मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ असार १७ शुक्रबार ०६:२३:००
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

जसपा विभाजन लगभग निश्चित

Read Time : > 3 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ असार १७ शुक्रबार ०६:२३:००

व्यक्तित्वको टकराव र राजनीतिक भविष्यलाई लिएर डा. बाबुराम भट्टराई  र उपेन्द्र यादवबीच दूरी बढ्दै गएपछि दुवैजना सहमतिमै अलग हुन तयार भएका छन्, यसै साता वारपार 

डा. साबले अलग हुने प्रस्ताव राख्नुभयो : उपेन्द्र यादव, अध्यक्ष, जसपा
डाक्टरसाबले नै नयाँ शक्तिका साथीहरू मान्दैनन् । अलग्गै बाटोमा जानुपर्ने भयो, अलग हुन्छु भन्नुभयो । उहाँले अलग हुने प्रस्ताव राखेपछि जबर्जस्ती राख्न मिल्ने कुरा पनि भएन । त्यसो हो भने ठीकै छ नि त भनेँ ।

विभाजन रोक्न लाग्छौँ  : राजकिशोर यादव, नेता, जसपा
डा. बाबुराम भट्टराईलाई सोध्दा मैले विभाजनको प्रस्ताव गरेको छैन भन्नुहुन्छ । उपेन्द्र यादवले केही नेताहरूलाई बोलाएर भट्टराईले प्रस्ताव गरेको भनेर बाहिर ल्याउनुभयो । लोकतान्त्रिक विधिबाट समस्या समाधान गर्नुपर्छ । हामी विभाजन रोक्न लाग्छौँ ।

...                                                  ...

संसद्को पाँचौँ शक्ति जनता समाजवादी पार्टी विभाजनको प्रक्रियामा प्रवेश गरेको छ । आन्तरिक विवाद व्यवस्थापन र अधिकारको बाँडफाँडमा सहमति जुट्न नसकेपछि पार्टीका संघीय अध्यक्ष डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले सहमतिमै विभाजनको विकल्पमा जाने निर्णय लिएका छन् ।

निर्णय प्रक्रियामा प्रमुख नेताहरूबीच आससी सहमति जुट्न सम्भव नभएपछि एकताको तीन वर्षमै जसपा विभाजनको सँघारमा पुगेको हो । तर, विभाजनपूर्व तिक्ततापूर्ण सम्बन्ध र गालीगलौेजभन्दा सौहार्दपूर्ण वातावरणमै अलग हुने उनीहरूबीच सहमति बनेको छ । यद्यपि, यसअघि नै उनीहरूबीच आन्तरिक शीतयुद्ध चलेकै छ । 

बुधबार यादवसँगको छलफलमा डा. भट्टराईले विचार र सिद्धान्त मिले पनि कार्यकर्ता अन्तर्घुलित हुन नसकेका कारण सहमतिमै छुट्टिने प्रस्ताव गरेका थिए । आफूलाई नेतृत्वमा चुनौती दिएको र पार्टीमा बहुमत पुर्‍याउन सक्ने भएपछि यादवले भट्टराईको प्रस्ताव सहर्ष स्वीकार गरेका छन् । ‘डाक्टरसा’ब (बाबुराम भट्टराई)कै प्रस्ताव हो । नयाँ शक्तिका साथीहरू मान्दैनन् । अलग्गै बाटोमा जानुपर्ने भयो । अब अलग हुन्छु भन्नुभयो । डा. साबले अलग हुने प्रस्ताव राखेपछि जबर्जस्ती राख्न मिल्ने कुरा पनि भएन । त्यसो हो भने ठीकै छ नि त भनेँ,’ यादवले नयाँ पत्रिकासँग भने । 

तर, भट्टराईनिकट एक नेताले सैद्धान्तिक विषयभन्दा व्यक्तित्वको टकराव र राजनीतिक भविष्यलाई लिएर दुई नेताबीच दूरी बढेको बताए । ‘सैद्धान्तिक विषयमा विवाद त के छ र, नेतृत्वको कार्यशैलीको विषयमा विवाद सुरु भएको हो । त्यसले दुई नेताबीच दूरी बढाउँदै लग्यो । अन्ततः अलग–अलग बाटो लाग्ने स्थितिसम्मै पुर्‍यायो,’ ती नेताले भने ।

भट्टराईनिकट एक नेताका अनुसार पार्टीलाई कस्तो बनाउने, नेतृत्व र नीति–कार्यक्रम कस्तो हुने भन्ने विषयमा जसपामा विवाद छ । यादवमाथि भट्टराई पक्षले पाँचदलीय गठबन्धनको विषयमा आवश्यक सरसल्लाह नगरेको, राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँड गर्दा सन्तुलन नमिलाएको, स्थानीय तह निर्वाचनमा एकलौटी उम्मेदवार छनोट गरेको, अपरदर्शी ढंगले काम गरेको र प्रशिक्षण कार्यक्रममा समेत बेवास्ता गरेको आरोप लगाएको छ । 

यादव पक्षले भने भट्टराईले गुटबन्दी गरेको र नेतृत्व हत्याउने प्रयास गरेको आरोप लगाएको छ । ‘सहमतिमा अगाडि बढ्नुको साटो, नेतृत्वलाई असहयोग गर्ने, गुटबन्दी गर्ने र आवश्यकता पर्दा नेतृत्वलाई विस्थापित गर्ने तहसम्मका गतिविधि भएपछि सँगै बस्न सक्ने अवस्था भएन,’ यादवनिकट एक नेताले भने ।

जसपाबाट अलग भई महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेपछि रिक्त रहेको एक कार्यकारिणी अध्यक्ष पद पूर्ति गर्नुपर्ने माग भट्टराई पक्षको थियो । विधानको व्यवस्था कार्यान्वयन गर्नुपर्ने माग भट्टराई पक्षले उठाउँदै आएको थियो । जसपा विधानमा दुईजना कार्यकारिणी अध्यक्ष रहने व्यवस्था छ । 

ठाकुरको स्थानमा भट्टराईलाई ल्याउनुपर्ने र त्यसका लागि यादव, भट्टराई र अशोक राई रहने गरी तीन सदस्यीय कार्यकारिणी अध्यक्ष बनाउन सकिने विकल्पसमेत भट्टराई पक्षले अगाडि सारेको थियो । यादव पक्ष भने विधानको व्यवस्था नै परिवर्तन गरेर एकजना मात्र कार्यकारिणी अध्यक्ष राख्ने गृहकार्यमा लागेको थियो । 

जसपाका सचेतक प्रमोद साहले एक–अर्कालाई कारबाही र गाली नगरी सहमतिमै अलग हुने मनस्थितिमा दुवै नेता पुगेको बताए । विभाजनको आरोप लगाउनुभन्दा भोलिका लागि सहमतिको ढोका खुला राख्दै अलग हुन दुवै अध्यक्ष तयार भएको उनको भनाइ छ । जसपा कार्यकारिणी सदस्य तथा सांसद अमृता अग्रहरिले मिलेरै अगाडि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘फुटेर होइन, जुटेर अगाडि बढ्नुपर्छ, पार्टीमा सुधार हुनुपर्छ । मिलेर र मिलाएर अगाडि बढ्नुपर्छ ।’

पार्टीभित्रको विभाजन रोक्न अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष भट्टराई र वरिष्ठ नेता अशोक राई सम्मिलित हेडक्वार्टरसमेत गठन गरिएको थियो । तर, यादवले हेडक्वार्टरमा समेत छलफल नगरी एकलौटी गर्न खोजेको आरोप भट्टराई पक्षको छ । यादव पक्षले केही दिनअघि पार्टीबाट मन्त्री बनेकालाई फिर्ता बोलाउने र नयाँ मन्त्री पठाउने निर्णय गरेपछि जसपाको विवाद थप चर्किएको हो । 

पार्टी विभाजनको विकल्पमा जाने शीर्ष नेताको सहमतिपछि दुवै पक्ष आफ्नो शक्ति परीक्षणमा लागेका छन् । यादवले विभाजनको सँघारमा पुगेका पार्टीको केन्द्रीय समिति बैठक बोलाएका छन् । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै वीरगन्जमा बस्ने गरी २७ र २८ असारमा केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका हुन् । बैठकमा राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक विषयमा छलफल हुने जसपाले जनाएको छ । यद्यपि, यो बैठकमा भट्टराई पक्षले सहभागिता जनाउने निश्चित छैन । 

विभाजनको कानुन छैन !
दल विभाजनसम्बन्धी कानुन अहिले निष्क्रिय छ । एमाले विभाजन हुँदा सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेशमा पार्टी र केन्द्रीय कमिटीमा २० प्रतिशत भए विभाजनले मान्यता पाउने व्यवस्था थियो । यसैको जगमा माधव नेपाल नेतृत्वमा एमाले विभाजन भएको थियो । दल विभाजनसम्बन्धी उक्त अध्यादेश खारेज भएको छ । प्रतिस्थापन विधेयक नआएकाले पुरानो कानुन अझै सक्रिय छैन । राजनीतिक दलसम्बन्धी ऐनमा पार्टी विभाजनका लागि पार्टी र संसदीय दलमा ४० प्रतिशत सांसद आवश्यक पर्छ । जसपा केन्द्रीय समिति पाँच सय सदस्यीय छ । जसपाका २२ सांसद छन् । स्रोतका अनुसार कानुन सक्रिय बनाउने विकल्पमा पनि छलफल भइरहेको छ । 

फुट र जुटको इतिहास
मधेस आन्दोलनको जगमा स्थापित तत्कालीन मधेसी जनअधिकार फोरम अशोक राईको दल संघीय समाजवादी पार्टीसँग एकता गरेर संघीय समाजवादी फोरम गठन भएको थियो । एकीकृत पार्टीको नेतृत्व यादवले नै गरेका थिए । ०७६ वैशाखमा संघीय समाजवादी फोरम र भट्टराईको नयाँ शक्ति पार्टीबीच एकीकरण गरेर संघीय समाजवादी पार्टी राखिएको थियो । संघीय समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी (राजपा)बीच ०७७ वैशाखमा एकता भएर जनता समाजवादी पार्टी (जसपा) बनेको थियो । नौ महिनाअघि जसपा विभाजन गरेर ठाकुरले लोसपा बनाएका छन् । यादव र भट्टराई पनि विभाजननजिक पुगेका छन् ।