मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ श्रावण २६ बिहीबार १०:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दोलखाको खोलीखेममा पहिरो : ८ घरमा क्षति, ६५ घरधुरी जोखिममा (अपडेट)

Read Time : < 1 मिनेट
२०७९ श्रावण २६ बिहीबार १०:०६:००

दोलखा उत्तरको मुख्य व्यापारिक केन्द्र सिँगटीस्थित खोलीखेम क्षेत्रमा पहिरो गएको छ । पहिरोका कारण आठ घरमा क्षति भएको छ भने ६५ घरधुरी जोखिममा परेका छन् । बुधबार साँझ परेको अविरल वर्षाले बिगु गाउँपालिका– ४ सिँगटीको खोलीखेम बजारका आठ घरमा क्षति भएको र ६५ घर उच्च जोखिममा परेका हुन् । 

खोलीखेमबाट लादुकतर्फ उक्लिने सडकका कारण सिँगटी खोलीखेम क्षेत्रमा पहिरोले बर्सेनि दुःख दिने गरेको स्थानीयले गुनासो गरेका छन् । सडकमा अव्यवस्थित तरिकाले डोजर चलाइएका कारण पहिरोले सिंगो खोलीखेम बजारका ६५ घर जोखिममा परेको उनीहरूको आरोप छ । 

खोलीखेममा साउन २३ गतेको पहिरोले चार घर पूर्णरूपमा क्षति पुगेको थियो । गएराति आएको भारी वर्षाका कारण थप चार घरमा आंशिक क्षति पुगेको दोलखाका प्रहरी प्रवक्ता सानु तामाङले जानकारी दिए । 

उनका अनुसार पानी लगातार परिरहेकोले सिंगो बजार क्षेत्रका ६५ घरपरिवार नै जोखिममा छन् । पहिरो गएको सिँगटी बजार क्षेत्रमा अहिले नेपाल प्रहरी, बिगु गाउँपालिका र स्थानीय मिलेर माटाे पन्छाउने र सफा गर्ने काम भइरहेको प्रहरी प्रवक्ता तामाङले जानकारी दिए । उनका अनुसार दोलखाका  प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा सहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू पहिरो गएको क्षेत्रमा पुगेका छन् । 

ठाउँठाउँमा झरेको पहिरोका कारण सिँगटी–लामाबगर सडक अवरुद्ध छ । प्रहरी प्रवक्ता तामाङले क्षतिको थप विवरण संकलनको काम भइरहेको जानकारी दिए ।  सडकका कारण खोलीखेममा बर्सेनि पहिरो जाने गरेको छ । गत वर्ष पनि पहिरोका कारण बजार क्षेत्रमा क्षति पुगेको थियो ।