१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३० सोमबार
  • Monday, 07 July, 2025
२o७९ श्रावण ३० सोमबार १३:o५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपा खोटाङका अध्यक्षसहित ३९ जनाले गरे पार्टी परित्याग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण ३० सोमबार १३:o५:oo

जनता समाजवादी पार्टी (जसपा) खोटाङका अध्यक्षसहित ३९ नेता–कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। केन्द्रीय नेतृत्वले पार्टीलाई सांगठनिक र सैद्धान्तिक रूपमा विघटनको दिशातर्फ लगेको भन्दै जिल्ला अध्यक्ष टंकबहादुर थापासहित ३९ जनाले सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका हुन्।

पार्टी परित्याग गर्नेमा केन्द्रीय अनुशासन आयोगका सदस्य वीरबहादुर राई, १ नं. प्रदेश समिति सदस्य मोहन गुरुङ, जिल्ला उपाध्यक्ष एवं प्रदेश समिति सदस्य मणि राई, किराँत राष्ट्रिय समिति सदस्य देवकुमार राई, गीता श्रेष्ठ,  जिल्ला उपाध्यक्ष नवीन किशोर राई र वसन्ती राईलगायत रहेका छन्। 

समावेशी, सुशासन तथा समृद्धि र समाजवादको अभियानका लागि अग्रगामी परिवर्तन र वैकल्पिक राजनीतिको माध्यमबाट जनता र परिवर्तनको पक्षमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गर्दै सामूहिक रूपमा पार्टी परित्याग गरिएको अध्यक्ष थापाले बताए। ‘पार्टीका केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन सकेन,’ उनले भने, ‘नेतृत्वले सांगठनिक र सैद्धान्तिक रूपमा पार्टीलाई विघटनको दिशातर्फ लगेकाले औपचारिक रूपमा पार्टी छाड्न बाध्य भएका हौँ।’

पार्टी परित्याग गर्ने जिल्ला अध्यक्ष थापासहित अधिकांश नेताहरू नेकपा (माओवादी केन्द्र)मा समाहित हुने तयारी भइरहेको बताइएको छ। ‘कसलाई कुन पदमा राख्ने भन्ने सल्लाह भइरहेको छ,’ स्रोतले भन्यो, ‘प्राविधिक विषय टुंग्याएर भदौ १ गते औपचारिक रूपमा माओवादी केन्द्रमा समाहित गर्ने निर्णय भएको छ।’

यसअघि नै पार्टी परित्यागको घोषणा गरेका केन्द्रीय सदस्य एवं कृषिविज्ञ मदन राई, केन्द्रीय सदस्य सूर्यबहादुर राई र १ नं. प्रदेश समिति सदस्य मोहन गुरुङले आफूहरू डा. बाबुराम भट्टराई नेतृत्वमा गठन भएको नेपाल समाजवादी पार्टीमा समेत नरहने र तत्काल कुनै पनि पार्टीमा नखुल्ने बताएका छन्। ‘हामी केही नेताहरू कुनै पनि पार्टीमा प्रवेश गर्ने तयारी छैन,’ पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफ दिँदै सूर्यबहादुर राईले भने, ‘संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशितालगायत प्राप्त उपलब्धिको रक्षा तथा भ्रष्टाचार न्यूनीकरणका लागि स्वतन्त्र रूपमा हाम्रो खबरदारी रहन्छ।’

उता, जिल्ला अध्यक्ष थापासहित बहुमत कार्यसमितिले पार्टी परित्याग गरेपछि उपाध्यक्ष पिके खम्बूको नेतृत्वमा बैठक बसेर पार्टी पुनः गठन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। यसका लागि सोमबार नै बैठक बोलाइएको जसपा खोटाङले जनाएको छ। दश स्थानीय तह रहेको जिल्लामा जसपाको ५३ सदस्यीय जिल्ला सचिवालय समिति गठन भएको थियो। डा. भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी नेपालबीच एकता भएपछि बनेको जनता समाजवादी पार्टी नेपालमा खोटाङका ६ जना नेता केन्द्रीय सदस्य बनेका थिए ।