१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
शिवहरि घिमिरे काठमाडाैं
२०७९ श्रावण ६ शुक्रबार ०६:१२:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

दाताले दिएको एक करोड ८६ लाखको ‘बायो ग्यास प्लान्ट’ नौ वर्षदेखि अलपत्र 

Read Time : > 2 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
२०७९ श्रावण ६ शुक्रबार ०६:१२:००

काठमाडौंको फोहोरलाई मोहरमा बदल्न ल्याइएको मेसिन प्रयोग नगर्दै बिग्रिएपछि राष्ट्रिय आविष्कार केन्द्रले अध्ययन गर्दै 

काठमाडौं महानगरपालिकाले फोहोरबाट मोहर उत्पादन गर्ने लक्ष्यसहित ल्याएको ‘बायो ग्यास प्लान्ट’ नौ वर्षदेखि अलपत्र छ । एक करोड ८६ लाख मूल्यको उक्त मेसिन हाल टेकुस्थित महानगरको वातावरण विभागमा प्रयोगविहीन अवस्थामा छ ।

काठमाडौं महानगरमा फोहोर उत्पादन बढ्दै जान सक्ने अवस्था मध्यनजर राख्दै ०७१ मा दाताको सहयोगमा प्लान्ट भित्र्याइएको थियो । जसबाट बिजुली र ग्यासलगायत नवीकरणीय ऊर्जा उत्पादन गर्न सकिन्छ । यसमा सहरभित्रको अधिकांश फोहोरलाई बिजुली निकाल्न प्रयोग गर्न सकिने अनुमान पनि गरिएको थियो । 

सरिता राई वातावरण विभाग प्रमुख, काठमाडौं महानगर
बायो ग्यास प्लान्ट चलाउन धेरै कोसिस गर्‍यौँ । तर, यहाँ मर्मत गर्ने प्राविधिकसमेत पाइँदोरहेनछ । मेसिन कस्तो अवस्थामा छ भनेर अध्ययनका लागि एक महिनाअघि मात्रै हामीले राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएका छौँ । त्यसको प्रयोग गर्दा हुने फाइदा, बिग्रिएका पार्टपुर्जाको अवस्था, बेफाइदा र मर्मत गर्दा लाग्ने खर्चबारे केन्द्रले अध्ययन गर्नेछ । त्यसलाई प्रयोग गर्दा धेरै खर्च लाग्ने भयो भने वैकल्पिक उपाय खोज्नेछौँ ।

०७१ मा युरोपेली युनियन (इयू)ले महानगरको २० प्रतिशत र अन्य ८० प्रतिशत लागत आफैँले व्यहोर्ने गरी एक करोड ८६ लाखको प्लान्ट ल्याएर टेकुमा जडान गरिदिएको थियो । ०७४ मा मेयरमा चुनिएलगत्तै विद्यासुन्दर शाक्यले बिजुली बालेर उद्घाटन गरेका थिए । त्यसयता भने सो प्लान्ट बन्द छ । 

फोहोरबाट बिजुली र ग्यास उत्पादन गरेर आसपासका सरकारी भवनमा वितरण गर्न सकिने लक्ष्य राखिए पनि योजना सफल हुन सकेन । हाल मेसिन खिया लागेर नचल्ने अवस्थामा पुगिसकेको छ । महानगरका वातावरण विभाग प्रमुख सरिता राईले प्लान्ट मेसिन प्रयोगविहीन अवस्थामा रहेको बताउँदै त्यसलाई कसरी चलाउने भन्ने योजना नै नभएको जानकारी दिइन् ।

‘हामीले यसलाई प्रयोग गर्न जानेनौँ, यसको प्रयोजनका लागि छुट्टै प्राविधिक टोली चाहिन्थ्यो,’ उनले भनिन्, ‘प्राविधिक टोली नहुँदा र त्यसको फाइदाबारे यसअघि नै नसोच्दा महत्वपूर्ण उपकरण प्रयोगविहीन भएर थन्किएको छ ।’ उनले दैनिक प्रयोगमा ल्याउन सकेको भए दैनिक काठमाडौंको चार सय मेट्रिकटन फोहोर सो मेसिनले नै खपत गर्न सक्ने बताइन् ।

तर, फोहोर खपत गर्ने मेसिन बिग्रिँदा काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । हाल काठमाडौंमा दैनिक करिब हजार मेट्रिकटन फोहोर उत्पादन हुन्छ । सो फोहोरको केही प्रतिशत पनि काठमाडौंमा खपत गर्न सकिने अवस्था छैन । कम्तीमा उक्त मेसिनले काम गरेको भए काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा केही सहज हुने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनका अनुसार मेसिन के–केमा प्रयोग गर्ने र कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा अहिले पनि अलमल भइरहेको छ । ‘यो कसरी चल्छ र यसबाट कसरी फाइदा लिने भन्नेमा हामीलाई राम्ररी जानकारी छैन,’ उनले भने, ‘यसको सदुपयोगबारे अध्ययन भएपछि मात्रै हामीले यसलाई सञ्चालनमा ल्याउन सक्छौँ ।’ उनका अनुसार यो मेसिनलाई बिजुली उत्पादन मात्रै नभएर ग्यासलगायत अन्य नवीकरणीय ऊर्जा उत्पादनमा पनि प्रयोग गर्न सकिन्छ । 

प्लान्टको अध्ययन आविष्कार केन्द्रले गर्दै 
प्रयोगविहीन अवस्थामा रहेको बायो ग्यास प्लान्ट मेसिनको अध्ययन गर्न काठमाडौं महानगरपालिकाले राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएको छ । एक महिनाअघि प्लान्टको प्रयोगबारे अध्ययन गर्न केन्द्रलाई जिम्मा दिइएको हो । केन्द्रले उक्त मेसिनमा रहेका पार्टपुर्जाको अवस्था, कस्तो–कस्तो नवीकरणीय ऊर्जा उत्पादन गर्ने, कसरी सञ्चालन गर्ने, कस्ता प्राविधिकको सहायता चाहिन्छ भन्ने सन्दर्भमा एक महिनाभित्र अध्ययन गर्नेछ । 

इयूले हस्तान्तरण गर्ने वेला उक्त मेसिनमा कुहिने फोहोर प्रयोग गर्न सकिने बताएको थियो । त्यसमा पनि कुहिएका फलफूलबाट ग्यास र बिजुली उत्पादन हुन सक्नेबारे पनि इयूले महानगरलाई जानकारी गराएको थियो । 

इयूले फोहोरबाट बिजुली बालिने परियोजनाअन्तर्गत महानगरलाई उक्त प्लान्ट ल्याउन सहयोग गरेको थियो । त्यसमा महानगरको झन्डै ४० लाख खर्च भएको छ । ठूलो लगानीमा ल्याइएको फोहोरबाट बिजुली उत्पादन गर्ने प्लान्ट भने अहिले अलपत्र अवस्था थन्किएको हो । 

सुरुमा परीक्षण गर्दाताका ९ किलोवाट क्षमतामा बिजुली बालिएको थियो । दैनिक १४ किलोवाट बिजुली उक्त प्लान्टबाट उत्पादन गर्न सकिन्छ । त्यतिवेला महानगरले सुरुमा बिजुली उत्पादन गरेर आसपासमा बेच्ने योजनासमेत बनाएको थियो । तर, भएको साधन पनि सञ्चालन नगर्दा बिजुली उत्पादन त परकै कुरा, सामानसमेत खिया लाग्ने अवस्थामा छ । 

उक्त प्लान्ट मेसिनबाट उत्पादन गरिएको बिजुली टेकुस्थित महानगरको कार्यालय प्रयोजनमा प्रयोग गरिएको थियो । तर, निरन्तर बिजुली उत्पादन गर्न प्राविधिक र अन्य उपकरण चाहिने भएकाले सञ्चालन गर्न छाडिएको थियो । त्यसो त मेसिनलाई प्रयोग गर्दा त्यतिवेलै खराबी पनि आएको थियो । यो मेसिनले कुहिने फोहोरबाट मात्रै बिजुली उत्पादन गर्दछ । कुहिएर लेदो बन्न सक्ने फोहोर कमै मात्रामा संकलन हुने भएपछि बिजुली उत्पादनमा चुनौती रहेकाले महानगरले सञ्चालनमा चासो दिएको थिएन । तर, बिजुली मात्रै नभएर अन्य नवीकरणीय ऊर्जा उत्पादन गर्न सकिने भएपछि महानगरले मेसिनको अध्ययन गर्न आविष्कार केन्द्रलाई जिम्मा दिएको हो । 

कुहिने फोहोर प्रयोग गर्न सकिन्छ 
तत्कालीन समयमा संकलित फोहोरबाट कुहिने फोहोर छान्न महानगरले पाँचजना कर्मचारी खटाएको थियो । तर, हाल ती कर्मचारी अन्य काममा प्रयोग गरिएको छ । महानगरले १ साउनदेखि उपत्यकामा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर उठाउन सुरु गरेको छ । हाल काठमाडौं उपत्यकामा दैनिक चार सय टन कुहिने फोहोर उत्पादन हुन्छ ।