१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
कमल खत्री म्याग्दी
२o८१ बैशाख १८ मंगलबार १५:५o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्वास्थ्यकर्मीको व्यवस्थापन नहुँदा बेनी अस्पतालको सेवा प्रभावित

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १५:५o:oo

म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालको सेवा प्रभावित भएको छ । भौतिक संरचना तथा स्वास्थ्यकर्मीको अभाव भएसँगै अस्पतालको सेवामा ढिलासुस्ती हुन थालेको हो । साउन १ गतेदेखि  बेनी अस्पतालबाट एकैपटक ३८ जना करार स्वास्थ्यकर्मीको समय सकिएपछि अस्पतालबाट नियमित रूपमा प्रवाह हुने सेवा प्रभावित भएको हो । 

कोरोना नियन्त्रण तथा उपचार कोषबाट नियुक्त भएका ३४ जना र निक साइमन इन्स्टिच्युटबाट नियुक्त चारजना गरी ३८ जना स्वास्थ्यकर्मी एकसाथ हटेपछि सेवा प्रवाहमा असहजता उत्पन्न भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए । ‘अस्पतालमा रहेको जनशक्तिबारे हामीले सेवाग्राहीलाई विज्ञप्ति नै निकालेर जानकारी गराएका छौँ । तत्कालका लागि अस्पतालमा रहेको जनशक्तिको बढीभन्दा बढी उपयोग गरेर सेवालाई प्रभावित नहोस् भन्नेतर्फ हामीले ध्यान दिएका छौँ,’ उनले भने, ‘समय सकिनुअगावै हामीले प्रदेश सरकार र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनशक्तिको समस्याबारे निरन्तर जानकारी गराउँदै आएका छौँ ।’ 

अध्यक्ष सुवेदीका अनुसार कोभिडको समयमा नियुक्त भएका स्वास्थ्यकर्मीसँगै प्रदेश सरकारले करारमा भर्ना गरेका कर्मचारीको समेत म्याद थप नगर्न निर्देशन आएपछि अस्पतालबाट उपलब्ध हुँदै आएको सेवा प्रवाहमा अप्ठ्यारो परिस्थिति आएको छ । नियमित सेवा नरोकिएको र स्वास्थ्यकर्मीको अभावले उत्पन्न परिस्थितिबारे तत्काल जनशक्ति व्यवस्थापनका लागि पहल थालिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । 

साउन १ गतेदेखि बच्चा, सर्जिकल, मेडिकल र प्रसूति गरी चारवटा वार्डहरू सञ्चालन हुँदै आएको अवस्थामा अब जनशक्ति अभावले छुट्टाछुट्टै वार्ड सञ्चालन गर्न सम्भव नहुने अवस्था आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर जितेन्द्र कँडेलले बताए । ‘अहिलेसम्म हामीले २४ सै घन्टा आकस्मिक शल्यक्रियासहितको उपचार सेवा दिँदै आएका थियौँ, जनशक्ति अभावले अब शल्यक्रियासहितको उपचार सेवा रोकिनेछ । जनशक्ति अभावले बिरामीले समयमै सेवा पाउने अवस्था नबन्न सक्छ,’ उनले भने । 

५० बेड क्षमतामा स्तरोन्नतिसहित बेनी अस्पतालको निर्माणाधीन भवनसमेत निर्माण व्यवसायीको लापरबाहीले अलपत्र अवस्थामा छ । अस्पतालले अस्थायी  भवन र टहरा निर्माण गरेर आफ्नो सेवा दिँदै आएको छ । 
 

ad
ad