१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ भदौ १ बुधबार १९:४९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

क्षमताभन्दा दोब्बर बढी यात्रु बोक्दा भिरबाट खस्यो जिप 

Read Time : > 1 मिनेट
२०७९ भदौ १ बुधबार १९:४९:००

दार्चुलामा जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् । शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरबाट बधुबार दिउँसो दार्चुला सदरमुकाम खलंगा आउँदै गरेको से १ ज ५५१ नम्बरको जिप शैल्यशिखर नगरपालिका–६, उलानीमा दुर्घटनामा परेको हो ।

जिप दुर्घटनामा परी मृत्यु हुनेहरूमा बझाङ जिल्ला बुङ्गल नगरपालिका ८ का उज्जलसिंह बोहरा, हिक्मत जागरी, पुने बोहरा, रैभान बोहरा र चम्फा बोहरा रहेका छन् । 

यस्तै, घाइते हुनेहरूमा मालिकार्जुन ३ का गौमती धामी, सुमनसिंह धामी, गोमती धामी, रूपा धामी, मालिकार्जुन–६ का रेवती धामी, महाकाली नगरपालिका– ३ का रमेश लुहार, महाकाली नगरपालिका- ४ का चालक दिलाराम कोली, बैतडी डिलासैनी गाउँपालिका- ३ का प्रदीप राना र बझाङ जिल्ला बुङ्गल नगरपालिका- ८ का धनबहादुर जागरी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत मगरले जानकारी दिए । 

जिप सडकबाट झन्डै २५० मिटर तल खसेको थियो । घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । ‘घाइतेहरूको अवस्था सामान्य नै छ,’ गोकुलेश्वर अस्पतालका डाक्टर पूजा बमले भनिन्, ‘सबैको यहीँ उपचार हुन्छ । रिफर गर्नुपर्ने अवस्थाका घाइते छैनन् ।’

जिपमा क्षमताभन्दा बढी यात्रु बोकेकै कारण दुर्घटना भएका घाइते सुमन धामीले बताए । ‘बोलेरो जिपमा ६ जना यात्रु बोक्नुपर्नेमा १३ जना यात्रु थियाैँ,’ उनले भने, ‘अगाडि र पछाडि यात्रु कोचाकोच गरेर ल्याएको हो,’ उनले भने, ‘जिपको अगाडि र पछाडि यात्रु राख्दा पनि गोकुलेश्वरमा प्रहरी चेकजाँच नै गरेनन् ।’

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक मगर भने गोकुलेश्वरमा प्रहरीले इन्ट्री गर्दा छजना मात्र यात्रु रहेको बताए । उनले भने, ‘बाटोमा यात्रु थपेको हुन सक्छ । हाम्रो इन्ट्री पोस्टमा छजना मात्रै यात्रु लेखिएको छ ।’ 
उपचार गराउन  भारतको पिथौरागढ जाँदै थिए मृत्यु हुनेहरू बझाङ जिल्ला बुङ्गल नगरपालिका– ८ का ६८ वर्षीय उज्जलसिंह बोहरा बुधबार बिहान ७ बजे उपचारको लागि हिँडेका थिए । गाउँमा राम्रो अस्पताल नहुँदा उनी भारतको पिथौरागढमा उपचारको लागि जाँदै थिए । बोहरासँगै गाउँका छजना उपचारको लागि सँगै हिँडेका थिए । मृत्यु भएका पाँचजना नै एउटै वडाका हुन् । 

‘पिथौरागढमा राम्रो उपचार हुन्छ भनेर जानुभएको थियो । बुधबार खलंगा पुग्ने र बिहान पिथौरागढ जाने उहाँहरूको तयारी थियो । घरमा तीनजना भाइ छाैँ । बुवाको मृत्यको खबरले पूरै परिवार शोकमा छ,’ मृतक उज्जलसिंहका छोरा मदनसिंह बोहराले नयाँ पत्रिकासँग भने ।