१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १८:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वअर्थमन्त्री शर्मा निर्दोष भएको प्रमाणित भयो : प्रचण्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२२:oo

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई ल्याएर करको दर हेरफेर नगरेको प्रमाणित भएको बताएका छन् । शुक्रबार प्रेस सेन्टर नेपालको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संसदीय विशेष छानबिन समितिको रिपोर्टले शर्मालाई निर्दोष देखाएको बताएका हुन् । तत्कालीन अर्थमन्त्री शर्मा र अर्थ मन्त्रालयको कुनै गल्ती नभएको छानबिन समितिको प्रतिवेदनको निष्कर्ष रहेको उनले बताए । 

‘बजेट राम्रो छ भन्ने हुँदैथ्यो । सबैले त्यसलाई स्वागत गर्दै थिए । राति १२ बजे अनधिकार मान्छेलाई ल्याएर करका दरमा हेरफेर गर्यो अर्थमन्त्रीले र यसलाई कारबाही गर्नुपर्छ भनेर यति धेरै प्रचार गरियो । हामीले, अझ मैले नै भन्नुपर्छ अध्यक्षको हैसियतले छानबिन गर्नू भनेँ, खाएको विष पो लाग्छ, नखाएको विष त लाग्दैन । छानबिन गर्न तयार । संसदीय छानबिन नै सही भनियो । छानबिनको १० दिन समय दिइयो । ७ दिन थपियो,’ उनले भने, ‘आज चाहिँ छानबिन समितिले प्रतिवेदन बुझायो उहाँ निर्दोष हुनुहुन्छ । केही प्रमाण छैन । अब प्रमाणित भइसक्यो । भर्खरै त्यो घोषणा भयो । अर्थमन्त्रीको, अर्थ मन्त्रालयको त्यस्तो कुनै गल्ती भएको छैन भन्ने छानबिन समितिको रिपोर्ट बुझियो ।’

‘तत्काल समाजवादी केन्द्र बन्दैन’
अध्यक्ष प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् । उनले समाजवादी केन्द्र बनाइहाल्नका लागि आफूहरूले छलफल नगरेको बताए । चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति बनाएर एउटै घोषणापत्र बनाउने विषयमा छलफल चलेको उनको भनाइ थियो । 

‘तत्काल समाजवादी केन्द्र बन्नेवाला छैन । बन्दै छैन । हामीले समाजवादी केन्द्र बनाइहालौँ भनेर छलफल पनि गरेका छैनौँ । केही–केही साथीहरूले समाजवादी केन्द्रको कुरा उठाउनुभएको हो तर हाम्रा बैठकहरूमा समाजवादी केन्द्र तत्काल बन्ने भन्ने कुरा भएको होइन । छैन । चुनावी मोर्चा बनाउने र पार्टी एकता संयोजन समिति भएर एउटै घोषणा–पत्र बनाउन सकिन्छ कि भन्ने छलफल चलेको छ । टुंगिसकेको छैन,’ उनले भने, ‘जे भए पनि यही गठबन्धन जान्छ र हामीले यसैबाट देशमा राजनीतिक स्थायित्व र विकास ल्याउनुछ ।’ 

अध्यक्ष दाहालले वर्तमान सत्तारुढ गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म कायम रहने पनि बताए । गठबन्धनको आवश्यकता र औचित्य रहँदासम्म निर्वाचनपछि पनि गठबन्धन कायम रहने उनले बताए । गठबन्धनबाटै शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने र नयाँ परिस्थिति बनाउने उनको भनाइ थियो । ‘प्रदेश, संघको निर्वाचनसम्म मात्रै होइन यसको आवश्यकता र औचित्य रहँदासम्म यो कायम रहिराख्छ, कुनै दुविधा नपाल्नुहोला । अर्को बन्छ कि भन्ने खालको कहिलेकाहीँ भ्रम आउन खोज्छ, त्यो भ्रम अब मुक्त भएर यही गठबन्धनबाट जाने हो र यसैबाट शान्ति प्रक्रिया पनि टुंग्याउने हो र यसबाट नै एउटा नयाँ परिस्थिति बनाउने हो ।’ 

अध्यक्ष दाहालले माओवादी आन्दोलन नै आजको राजनीतिको मूलधार भएको पनि बताए । उनले देशमा हालसम्म भ्रष्टाचार नगर्ने माओवादी केन्द्रको नेतृत्वको दुईवटा सरकार मात्र भएको दाबीसमेत गरे । 
 

ad
ad