भारतको चिस्यान केन्द्रमा तीन मजदुर मृत्यु प्रकरण : जाहेरी दर्ताको साढे पाँच महिनापछि ठेकेदार इन्द्रजित पक्राउ

शनिबार, १८ असार, २०७९
डिजिटल संस्करण

भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्रमा पुर्‍याई जोखिमपूर्ण काम लगाउँदा तीन मजदुरको मृत्यु भएको घटनाका मुख्य आरोपी सर्लाहीका ठेकेदार इन्द्रजित राउत पीडितले जाहेरी दिएको साढे पाँच महिनापछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार राति १० बजेतिर राउतलाई चन्द्रनगर गाउँपालिका– ६ कामतटोलास्थित उनकै घरबाट पक्राउ गरेको हो । 

‘यो घटनाबारे जानकारी पाएपछि फाइल मगाएर हेरेँ,’ दुई महिनाअघि सर्लाही प्रहरी प्रमुख बनेर आएका एसपी प्रवीण पोख्रेलले भने, ‘एक अभियुक्तलाई पक्राउ गरेका छौँ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ । अन्य दुईजना फरार छन् । उनीहरूको पनि खोजी भइरहेको छ ।’ 

प्रवीण पोख्रेल प्रहरी प्रमुख, सर्लाही
यो घटनाबारे जानकारी पाएपछि फाइल मगाएर हेरेँ । एक अभियुक्तलाई पक्राउ गरेका छौँ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको छ । अन्य दुईजना फरार छन् । उनीहरूको पनि खोजी भइरहेको छ ।

झन्डै ६ महिनाअघि २६ पुसमा मृतकका परिवारले इन्द्रजितसँगै सोही ठाउँका इन्दल राउत र सुनील राउतविरुद्ध पनि जाहेरी दर्ता गराएका थिए । प्रहरीले जाहेरी लिन नमानेपछि घटनाको ७६औँ दिनमा जिल्ला वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गराएका थिए ।

गत वर्ष ८ र ९ कात्तिकमा चिस्यान केन्द्रमा काम गर्दागर्दै चन्द्रनगर– ६ कामतटोलाका २८ वर्षीय नन्दलाल माझी र ३९ वर्षीय जगदीश माझी तथा ईश्वरपुर नगरपालिका– ३ भक्तिपुरका ३५ वर्षीय सुमन भुजेलको मृत्यु भएको थियो । उनीहरूको शव कानुनी प्रक्रिया र पोस्टमार्टमविना नै ९ र १० कात्तिकमा इन्द्रजितका मान्छेले घरमा ल्याएर छाडिदिएका थिए । त्यतिखेर ३० मजदुरलाई चिस्यान केन्द्रमा बँधुवा मजदुर बनाएका उनले अधिकतम काम लिन खाना–खाजामा थकान नलाग्ने अखाद्य पदार्थ खुवाउने गरेको र त्यसैकारण गम्भीर बिरामी परेका तीनजनाको मृत्यु भएको पीडितको आरोप छ । तीन शवसँगै पाँचजनालाई भने गम्भीर बिरामी अवस्थामा ठेकेदारले घर फर्काएका थिए । 

परिवारको दबाबपछि दुई शवको तत्कालीन जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको थियो । उक्त पोस्टमार्टम रिपोर्ट आए पनि अन्तिम निष्कर्ष ल्याबका डाक्टरहरूले पठाउने भएकाले त्यसकै पर्खाइमा रहेको एसपी पोख्रेलले बताए । उनका अनुसार भारतमा घटना भएकाले त्यहाँबाट विवरण र प्रहरी रिपोर्ट ल्याउने काम अहिले पनि चलिरहेको छ । ‘म यहाँ आउनुभन्दा निकै पहिलाको घटना हो । यस विषयमा बुझिरहेको छु । प्रहरी हेडक्वार्टरसँग समन्वय गरेर भारतबाट झिकाउने भनिएको रिपोर्टलगायतको विषयमा फलोअपको काम भइरहेको छ,’ एसपी पोख्रेलले भने, ‘त्यसपछि अभियुक्त र पीडित परिवार तथा घटनास्थलमा रहेका पीडितसँग पनि बयान लिएर अनुसन्धानको निष्कर्षमा पुग्छौँ ।’ 

याे पनि पढ्नुहाेस् - ठेकेदारको पासोमा विपन्न : ऋण सकिएन, जीवन सकियो

सुझावित समाचार