१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १४ मंगलबार ०९:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

टिकेन सेयर बजारको वृद्धि, २३ अंकले घट्यो नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १४ मंगलबार ०९:०२:००

अघिल्लो दिन आइबार उच्च अंकले बढेको बजार थामिन नसक्दा सेयर बजार पुनःघट्न पुगेको छ । सोमबार नेप्से परिसूचक २३ दशमलव ८५ अंकले घटेर एक हजार नौ सय ३३ दशमलव १३ बिन्दुमा आइपुगेको हो । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स सात दशमलव शून्य दुई अंकले घटेर तीन सय ७५ दशमलव ८२ बिन्दुमा आइपुगेको छ ।

यस दिन कारोबारमा आएका १३ समूहका सूचकमध्ये लगानीगत समूहको सूचक एक प्रतिशतले बढेको छ भने जीवन बिमा समूहको सूचक एक दशमलव २२ प्रतिशतले बढेको छ । बजार घट्दा विकास बैंक समूह तीन दशमलव ५१ प्रतिशतले घटेको छ । फाइनान्स समूह, होटेल तथा पर्यटन समूह, जलविद्युत् समूह, अन्य समूह र ट्रेन्डिङ समूहको सूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

माइक्रो फाइनान्स, म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको सूचक १ प्रतिशतभन्दा बढीले घट्दा वाणिज्य बैंक समूह र उत्पादनमूलक समूहको सूचक सामान्यले घटेको हो ।
बजार घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । लगानीकर्ता अघिल्लो दिनको बजारबाट अझै केही आशावादी देखिन्छन् । लगानीकर्ताले उठाउँदै आएको माग सम्बोधन भएको छ । जसले गर्दा लगानीकर्ता हतारिएर सेयर बेच्न  चाहेका छैनन् । बरु, घटेको मौकामा सेयर खरिदार हाबी भएका छन् । धितोपत्र र ऋणपत्र गरी कारोबारमा दुई सय २९ कम्पनीको दुई अर्ब चार करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

अघिल्लो दिनको तुलनामा करिब १८ करोड रुपैयाँले कारोबार रकम घट्न पुगेको छ । यस दिन नागरिक लगानी कोष एक्लैको १५ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । घटिरहेको यस कोषको सेयर सोमबार बढेसँगै लगानीकर्ताले नाफा बुक गरेको पनि अनुमान लगानीकर्ताले गर्न थालेका छन् । त्यसैगरी, हिमालयन डिस्टिलरी, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल), नबिल बैंक र एसियन लाइफ इन्स्योेरेन्सको सेयर पाँच करोड रुपैयाँदेखि नौ करोड रुपैयाँसम्मको सेयर किनबेच भएको छ ।