१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १२:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

टरिगाउँ एयरपोर्टबाट तत्काल बाउजर फिर्ता नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १२:१८:oo

स्थानीयको विरोधपछि काठमाडौं लगिने भनिएको बाउजर तत्काल दाङको तुलसीपुर– १२ स्थित टरिगाउँ एयरपोर्टमा नै रहने भएको छ। नेपाल आयल निगमले टरिगाउँ एयरपोर्टमा आइपुगेको बाउजर काठमाडौं लैजाने गरी आइतबार कर्मचारी तुलसीपुर पठाएपछि जनप्रतिनिधिसहित स्थानीयले विमानस्थलको इन्धन डिपो निर्माणस्थलमा तालाबन्दी गरेका थिए।

तालाबन्दीपछि निगमले तत्काल बाउजर काठमाडौं नलैजाने भएको हो। काठमाडौंमा जानकारी गराएपछि अहिले बाउजर लैजाने कुरा रोकिएको निगमको तुलसीपुर वितरण केन्द्रका प्रमुख विपिन श्रेष्ठले बताए। ‘यहाँका स्थानीयले विरोध गर्नुभयो,’ उनले भने, ‘त्यसले गर्दा काठमाडौंबाटै अब नलैजाने भन्ने कुरा आएको छ।’

विगतमा दाङ ल्याउने भनिएको बाउजर एकैपटक जनकपुर लगिएको इतिहास भोगेको भन्दै स्थानीयले आइसकेको बाउजर लैजान रोकेका हुन्। तुलसीपुर एयरपोर्टमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा  पुगेको छ। संरचना सबै तयारी भएको र ल्याब टेस्टका लागि भारत पठाएकाले त्यसको रिपोर्ट आएपछि इन्धन भर्न सुरु हुने प्रमुख श्रेष्ठले बताए।

उनका अनुसार डिपो सञ्चालनमा नआउँदासम्मका लागि बाउजर रामेछापको मन्थली विमानस्थलमा लैजाने तयारी गरिएको थियो। दाङमा ठूलो बाउजर पनि नचाहिने भएकाले उक्त बाउजर लगेर अर्को सानो ल्याउने तयारी रहेको समेत श्रेष्ठले बताए। ‘हाम्रो यहाँ ५–६ करोड लगानी भएको छ, हामीले यत्रो लगानी गरेपछि यो नचलाउने भन्ने कुरा हुँदैन। यहाँका नगारिकले बुझ्नुभएन’,उनले भने, ‘यहाँबाट लगेर अर्को बाउजर ल्याउने कुरा भएको थियो।’

यहाँबाट बाउजर नलैजाने कुरा भएपछि  इन्धन डिपो निर्माणस्थलको गेटमा लगाइएको तालाको चाबी प्रहरीलाई हस्तान्तरण गरिएको छ। यहाँबाट बाउजर लैजान नदिने सहमतिपश्चात् सुरक्षाका दृष्टिले असहज हुने भएकाले चाबी प्रहरीलाई बुझाइएको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए।

ad
ad