपाल नर्सिङ काउन्सिलबाट व्यावसायिक लाइसेन्स लिएको र कम्तीमा दुई वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्नेछन् । अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ । अंग्रेजी भाषा परीक्षामा कम्तीमा ६.५ नम्बर ल्याउनुपर्नेछ । छनोट चरण उत्तीर्ण गर्ने व्यक्तिले कुनै पनि शुल्क तिर्नुपर्नेछैन । शून्य लागतमा स्वास्थ्य क्षेत्रका जनशक्ति बेलायतमा रोजगारीका लागि जान पाउनेछन् । 

समझदारीअनुसार नेपाली स्वास्थ्यकर्मीलाई बेलायतको स्वास्थ्य सेवामा सुरक्षित, मर्यादित र व्यवस्थित तवरले रोजगारीमा संलग्न हुने व्यवस्था मिलाइने सहप्रवक्ता भुसालले जानकारी दिए। विश्व स्वास्थ्य संगठनको हेल्थ वर्कर सपोर्ट एन्ड सेफगार्ड लिस्ट दुई हजारमा नेपाल समावेश रहेको अवस्थालाई मध्यनजर गरी स्वास्थ्यकर्मीको संख्या र प्रकारका सम्बन्धमा दुवै सरकारले संयुक्त निर्णय गर्ने समझदारी बनेको उनले बताए । 

नेपालको स्वास्थ्य क्षेत्रको विकास र सुदृढीकरणमा बेलायत सरकारको योगदान रहँदै आएकामा आगामी दिनमा समेत स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरण र आधुनिकीकरणमा सहयोग जारी हुने संयुक्त वक्तव्यमा जनाइएको छ ।