मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ श्रावण २० शुक्रबार ०८:११:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सप्तकोसीबाट भएको क्षति संकलन गरिँदै

सरकार र गैरसरकारी संस्थाले उपलब्ध गराएको राहत पीडितलाई वितरण

Read Time : > 1 मिनेट
२०७९ श्रावण २० शुक्रबार ०८:११:००

सप्तकोसीको बाँध फुटेपछि विस्थापित भएकाहरूले राहत पाउन थालेका छन् । सरकारी तथा गैरसरकारी निकायले उपलब्ध गराएको राहत विस्थापित पीडित परिवारलाई वितरण गर्न थालिएको हो । सप्तकोसीको तटीय क्षेत्रमा पर्ने बेलका नगरपालिका–८ मा रहेको लाहुरेखोँच डुम्रिबोटको बाँध फुटेपछि दर्जनौँ गाउँ विस्थापित भएका छन् ।

विस्थापित भएका गाउँका स्थानीयलाई राहत वितरण सुरु गरिएको बेलका नगरपालिका–३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले बताए । ‘विस्थापित परिवारलाई दाताहरूले उपलब्ध गराएको राहत वितरण सुरु गरिएको छ,’ उनले भने । प्रदेश–१ सरकार, नेपाल रेडक्रस सोसाइटी, कृषक समूह महासंघ नेपाललगायत सरकारी तथा गैरसरकारी संघसंस्थाले खाद्यान्न, त्रिपाल, औषधि, पानीलगायतका राहत उपलब्ध गराएको बेलका नगरपालिकाकी उपमेयर जिरा राईले बताइन् । ‘जो विस्थापित भएर विद्यालयहरूमा आश्रय लिइरहनुभएको छ, उहाँहरू सबैलाई राहत वितरण गर्ने काम भइरहेको छ,’ उनले भनिन् ।

बेलका नगरपालिकाले झन्डै एक सय ५० परिवारलाई तीनवटा विद्यालय र एकवटा निजी कृषि फर्ममा बस्ने व्यवस्था गरेको छ । ‘प्रभावित क्षेत्रमा दुई प्रकारको बसोवास छ, जसमा विस्थापित भएका स्थायी रूपमा बसोवास गर्नेहरूलाई विद्यालयमा राखेका छौँ,’ उनले भनिन्, ‘अस्थायी रूपमा बसोवास गर्नेहरू, जो कोसीको तटीय क्षेत्रमा पनि घर–खेती हुने अनि अन्यत्र स्थानमा पनि घर भएका छन्, उनीहरू अर्को घरमा गएका छन् ।’ उनले धेरै पीडित परिवार आफन्तकोमा बसिरहेको बताइन् । 

डुम्रिबोटेको बाँध फुटेर पश्चिम उदयपुरतर्फ कोसीको भंगालो बग्न थालेपछि बेलका नगरपालिकाको तल्लो तटीय क्षेत्रमा पर्ने वडा नम्बर १, २, ३, ८ र ९ सँगै सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ प्रभावित बनेको छ । सबैभन्दा तल्लो तटीय क्षेत्रमा डुबान हुँदा धानखेतीमा क्षति पुगेको छ । ‘कृषि र पशुपक्षी क्षेत्रमा पुगेको क्षतिको विवरण शुक्रबारसम्म संकलन गरिसक्छौँ,’ उनले भनिन् ।

विस्थापित भएर आश्रय लिनेमध्ये महिला र बालबालिकाको संख्या धेरै रहेको उनले बताइन् । पुरुषहरू भने पशुचौपायासहित घरैमा बसिरहेको स्थानीयको भनाइ छ । डुबानले दुई हजार पाँच सय परिवार विस्थापित हुने प्रारम्भिक अनुमान गरिए पनि करिब एक हजार पाँच सय परिवारका सदस्यलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । ‘सम्भावित जोखिमलाई मध्यनजर गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोलीलाई उद्धारका उपकरणसहित तयारी अवस्थामा राखिएको छ । पीडितको पहिचान गरेर नगरपालिकाबाट राहत वितरण पनि सुरु गरिएको छ,’ उनले भने ।

सप्तकोसीले पश्चिम क्षेत्रको तटबन्ध भत्काएर बस्तीमा पसेपछि उदयपुर, सप्तरी र सुनसरीका पाँचवटा पालिकाका मानव बस्ती जोखिममा परेका छन् । त्यसमध्ये सप्तकोसी नदीमा आएको बाढीले अस्थायी बाँध भत्काएर बस्तीमा पसेपछि उदयपुरको बेलका नगरपालिका र सुनसरी बराहाक्षेत्र नगरपालिकाको तटीय क्षेत्रका स्थानीय बढी मात्रमा प्रभावित भएका छन् ।

पानीको बहाव घटेपछि बाँध बनाउन  सुरु हुन्छ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्काले पानीको बहाव घटेपछि रोकथामका लागि बाँध बनाउने काम सुरु हुने बताएका छन् । ‘भारत सरकारसँग पनि स्थायी रूपमा क्षति हुन नदिने गरी कुरा भइरहेको छ । सिँचाइ विभागसँग पनि स्थायी रूपमा बाँध बनाउने कुरा भएको छ । बाँध बनाउने कुरामा सबैबाट सकारात्मक सल्लाह पाएको छु,’ बिहीबार गृहजिल्ला आइपुगेका खड्काले भने । उनले तत्कालका लागि विस्थापित पीडित परिवारलाई राहत वितरण मुख्य प्राथमिकता भएको बताए ।