१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:o६:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

तुइन चुँडिएर फेरि अर्का युवक महाकालीमा बेपत्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:o६:oo

भारतीय बजारमा नुनतेल किनेर सँगै फर्किएका वडाध्यक्ष धीरनसिंह बुढाथोकीले भने– तुइन बाँधेको रूख नै भाँचिएर सचिन महाकालीमा खसे

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा दार्चुलाको ब्याँस गाउँपालिका– २ का जयसिंह धामी महाकालीमा बेपत्ता भएको एक वर्ष बित्न नपाउँदै सोही वडाका अर्का युवक पनि तुइन चुँडिएर बेपत्ता भएका छन् । बुधबार ब्याँस– २ दुम्लिङका १८ वर्षीय सचिन बुढाथोकी बल्लुजुडीस्थित तुइन बाँधेको रूख नै भाचिँदा महाकालीमा खसेर हराएका हुन् ।

बुढाथोकी भारतीय बजारबाट नुनतेललगायत दैनिक उपभोग्य खाद्यान्न लिएर फर्किँदै थिए । उनीसँगै वडाध्यक्ष धीरनसिंह बुढाथोकी पनि किनमेल गरेर फर्किएका थिए । वडाध्यक्ष बुढाथोकीले घटनाबारे भने, ‘सचिन पहिले खाद्यान्न लिएर तुइन तर्दैै थिए, म भारतपट्टि नै थिएँ । महाकालीको मध्यभागतिर पुगेपछि भारततर्फ तुइन बाँधेको रूख भाँचियो । सुकेको रूखमा दुई पालाको तुइनको तार बाँधिएको थियो । दिनहुँ स्थानीयहरू यहीँबाट आवतजावत र खाद्यान्न ओसारपसार गर्थे । तर, आज एक्कासि रूख नै भाँचियो ।’ 

स्थानीयहरू दैनिक उपभोग्य सामानका लागि भारतीय बजार पुग्नुपर्ने बाध्यता छ । गत १५ साउनमा एसएसबीले मालघाटस्थित तुइन काटिदिँदा जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएपछि उनको गाउँ राप्लामा खाद्यान्न डिपो राखिदिएको त छ, तर दुम्लिङबाट उक्त डिपो पुग्नै दुई घन्टा लाग्छ । १० मिनेटमै पुगिने भारतीय बजारको भन्दा नेपाली डिपोमा खाद्यान्नको मूल्य चर्को रहेको स्थानीय प्रभात बुढाथोकीले बताए । 

विगतमा भारतीय बजार आउजाउ गर्न हाल तुइन रहेकोभन्दा केही माथि काठको अस्थायी पुल थियो । तर, कोरोनाकालमा एसएसबीले उक्त पुल भत्काइदिएपछि स्थानीयले यसैपालि बल्लुजुडीमा तुइन लगाएका थिए । पुल निर्माण गरिदिन माग गर्दै संघीय मन्त्रीदेखि मुख्यमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाए पनि सुनुवाइ नभएको दुम्लिङका नागरिकको गुनासो छ । यहाँ एक सय १० परिवार छन् । गत वर्ष जयसिंह धामी बेपत्ता भएको मालघाटमा भने नेपाल–भारत जोड्ने झोलुङे पुल निर्माण अन्तिम चरणमा पुगेको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी इन्स्पेक्टर राजेश शाहीले दुम्लिङ प्रहरी चौकीको टोली स्थानीयसँग मिलेर बेपत्ता युवकको खोजीमा जुटेको बताए । सदरमुकाम खलंगाको महेन्द्र नमुना माविमा पढ्ने सचिन एसइई दिएर गाउँ गएका थिए । 

परिवारको भरोसा नै टुट्यो
वडाध्यक्ष धीरनसिंहका अनुसार सचिनको परिवार विपन्न छ । उनका बुबा करनसिंह र आमा लक्ष्मी अपांगता भएका छन् । उनीहरूका चार सन्तानामा कान्छा थिए सचिन । जेठो छोरा १२ कक्षासम्मको पढाइ सकेर कामको खोजीमा काठमाडौंमा छन् । आर्थिक रूपमा कमजोर परिवारलाई सचिनले पढेर अवस्था सुधार्नेमा ठूलो भरोसा थियो । तर, उही छोरो महाकालीमा खसेको खबर सुनेपछि बुबाआमा होसमा छैनन् । गाउँ नै शोकमा डुबेको छ ।


 

ad
ad