१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार ०७:१५:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

एक डाक्टरको सपना : मिस युनिभर्स नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ श्रावण ३१ मंगलबार ०७:१५:००

एमबिबिएस सक्ने अधिकांशको ध्याउन्न चाँडोभन्दा चाँडो मेडिकल काउन्सिलको परीक्षा पास गर्नेमा हुन्छ । तर, २३ वर्षीया डा. आयुष्नोभा ढुंगाना अहिले मिस युनिभर्स नेपालको तयारीमा जुटेकी छिन् । शीर्ष २० भित्र परिसकेकी उनी याक एन्ड यती होटलमा क्लोज क्याम्पमा छिन् । यही होटलमा २५ अगस्टमा मिस युनिभर्स नेपालको छिनोफानो हुनेछ र प्रतियोगिताको विजेताले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नेछिन् । 

एमबिबिएस सकेपछि किन सौन्दर्य प्रतियोगितामा रुचि ? जवाफमा आयुष्नोभा भन्छिन्, ‘हेल्थ फर अलको मुद्दालाई अघि बढाउन चाहन्छु । यसका लागि मिस युनिभर्स नेपाल एउटा राम्रो फोरम हो । ताज जितेँ भने कोस्टारिकामा हुने मिस युनिभर्समा गएर यो मुद्दाबारे बोल्छु । नभए जहाँ–जहाँ फोरम मिल्छ, त्यहीँ बोल्छु ।’
आयुष्नोभाले यस मुद्दालाई बोकेर हिँड्नुका धेरै कारण छन्, साझा प्रयासले यस दिशामा सफलता मिल्छ भन्ने घटनाको साक्षी उनी आफैँ हुन् । बंगलादेशको ढाका विश्वविद्यालय पढ्दाको प्रसंग कोट्याउँदै उनले भनिन्, ‘हाम्रो कलेजको हस्पिटल ग्रामीण इलाकामा थियो । जहाँ, निःशुल्क शिविरमा गाउँलेहरू उपचारका लागि आउँथे । डाक्टरले सिटामोल किनेर खान सिफारिस गर्दा उनीहरू भाग्थे । सिटामोल किन्दिनँ, त्यो पैसा जोगाए १६ टाँकामा खाना आउँछ भन्थे । त्यसपछि डाक्टरहरूले नै पैसा उठाएर बिरामीको उपचार गरिदिन्थे ।’

बंगलादेशका नेता, डाक्टर, निजी अस्पताल र व्यापारीहरू स्वास्थलाई सर्वसुलभ बनाउने मामिलामा नेपालभन्दा निकै अघि रहेको उनको अनुभव छ । ‘त्यहाँ सबैले बिरामीलाई माया गर्छन् । पैसा तिर्न नसक्नेहरूका लागि स्वास्थ्यकर्मीहरूले नै पैसा उठाउँछन् । कोही मानिस घरमा काम गर्न बसेको छ भने घर मालिकले उसको उपचारका लागि अलग्गै पैसा दिन्छ । सामान्य रोग मात्रै होइन, क्यान्सरजस्ता जटिल रोगमा पनि अस्पताल र स्वास्थ्यकर्मी सबैले सहयोग गर्छन्,’ हेल्थ फर अल नारालाई मोडलिङमार्फत अघि सार्नुको कारण खोतल्दै उनले भनिन्, ‘नेपालमा पैसा नभएकाहरू उपचार नपाएर मर्नुपर्ने अवस्था छ । यो अवस्था नेपाल, भारत वा अन्यत्र मात्रै होइन, विश्वभरबाट अन्त्य हुनुपर्छ ।’ 

स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन सरकार र समुदाय दुवैको ध्यान जानुपर्ने उनी बताउँछिन्, ‘सर्वसुलभ स्वास्थ्यका लागि सरकारको मुख ताकेर मात्रै हुँदैन, हामीले आफ्नो ठाउँबाट पनि भूमिका खेल्नुपर्छ । कोही बिरामीलाई उपचारमा सहयोग गरिदिने, सरकारी अस्पतालहरू सुधारका लागि पहल गर्नेलगायत साना कामले पनि ठूलो नतिजा दिन सक्छ ।’

बाल्यकालदेखि नै नृत्यमा अब्बल उनी पढाइमा पनि तेज छिन्, कक्षामा प्रायः प्रथम हुन्थिन् । सात कक्षा पढ्दा नै उनले ‘मिस्टर खाते’ फिल्मको अंग्रेजी सबटाइटल लेखेकी थिइन्, यो फिल्म विभिन्न अवार्डमा मनोनीत भएको थियो । यसबापत उनलाई ‘सेकेन्ड नेसनल इन्टरटेनमेन्ट अवार्ड–२०७९’ मिलेको छ । 

जनावर पाल्ने सोख 
जनावरसँग बाल्यकालदेखि नै उनको लगाव छ । घरमा नौवटा बिराला र तीनवटा कुकुर छन् । उनी सडकमा छाडिएका पशुचौपायालाई पनि उत्तिकै माया गर्छिन् । भविष्यमा जनावरका लागि सेल्टर खोल्ने सपना उनको छ । ‘बाल्यकालमा मम्मी–ड्याडी मलाई छाडेर काममा निस्किनुहुन्थ्यो, मेरो रेखदेख ड्यानी(कुकुर)ले गथ्र्यो । त्यो कुकुर दुई वर्षअघि बित्यो,’ आयुष्नोभाले भनिन्, ‘त्यतिवेलै मैले कसम खाएकी छु, एक दिन म सडकमा छोडिएका कुकुर र जनावरलाई आश्रय दिने गरी पशुगृह खोल्छु ।’ 

डेर्माटोलोजिस्ट बन्ने लक्ष्य
तत्काल मोडलिङमा सक्रिय भए पनि चिकित्सा क्षेत्रलाई छाड्न नसक्ने उनले बताइन् । सौन्दर्य प्रतियोगितामा भाग लिएर हिरोइन बन्ने रहर हो ? जवाफमा उनले भनिन्, ‘मैले अभिनय जानेको छैन । त्यसैले त्यो मेरो बाटो होइन । बरु डेर्माटोलोजिस्ट बन्न मन छ,’ उनले भनिन्, ‘सौन्दर्य प्रतियोगितामा स्वास्थ्य क्षेत्रकै प्रवद्र्धनका लागि गएको हुँ । भविष्यमा सक्रिय हुने पनि यही क्षेत्रमै हो । मैले प्रतिस्पर्धा गरिरहेको मिस युनिभर्स नेपालमा विभिन्न क्षेत्रबाट आएका प्रतिस्पर्धी हुनुहुन्छ । सबैको उद्देश्य समाजका लागि राम्रो गरौँ भन्ने नै हो ।’