
मधेस प्रदेश सभाको बैठकले कर तथा गैरकर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। आइतबारको बैठकमा मधेस प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रस्तुत गरेका सो विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख सरोजकुमार यादवले घोषणा गरे।
बैठकमा अर्थमन्त्री साहले आर्थिक विधेयक, २०७९ प्रस्तुत गरेका थिए। यसअघि हिजो शनिबार बसेको प्रदेश सभा बैठकले प्रदेश सरकारको विनियोजन विधेयक, २०७९ र प्रदेश सभा सचिवालय सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित गरेको थियो।
विधेयक पारित भएसँगै प्रदेश सभाको बैठक अर्को सूचना नहुन्जेलसम्मका लागि स्थगित भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। रासस