
लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणको ठेक्का प्रकरणबारे छलफल गर्न लुम्बिनी प्रदेश सभाको सार्वजनिक लेखा समितिले प्रमुख कार्यकारी अधिकृतलाई बोलाएको छ । समितिका सभापति विष्णु पन्थीका अनुसार एक साताभित्र ठेक्का प्रक्रियाका सम्पूर्ण कागजातसहित उपस्थित हुन प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेललाई निर्देशन दिइएको छ ।
समितिका सदस्य भोजप्रसाद श्रेष्ठले टेन्डर प्रक्रियामा घोटाला भएको विषय सञ्चारमाध्यममा सार्वजनिक भएको तथा सार्वजनिक खरिद अनुगमन कार्यालयले पनि पत्र काटेको सन्दर्भमा लेखा समितिको ध्यानाकर्षण भएको बताए । सम्पूर्ण कागजातसहित उपस्थित हुन निर्देशन दिएको उनले बताए । यससम्बन्धी विवाद अदालतमा समेत पुगेको छ ।
यसअघि लुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माण ठेक्कामा पुनः मिलेमतो भएको पाइएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सच्याउन पत्र काटेको थियो । करिब ६ अर्ब ७० करोड रुपैयाँ लागतमा लुम्बिनी प्रदेशमातहतको प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश अस्पतालको नयाँ भवन निर्माण गर्दै छ ।