१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o७:५९:oo
Read Time : > 2 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

विराटनगरमा खुल्ने भयो पाँचतारे र्‍याडिसन होटेल

उद्योगपति मोती दुगडको लगानीमा आधुनिक मलसहितको पाँचतारे होटेल सञ्चालनमा आउने

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:५९:oo

प्रादेशिक राजधानीको पहिचान बनाएको विराटनगरमा पाँचतारे र्‍याडिसन होटेल सञ्चालनमा आउने भएको छ । सेन्चुरी ग्रुपले धरानरोडको भाटभटेनीनजिकै निर्माण गरिरहेको पाँचतारे होटेलको व्यवस्थापनमा अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड ‘र्‍याडिसन’ भित्र्याउन लागेको हो । विराटनगरमा पाँचतारे होटेल सञ्चालन गर्ने सम्बन्धमा र्‍याडिसन होटेल र सेन्चुरी ग्रुपबीच सोमबार सम्झौता भएको छ ।

उद्योगपति मोती दुगडले तीन अर्ब रुपैयाँ लगानी गरेर आधुनिक मल र लक्जरी होटेल सञ्चालनमा ल्याउन लागेका हुन् । डेढ बिघा क्षेत्रफलमा बनेको एक सय ४६ कोठाको होटेल र मल डेढ वर्षभित्र सञ्चालनमा आइसक्ने सेन्चुरी ग्रुपका अध्यक्ष दुगडले जानकारी गराए । ‘हामीले १२ तलाका तीनवटा टावर बनाइरहेका छौँ, क्यासिनोका लागि छुट्टै र होटेलका लागि छुट्टै ब्लक हुनेछन्,’ उनले भने, ‘यो विराटनगरकै आइकोनिक प्रोजेक्ट हुनेछ ।’

काठमाडौं उपत्यकाबाहिर पहिलोपटक यो स्तरको अन्तर्राष्ट्रिय चेन होटेल खुल्न लागेको हो । अन्तर्राष्ट्रिय ब्रान्ड र्‍याडिसनले सिंगो विराटनगरकै गरिमा उँचो बनाउने विश्वास गरिएको छ । भारतीय सिमाना जोगबनीबाट १५ मिनेटको दूरीमा रहेको होटेलमा स्वदेशी कर्पोरेट, भारतीय र तेस्रो मुलुकका पाहुनाहरू आउने दुगडको विश्वास छ । सीमावर्ती सहरहरूमा क्यासिनो खेल्न आउने भारतीय पर्यटकका लागि पनि यो होटेलले आकर्षित गर्ने उनको भनाइ छ ।

होटेलमा आउने पाहुनाले मलमा सपिङ गर्न पाउनेछन् । ‘मल पनि ब्रान्डेड हुनेछ, अहिलेसम्म केएफसी र पिज्जा हट आउने तय भएको छ, हिमालयन जाभासँग कुराकानी चलेको छ,’ दुगडले भने, ‘हामी चर्चित स्वदेशी तथा विदेशी ब्रान्डलाई मलमा ल्याउँछौँ ।’ मलभित्रै सिनेमाहल पनि हुनेछ । अन्तर्राष्ट्रियस्तरको सपिङ एक्सपेरियन्स हुने गरी मल तयार पार्ने उनले बताए । होटेल र मलसहितको मिक्स प्रोजेक्टमा क्यासिनो, मल्टिप्लेक्ससहित स्विमिङ पुल, गेमिङ जोन, रेस्टुराँ, देशकै ठूलो १०–१० हजार क्षमताका विशाल ब्यांक्वेट हल, वाटरपार्कलगायतका सेवा–सुविधा उपलब्ध हुनेछन् । 

‘विराटनगर हिमालबाट धेरै टाढा छ, तैपनि त्यहाँ पर्यटनको प्रशस्त सम्भावना देखेरै पाँचतारे होटेल खोल्न लागेका हौँ’ उनले भने, ‘विराटनगरमा सम्भावना नदेखेको भए अन्तर्राष्ट्रिय ब्रान्ड आकर्षित पनि हुने थिएन होला ।’ हामीले आठ वर्षअघि सञ्चालनमा ल्याएको होटेल ह्यारिसन राम्रोसँग चलिरहेको बताउँदै उनले र्‍याडिसन पनि राम्रो चल्ने विश्वास व्यक्त गरे । पर्यटकीय प्रडक्टका हिसाबले नेपालजस्तो उत्कृष्ट देश संसारमै नभएको सम्झौता कार्यक्रममा प्रोजेक्ट कन्सल्टेन्ट उपौल मजुम्दारले बताए । ‘नेपाल पर्यटनमा संसारकै धनी देश हो, तर राम्रोसँग मार्केटिङ गर्न नसक्दा पर्यटनबाट फाइदा भने लिन सकेको छैन,’ उनले भने, र्‍याडिसन विराटनगरकै एक मात्र उत्कृष्ट होटेल हुनेछ, जसले पर्यटकदेखि कर्पोरेट पाहुनालाई उत्कृष्ट सेवा प्रदान गर्नेछ ।’

यो परियोजनाको कुल लगानीमध्ये ४० प्रतिशत आफ्नै लगानी र ६० प्रतिशत बैंक ऋण रहेको बताइएको छ । सेन्चुरी ग्रुपका निर्देशक आदित्य दुगडले र्‍याडिसन होटेलले विराटनगरलाई पर्यटकको गन्तव्य बनाउन भूमिका खेल्ने बताए । ‘यो बुबाको ड्रिम प्रोजेक्ट हो, जुन डेढ वर्षभित्र पूर्ण हुनेछ,’ उनले भने, ‘मोफसलमा र्‍याडिसन होटेल ब्रान्डलाई लैजान पाउँदा उत्साह थपिएको छ ।’  

स्थानीय विकासमा कायापलट ल्याउँछ
 

 मोतीलाल दुगड
सञ्चालक, होटेल  र्‍याडिसन विराटनगर

विराटनगरमै ठूलो लगानीमा पाँचतारे होटेल सञ्चालन गर्ने सोच कसरी आयो ? 
विराटनगरबाट हिमालहरू टाढै होलान् । तर, विराटनगरमा पनि पर्यटकीय सम्भावना धेरै छ । त्योसँगै विराटनगरको महत्वपुर्ण विशेषता छ । यो सहरले देशका लागि आठजना प्रधानमन्त्री जन्मायो । ठूला व्यवसायी पनि विराटनगरमै जन्मिए । छिमेकी मुलुक भारतसँग सीमा जोडिएको हुँदा पनि विराटनगर धेरै पोटेन्सियल छ । विराटनगर पुग्ने बिजनेस ग्रुपका लागि पनि एउटा पाँचतारे होटेल आवश्यक थियो । विराटनगर मेरो ‘होमटाउन’ भएकाले मलाई माया छ । आफ्नो ठाउँको आफैँले विकास गर्नुपर्छ । विराटनगरको आफ्नै खालको ग्रोथ छ । धेरै सम्भावनाहरू छन् । भविष्य पनि अत्यन्तै राम्रो छ । त्यसैले पाँचतारे होटेल खोल्नका लागि विराटनगर नै रोजेको हुँ ।

होटेल व्यवस्थापनका लागि र्‍याडिसनलाई नै किन छान्नुभयो ?
र्‍याडिसन प्रख्यात अन्तर्राष्ट्रिय चेन होटेल ब्रान्ड हो । यो विश्वको हस्पिटालिटी क्षेत्रमै सम्मानित ब्रान्ड हो । विश्वका धेरै देशमा र्‍याडिसन होटेल सञ्चालनमा छन् । यो होटेलको सर्भिस पनि राम्रो छ । र्‍याडिसनको दक्षता मन पराएकै कारण सहकार्य अगाडि बढाएको हुँ । काठमाडौं उपत्यकाबाहिर पहिलोपटक यो लेबलको ब्रान्ड जाँदै छ । विराटनगरमा र्‍याडिसन जानु नै सुखद कुरा हो । यो ब्रान्डले आफ्नै अन्तर्राष्ट्रिय सञ्जाल प्रयोग गरेर पर्यटक भित्र्याउनेछ ।

मुख्य ग्राहक को हुनेछन् ? 
नेपाली, इन्डियन र तेस्रो मुलुक सबैतिरका पाहुना पनि हुनेछन् । हामी होटेलमा फुल फ्लेज क्षमताकै क्यासिनो सञ्चालन गर्छौँ । सीमावर्ती भारतीय सहरबाट क्यासिनो खेल्न धेरै आउने गर्छन् । विराटनगर ‘डेस्टिनेसन म्यारिज’को आकर्षक थलो हुन सक्छ । यस्तै, नेपाली कर्पोरेट ग्राहक पनि हुनेछन् । विराटनगर व्यावसायिक सहर भएको हुँदा मुख्य लक्षित समूह भनेको बिजनेस ग्रुप नै हो । 

ad
ad