१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १८ आइतबार
  • Sunday, 11 May, 2025
श्रवण थापा सर्लाही
२o७८ पौष १८ आइतबार o६:१५:oo
Read Time : > 7 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

ठेकेदारको पासोमा विपन्न : ऋण सकिएन, जीवन सकियो

Read Time : > 7 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o७८ पौष १८ आइतबार o६:१५:oo

ऋणको पासोमा पारेर सर्लाहीका ठेकेदार इन्द्रजित राउतले उत्तर प्रदेशको चिस्यान केन्द्रमा बँधुवा मजदुर बनाएका तीन युवाको मृत्यु, सात बिरामी अवस्थामा फर्काइए, २२ अझै बन्धक

सर्लाहीका नन्दलाल माझीले ऋण लिएको ५० हजार तीन वर्ष मजदुरी गर्दा पनि चुक्ता भएन, मृत्युपछि चन्दा उठाएर गरियो अन्तिम संस्कार

चिस्यान केन्द्रमै ज्यान गुमाएका नन्दलाल माझीकी पत्नी, आमा र नाबालक छोराछोरी

सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ कामत गाउँका नन्दलाल माझीले घर खर्च र औषधि उपचारका लागि स्थानीय ठेकेदार इन्द्रजित राउतसँग चार वर्षअघि ५० हजार ऋण लिएका थिए ।

नन्दलाल माझी

त्यही ऋण तिर्न भन्दै ठेकेदारले मजदुरीका लागि उनलाई भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्र पुर्‍याए, बँधुवा मजदुर बनाएर काममा जोताए । तर, तीन वर्ष जोतिँदा पनि ऋण सकिएन, बरु नन्दलालको जीवन सिद्धियो । ठेकेदारले थकान नलाग्ने औषधि खानामा मिसाएर दिने गरेको थियो । जसका कारण उनी चौबिसै घन्टा काम गर्थे । त्यसकै कारण गत ८ कात्तिकमा ३९ वर्षकै उमेरमा नन्दलालको मृत्यु भयो । 

नन्दलालको मृत्युपछि तीन सन्तान, श्रीमती, बाबुआमा र बहिनी गरी सातजनाको परिवार बिचल्लीमा परेको छ । श्रीमान्को मृत्युपछि नाबालक सन्तानकी आमा सियान्ती देवी आफैँ सम्हालिन सकेकी छैनन् । एक मात्र छोराको अल्पायुमै मृत्युले आमा अहिलेसम्म अर्धचेत छिन् । परिवार धान्ने जिम्मा ५५ वर्षका बुबा गुनौर माझीको काँधमा आएको छ । आफ्ना पतिलाई ठेकेदारले मजदुरीका लागि बलजफ्ती भारत पुर्‍याएको पत्नी सियान्तीले बताइन् । श्रीमान् गत दसैँमा घर आउन खोज्दा पनि ठेकेदारले नदिएको उनको भनाइ छ । मृत्यु भएको अघिल्लो राति १० बजेतिर उनको श्रीमान्सँग फोनमा कुराकानी भएको थियो ।

तिहारमा आउन गरेको आग्रहमा उनले ठेकेदारले पैसा नदिएका कारण आउन नसकिने बताएका थिए । त्यसको भोलिपल्ट नै नन्दलालको मृत्युको खबर आयो । स्थानीय धनी माझीका अनुसार गाउँमा चन्दा संकलन गरेर नन्दलालको काजकिरिया गरियो । नन्दलाल घरको एक मात्र आधार थिए । ठेकेदारले दिने पाँच–दश हजार घरमा दिएर खर्च चलाउँदै आएका थिए । ‘दैनिक छाक टार्न नै धौ–धौ छ, यी लालाबालालाई लगाउने लुगाफाटा कहाँबाट जुटाउने, कसरी पढाउने ?’ पत्नी सियान्तीले भनिन् । माझी परिवारको सम्पत्तिको नाममा ऐलानी जग्गामा बनेको काठको घरबाहेक केही छैन ।

 २० हजार ऋण लिएका जगदीश दुई छोरासहित बँधुवा मजदुर बनाइए, तीन वर्षमा पनि ऋण सकिएन, बरु जगदीशको जीवन सकियो

भारतमै ज्यान गुमाएका जगदीश माझीको परिवार

कामत गाउँकै जगदीश माझी पनि २० हजार ऋण लिएकै कारण इन्द्रजितकोे चंगुलमा फसेका थिए । सजिलैसँग २० हजार दिएका ठेकेदारले भारतमा रोजगारी मिलाइदिने आश्वासन पनि दिए ।

जगदीश माझी

तीन पुस्ताका १७ सदस्यसहित संयुक्त परिवारमा बस्ने जगदीशलाई लाग्यो, बरु ऋणधन गरेर एउटा घर पनि बनाउनुपर्‍यो, ठेकेदारले भनेअनुसार मजदुरी गर्नुपर्‍यो । इन्द्रजितले नै उनलाई दुई लाखमा १० धुरको घडेरी मिलाइदिए र ऋण लिने साहु पनि खोजिदिए । मिटरब्याजी साहुकार सञ्जय गुप्तासँग लिएको एक लाख ६० हजार र इन्द्रजितसँग लिएको २० हजार गरी एक लाख ८० हजार रुपैयाँ जग्गाधनी रमाकान्त कापडलाई बुझाएर घडेरी खरिद गरे । र, परिवारको टाउको लुकाउने सानो छाप्रो बनाए । 

त्यही ऋणले जगदीशलाई ठेकेदारले भनेअनुसार भारतको चिस्यान केन्द्रमा बोरा बोक्न पुर्‍यायो । उनी मात्रै होइन, उनका दुई छोरा सकिल र सुकिल पनि तीन वर्षसम्म ठेकेदार इन्द्रजितको बँधुवा मजदुर बने । मजदुरी गर्न जाँदा माहिलो छोरा सकिल १६ वर्ष र कान्छो छोरा सुकिल १५ वर्षका मात्र थिए । ठेकेदारले खुवाउने अस्वाभाविक खानपिनले जगदीशले गत ८ कात्तिकमा ज्यान गुमाए । बुबाको शवसँगै छोराहरूलाई पनि घर फर्काइयो । अप्राकृतिक खानपिनका कारण सुकिल पनि बिरामी नै थिए । आफूहरू वेलावेला घर आउँदा र फेरि भारत जाँदा भाडाबाहेक ठेकेदारबाट थप पैसा नपाएको सुकिलले बताए । घरमा कहिलेकाहीँ आपत् पर्दा पाँच हजार दिए पनि ठेकेदारले तीन ठाउँमा लेखेर १५ हजार पुर्‍याउने गरेको र कागजमा जबर्जस्ती हस्ताक्षर गराएको उनको भनाइ छ । ‘तीनजनाले तीन वर्ष काम गर्दा पनि ठेकेदारले अझै डेढ लाख ऋण तिर्न बाँकी रहेको बताउँछ,’ उनले भने । परिवार चलाउन अहिले उनी घरनजिकैको इँटाभट्टामा काम गर्छन् । 

जागिरको आश्वासनमा सात वर्षअघि भारत लगिएका सुमनको पनि शव फर्कियो

सुमन भुजेलकी आमा निरु

सर्लाहीकै ईश्वरपुर नगरपालिका– ३ भक्तिपुरका सुमन भुजेललाई ठेकेदार इन्द्रजित राउतले ०७१ मा राम्रो जागिर लगाइदिने भनेर भारतको चिस्यान केन्द्रमा मजदुरी गर्न लगेका थिए ।

सुमन भुजेल

सात वर्षसम्म उनको अत्तोपत्तो थिएन । गत दसैँमा सुमन घर फर्किए । आमा निरु भुजेलका अनुसार दसैँ मानेर काममा फर्किँदा सुमनले भनेका थिए, ‘फागुपूर्णिमामा फेरि घर आउँछु र फेरि काम गर्न भारत जाँदिनँ ।’

तर, त्यसको साता दिनपछि अर्थात् ९ कात्तिकमा नै उनको शरीर मृत अवस्थामा घरको आँगनमा आइपुग्यो । आँगनमा लडेको छोराको शव र पिँढीमा टोलाएका दुई नातिनातिनाका अनुहार पालैपालो हेर्दै आमा निरु भक्कानिइन् ।

सानैमा आमाको काख गुमाएका १३ वर्षका नाति र ११ वर्षकी नातिनी सुमनको पनि मृत्युपछि पूर्ण टुहुरा भए । आफूले छोराको शवसँगै भारतीय प्रहरीले तयार गरेको एक खेस्रो मुचुल्का मात्र पाएको निरुले बताइन् । निरु र उनका श्रीमान् दुवै दीर्घरोगी छन् । उनीहरूलाई टुहुरा नातिनातिनाको भविष्यको सबैभन्दा धेरै चिन्ता छ । 

...                                              ...

सर्लाही चन्द्रनगर गाउँपालिका– ६ का ठेकेदार इन्द्रजित राउतले ऋणबापत दिएको पैसा असुल्ने नाममा स्थानीय ३२ युवालाई वर्षौँदेखि भारतमा बँधुवा मजदुर बनाएका छन् । उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्रमा सामान लोड–अनलोड गर्ने ठेक्का लिएका उनले बँधुवा मजदुर बनाएकाहरूबाट अधिकतम समय काम गराउन थकान नलाग्ने औषधि चियामा राखेर खुवाउने गरेका छन् । जसका कारण तीनजनाको मृत्यु भएको छ भने सातजना जीवनमरणको दोसाँधमा घर फर्काइएका छन् । २२ युवा अझै चिस्यान केन्द्रमै बन्धक छन् ।

चन्द्रनगर– ६ कामत गाउँका नन्दलाल माझी र जगदीश माझीको मृत्यु भएको छ । उनीहरू दुवै ३९ वर्षका थिए । कामत गाउँकै छिमेकमा पर्ने ईश्वरपुर नगरपालिका– ३ भक्तिपुरका सुमन भुजेलले पनि सोही चिस्यान केन्द्रमै प्राण त्यागे । सुमनको शव गत ९ कात्तिकमा तथा नन्दलाल र जगदीशको १० कात्तिकमा गाउँ आइपुगेको थियो । 

थकाइ लाग्न नदिन अखाद्य पदार्थसमेत खुवाएर दैनिक २०–२२ घन्टासम्म काममा लगाउँदा उनीहरूको मृत्यु भएको गम्भीर बिरामी हालतमा घर फर्काइएका कामत गाउँकै २५ वर्षीय मञ्जय माझीले बताए । भाग्यले बाँचेर फर्किएका उनले ७ कात्तिकको कहालिलाग्दो रात सम्झिँदै भने, ‘मेरो समूहमा १० जना थियौँ । नियमितजस्तै आलु, प्याजलगायत बोरा दिनभर र राति ११ बजेसम्म गाडीमा लोड–अनलोड गर्‍यौँ । चर्को थकाइ लागेको थियो । मध्यरात १२ बजे सधैँझैँ ठेकेदारकै मान्छेले खाना बनाएर दिए । राति पनि गाडीहरू लोडको लाइनमै भएकाले खाना खाएर काममै फर्किनुपर्ने बाध्यता थियो । नगए ठेकेदारले गालिगलोज मात्रै होइन, मर्ने गरी भकुर्थे । धेरै काम गरेर शरीर गल्दा हामीलाई एक प्रकारको चिया पिलाउँथे, जसले ऊर्जा दिलाउँथ्यो, भोक र थकाइको महसुस नै हुँदैनथ्यो । त्यस दिन पनि रातभर काम लगाउन त्यस्तै चिया पिलाए । पक्कै पनि कुनै अखाद्य पदार्थ मिसाएको चिया हो त्यो । हामी काममा निस्कियौँ । बिहान ३ बजेसम्म काम गरेपछि केही साथीलाई बान्ता चल्न थाल्यो । त्यसपछि सबै सुत्न गयौँ ।’

मञ्जयका अनुसार ८ कात्तिकको बिहान ८ बजे सुमन ओछ्यानमै अस्ताए । त्यतिवेलासम्म बान्ता गरिरहेका नन्दलाल र जगदीश चिन्ताजनक अवस्थामा थिए । हारगुहार गरेपछि उनीहरूलाई ठेकेदारका मान्छेले नजिकैको सामान्य अस्पताल पुर्‍याए । केही समय सलाइन पानी चढाएर कोल्डस्टरमै फर्काए । समस्या झन् बढ्दै गएपछि ठूलो अस्पताल लगिदिन ठेकेदारसँग अनुनय गरे । आलु बोक्ने ट्र्याक्टरमा राखेर अस्पताल लैजाँदै गर्दा उनीहरूको बाटोमै ज्यान गयो । 

जगदीशसँगै बधुवा मजदुर बनाइएका छोरा सुकिल पनि बिरामी परेका थिए । आँखैअघि बुबाको मृत्यु देखेका सुकिलले भने, ‘सुरुमै राम्रो अस्पताल पुर्‍याइदिन अनुरोध गरिएको हो । बान्ता गरेको मान्छेलाई पनि किन ठूलो अस्पताल लैजानुपर्‍यो भनेर हकारे । धेरै कर गरेपछि आलु बोक्ने ट्र्याक्टरमा राखेर लैजाँदै थिए, बुबा बाटैमा बित्नुभयो । वेलैमा राम्रो उपचार पाएको भए बाँच्नुहुन्थ्यो होला ।’ 

सुकिल, मञ्जयलगायत सातजनाको पनि स्वास्थ्य राम्रो थिएन । घटनाअघिसम्म सँगै रहेका ठेकेदार इन्द्रजित तीनजनाको मृत्युपछि बेपत्ता भए । कोल्डस्टोर मालिकले ९ र १० कात्तिकमा तीनजनाको शव र सात बिरामीलाई नेपाल पठाइदिए । पाँच बिरामीको ईश्वरपुरकै बयलबासास्थित गोदावरी वेलफेयरमा उपचार भयो । बाँकी दुईमध्ये एकको जिल्ला अस्पताल र एकको स्थानीय क्लिनिकमा उपचार भयो । 

जीवनमरणको दोसाँधमा घर फर्काइएका बिरामीसँग हातमा सुको पैसा थिएन । उपचारको बिल तिर्न नसक्दा पाँचजनालाई गोदावरी वेलफेयरले पाँच दिन बन्धक नै बनायो । तीन दिन उपचार गरेको बिल एक लाख ५५ हजार उठेको थियो । उनीहरू बन्धक बनेको खबर पाएपछि गाउँलेले ५० हजार चन्दा उठाएर बाँकी रकम पछि तिर्ने सर्तमा छुटाए । तर, बाँकी रकम अहिलेसम्म तिर्न सकेका छैनन् । प्रहरीले वेलावेला फोन गरेर अस्पतालको पैसा तिर्न ताकेता गरिरहेको, तर जिम्मेवारी बहन गर्नुपर्ने ठेकेदार इन्द्रजित अहिलेसम्म सम्पर्कमा नरहेको उनीहरू बताउँछन् । उपचारपछि हाल सामान्य अवस्थामा फर्किए पनि स्वास्थ्य अझै पहिलेजस्तो राम्रो नरहेको पीडितहरू बताउँछन् ।

इन्द्रजित राउत अधिकांश समय भारतमै बसेर उनीहरूलाई काम लगाउँथे । तर, उनकै दाजुभाइ लक्ष्मी राउत, इन्दल र सुनील पनि ठेक्कामा साझेदार रहेको पीडितहरू बताउँछन् । इन्द्रजितकै निर्देशनमा ऋण परिचालन गर्ने, युवाहरू जम्मा गर्ने र भारत लैजान सघाउने उनीहरू आवश्यकताअनुसार कहिले भारत, कहिले गाउँमा बस्ने गर्छन् । 

ठेकेदार इन्द्रजित राउत : सुरुमा गाउँका विपन्नलाई थोरबहुत ऋण दिन्छन्, त्यही ऋण चुक्ता गर्न काम दिने भन्दै भारत लगेर बँधुवा मजदुर बनाउँछन्
सर्लाहीको चन्द्रनगर गाउँपालिका– ६ कामत गाउँका रामबाबु माझीका अनुसार गाउँका सबैजसो घरधुरीलाई ठेकेदार इन्द्रजित राउतले थोरबहुत ऋण दिएर बँधुवा मजदुर नै बनाउँछन् । बालकदेखि युवा मात्रै होइन, वृद्धसम्मलाई उनले त्यसरी फसाउने गरेका छन् । ऋण चुक्ता गर्न र परिवारका लागि पनि जोहो हुने काम दिने भन्दै उनले ऋणीहरूलाई भारत उत्तर प्रदेशको फरसैया चिस्यान केन्द्रमा पुर्‍याउँछन्, जसको उनले सामान लोड–अनलोड गर्ने ठेक्का लिएका छन् । तर, श्रमको ज्याला नदिएर तथा जाली कागज बनाएर उनीहरूलाई सधैँ ऋणमा डुबाउने गरेका छन् । बिरामी हालतमा फर्काइएका मञ्जय माझीका अनुसार भारतमा पूर्ण रूपमा इन्द्रजितकै मानिसहरूको नियन्त्रणमा राखेर काममा लगाइने गरिन्छ । खानपिन र बस्ने ठाउँदेखि सुत्ने र उठ्ने समयसम्म सबै ठेकेदारका मान्छेकै व्यवस्थापन तथा निर्देशनमा हुन्छ । मञ्जय पनि चिस्यान केन्द्रमै काम गरेर बिरामी भएपछि केही समयअघि घर फर्किएका हुन् ।

‘ठेकेदारले चिस्यान केन्द्रको कम्पाउन्डबाहिर जान कहिल्यै दिएनन् । रातदिन नभनी काममा दलाउँथे । सुत्ने ठाउँ पनि कम्पाउन्डभित्रै थियो । खाना ठेकेदारकै मान्छेले बनाएर खुवाउँथे । अन्य खानेकुरा, औषधि, बिँडी, जे चाहिए पनि त्यहीँ ल्याइदिन्थे । सबै खर्च ज्यालामा कटाउने भन्थे,’ मञ्जयले भने, ‘तर, हाम्रो कति कमाइ भयो र खानपिनमा कति खर्च निस्कियो भनेर प्रस्ट हिसाब कहिल्यै दिएनन् । ज्यालादर नै तोकेका थिएनन् । वर्षमा दुईपटक घर आउन पाइन्थ्यो, त्यो पनि ठेकेदारकै नियन्त्रणमा । त्यतिवेला दुई–चार हजार दिन्थे । कहिलेकाहीँ घरमा दुई–चार हजार छाडिदिन्थे । आफ्नै तजबिजीमा बनाउने तमसुकमा जबर्जस्ती सही गर्न लगाउँथे । प्रस्ट हिसाब कहिल्यै दिएनन् । जहिले सोध्दा पनि ऋण बाँकी छ भन्थे । त्यसैले बाध्य भएर फेरि बँधुवा मजदुर हुन जानैपथ्र्यो ।’ मञ्जयले पनि १३ वर्षको उमेरदेखि चिस्यान केन्द्रमा काम थालेका थिए । 

बिरामी हालतमा फर्काइएका कामत गाउँकै २२ वर्षीय अजय माझी (हरिशरण)ले पनि इन्द्रजितले आपत्मा ऋण दिएबापत फकाउँदै र धम्क्याउँदै भारतको चिस्यान केन्द्र पुर्‍याएको बताए । अहिले आफू मृत्युको मुखबाट बाँचेर आए पनि ऋण चुक्ता नभएकाले ठेकेदारको डर कायम रहेको अजयले बताए । 

कामत गाउँकै ३५ वर्षीय विशनाथ माझी पनि बिरामी अवस्थामै घर फर्काइएका थिए । ‘प्रायः फागुन महिनामा सामान निकासीको सिजन हुने भएकाले धेरै काम गर्नुपथ्र्यो । एकै दिनमा ५०–५५ किलोका सात सय बोरासम्म बोक्नुपथ्र्यो । सात तलामाथिसम्म पुर्‍याउनुपर्थ्यो,’ उनले भने, ‘थकाइ लाग्यो भने चिया पिउन दिन्थे । केहीबेरमै फेरि ऊर्जा मिलिहाल्थ्यो । तर, चियामा के रहेछ कुन्नि, पछि त शरीर कमजोर हुँदै जाने रहेछ ।’

जीवनमरणको दोसाँधमा फर्काइएका मञ्जय माझी भन्छन्–थकाइ नलाग्ने अखाद्य वस्तु खुवाएर २२ घन्टासम्म काम लगाउँथे

भारतको चिस्यान केन्द्रमा मेरो समूहमा १० जना थियौँ । त्यहाँ सबै मजदुर आलु, प्याजलगायतका बोरा दिनभर र राति ११ बजेसम्म गाडीमा लोड–अनलोड गथ्यौँ । गत ७ कात्तिकमा पनि हामी राति अबेरसम्म काममा दलिएका थियौँ । थकाइले लखतरान बनाएको थियो । मध्यरात १२ बजे सधैँझैँ ठेकेदारकै मान्छेले खाना बनाएर दिए । राति पनि गाडीहरू लोडको लाइनमै भएकाले खाना खाएर काममै फर्किनुपर्थ्यो । नगए ठेकेदारले गालीगलोैज मात्रै होइन, मर्ने गरी भकुर्थे । धेरै काम गरेर शरीर गल्दा हामीलाई एक प्रकारको चिया पिलाउँथे, जसले भोक र थकान हराउने ऊर्जा दिन्थ्यो । त्यस दिन पनि रातभर काम लगाउन त्यस्तै चिया पिलाए । पक्कै पनि कुनै अखाद्य पदार्थ मिसाएको चिया थियो त्यो । हामी काममा निस्कियौँ । बिहान ३ बजेसम्म काम गरेपछि केही साथीलाई बान्ता भयो, मलाई पनि सन्चो भएन । ८ कात्तिकको बिहान ८ बजे सुमन ओछ्यानमै अस्ताए । त्यतिवेलासम्म बान्ता गरिरहेका नन्दलाल र जगदीश चिन्ताजनक अवस्थामा थिए । हारगुहार गरेपछि उनीहरूलाई ठेकेदारका मान्छेले नजिकैको सामान्य अस्पताल पुर्‍याए । केही समय सलाइन पानी चढाएर कोल्डस्टोरमै फर्काए । समस्या झन् बढ्दै गएपछि ठूलो अस्पताल लगिदिन ठेकेदारसँग अनुनय गर्‍याैँ । आलु बोक्ने ट्रयाक्टरमा राखेर अस्पताल लैजाँदै गर्दा उनीहरूको पनि बाटोमै ज्यान गयो । उनीहरूको शवसँगै मलाई पनि घर फर्कायो । त्यहाँ भएका सबै मजदुर यस्तै जोखिममा छन् ।