१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o८१ जेठ ६ आइतबार १६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

खुलामञ्चमा अकासे पानी पुनर्भरण हुने गरी काम गर्दै महानगर

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:२४:oo

काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अकासे पानी पुनर्भरण गर्ने गरी ग्रेडिङ र लेभलिङको काम सुरु गरेको छ। पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि सोमबारदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको रोहवरमा भएको सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र केसी र महानगरपालिकाका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यले हस्ताक्षर गरेका छन्।

यस्ता पूर्वाधार निर्माण र परामर्शमा सहकार्य गर्न नेपाल सरकारको स्वामित्व भएको पूर्वाधार निर्माण कम्पनीसँग यही वैशाख १० गते नीतिगत सहमतिपत्रमा हस्ताक्षर भएको थियो। त्यसै सहमतिका आधारमा वैशाख २३ गते विभागले खुलामञ्चको ग्रेडिङ र लेभलिङका लागि सम्झौता गरेको हो।

कामको निरीक्षणका लागि प्रमुख प्रशासकीय अधिकृत परियार, कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसी, महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यसहित इन्जिनियरहरू खुलामञ्च पुगेका थिए।

त्यस अवसरमा प्रमुख प्रशासकीय अधिकृत परियारले भने, ‘नीतिगत निर्णय भएको १३ दिनपछि काम गर्ने सम्झौता गर्‍याैँ। त्यसको भोलिपल्टैबाट काम थालिएको छ। हामी पूर्वाधार निर्माणको काम यही गतिमा अगाडि बढाउने प्रयासमा छौँ।’

नेपाल पूर्वाधार निर्माण कम्पनी ०७६ साल असार २५ गते दर्ता भएको सरकारको स्वामित्व भएको कम्पनी हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत केसीले भने, ‘कम्पनीका लागि यो एउटा अवसर पनि हो। यसलाई तोकिएको समयमा सम्पन्न गरिनेछ।’

खुलामञ्च २३ हजार चार सय १५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ। सार्वजनिक निर्माण विभागका प्रमुख शाक्यका अनुसार आगामी जेठ मसान्तभित्र काम सकिनेछ। यसपछि वर्षाको पानी भेल भएर नबगी जमिनमुनि प्रवेश गर्ने बताइएको छ।

ad
ad