१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
देश/परदेश
२o८१ बैशाख १९ बुधबार o८:५१:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

पश्चिम चीनलाई चिढ्याउन किन चाहन्छ ?

Read Time : > 2 मिनेट
देश/परदेश
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:५१:oo

जर्मनीको बाभेरियामा आइतबार सुरु भएको जी सेभेन सम्मेलनपछि मंगलबारदेखि बिहीबारसम्म स्पेनको मड्रिडमा नेटो शिखर सम्मेलन हुँदै छ । केही अमेरिकी मिडियाका अनुसार अमेरिका ‘चीनसँग कसरी सामना गर्ने भन्ने विषयसूची’ बोकेर युरोप गएको छ । दुई शिखर सम्मेलनमा अन्तर्राष्ट्रिय जनमतको ध्यान अमेरिकी विषयसूचीमा गएको छ । नेटोका महासचिव जेन्स स्टोल्टनवर्गको अघिल्लो जानकारीअनुसार नेटो शिखर सम्मेलनले जारी गर्ने नयाँ रणनीतिक अवधारणामा चीनबाट आएको ‘चुनौती’लाई पहिलोपटक उल्लेख गरिनेछ ।

वैश्विक एवं क्षेत्रीय समस्या एकपछि अर्को पैदा भइरहेका वेला चीन महत्ववपूर्ण साझेदार हुने भएकाले पश्चिमा राष्ट्रका दुई उच्चस्तरीय शिखर सम्मेलनले चीनलाई प्रतिस्पर्धी वा शत्रुकै रूपमा हेर्नु दुर्भाग्यपूर्ण छ । विडम्बना के छ भने दुवै शिखर सम्मेलनले ‘अभूतपूर्व एकता’ प्रदर्शन गर्ने बताएका छन् । पश्चिमा जगत्को एकता स्पष्ट रूपमा केही चुनिएका साना वृत्तमा मात्र सीमित छ । विश्वका सन्दर्भमा हामीले अनिष्टसूचक ‘विभाजित ग्रह’ सुन्ने गरेका छौँ । अर्को शब्दमा भन्नुपर्दा, भूराजनीतिक शत्रुता र सैन्य सुरक्षाका मुद्दा त्यति नै चर्को हुन्छ, जति पश्चिमा जगत् साना वृत्तमा जोड दिन्छ । जी सेभेनको बैठकले कोभिड–१९ महामारी, भोकमरी, गरिबी र जलवायु परिवर्तनजस्ता पेचिला वैश्विक मुद्दामा पनि अवधारणा जारी गर्नेछ । तर, यी अवधारणाले जी सेभेनलाई राम्रो देखाउने कामबाहेक केही गर्दैन भन्नेमा मानिस विश्वस्त छन् ।  

दुई चाखलाग्दा शब्द ‘समय’ र ‘लागत’ अमेरिकी र पश्चिमा जनमतका विचार–टिप्पणीमा उल्लेख भएका भेटिन्छन् । केही टिप्पणीकारका अनुसार पश्चिमा ब्लकमा जापानको केवल ‘शुभकामना’ मात्रै छ र अहिले चीनविरुद्ध जापानले कुनै पनि प्रतिकूल कदम चाल्ने जोखिम मोल्नेछैन । अर्कातर्फ युरोपले चीनलाई अप्ठ्यारोमा पारेर हासिल गर्ने ‘लाभ’को मूल्यांकन गर्दा बढी सावधानी अपनाउने गरेको देखिन्छ किनभने युरोप चीनमा आफूले गरेको महत्वपूर्ण लगानीमा पर्ने ‘खतरा’का बारेमा चिन्तित छ । यी विश्लेषणले चीनप्रति पश्चिमी राष्ट्रले लिएको अवसरवादी दृष्टिकोणलाई केही मात्रामा उजागर गर्छ । 

अमेरिकाको नेतृत्वमा पश्चिमले जी सेभेनलाई प्राथमिकतामा राख्ने र जी ट्वेन्टीलाई बेवास्ता गर्न थालेको छ । र, नेटोलाई बलियो बनाउन सुरु गरेको छ ।

यस्ता प्रवृत्ति पुष्टि गर्न धेरै परिघटना हेर्न सकिन्छ । हालको नेटो शिखर सम्मेलनमा जापानले दक्षिण कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डलाई ‘साना बैठक’मा मात्र नभई अमेरिका–जापान–दक्षिण कोरिया नेताको बैठक पुनः सुरु गर्न सक्रिय रूपमा जोड दिनेछ । टोकियोले ‘चीन खतरा’को प्रयोग गरेर यी मुलुकलाई एकसाथ जोड्ने प्रयास गरेको छ ।चीनसँगको अमेरिकी ‘कट्टर प्रतिस्पर्धा’को रणनीतिअन्तर्गत केही राष्ट्रले जी सेभेन र नेटो शिखर सम्मेलनलाई आफ्नो महत्व उजागर गर्न अर्थात् ‘मञ्चको लाभ उठाउन’ र आफ्नो रणनीतिक आकांक्षा पूरा गर्ने अवसरका रूपमा लिएका छन् । आफ्ना नीतिलाई अवसरवादी तरिकाले अगाडि बढाए पनि चीनविरोध यी देशका लागि ‘अवसर’ कहिल्यै हुनेछैन । विशेषतः हामी केही मुलुकलाई जो एकपटक विश्व परिस्थितिमा भएका ठूला परिवर्तनका कारण जोगिए पनि यसपटक ‘भाग्यमानी’ हुनेछौँ भनेर नसोच्नुहोस् भन्ने सल्लाह दिन्छौँ । यी मुलुक आफूलाई भूराजनीतिक ‘सतरन्जका खेलाडी’का रूपमा सोच्थे, तर अन्त्यमा यी केवल ‘प्युसा’बाहेक केही होइनन् भन्ने पुष्टि भएको छ ।  

अमेरिका पश्चिमा ब्लकको ‘बिग ब्रदर’ हो जसले चीनविरुद्ध लागू गरेको प्रतिस्पर्धात्मक नीतिमा सबै साझेदारलाई संलग्न गराएका छन् । वास्तवमै अमेरिका सबैभन्दा ठूलो सट्टेबाज हो । वासिंगटनले ‘स्वतन्त्रता’ र ‘मानव अधिकार’ जस्ता उच्च ‘मूल्य–मान्यता’का बारेमा पैरवी गर्दा अमेरिकाले आफ्नै स्वार्थलाई बढावा दिन्छ भनेर सबैले बुझेका छन् । अमेरिकाले आफ्नो वर्चस्ववादी अभ्यासलाई लुकाउन ठुल्ठूला भाष्यको प्रयोग गरेको इतिहास छ । आज विचारधारा र मूल्य–मान्यता मिल्ने आफ्ना साझेदारसँगको तथाकथित रूपमा समन्वय गरिएको चीन नीतिको गुह्य विषय भनेकै भाष्य र शक्तिलाई पूर्ण रूपमा पुनः प्राप्त गर्नु हो ।

नेटो र जी सेभेन दुबै टाउकोविहीन झिंगा झैँ इतिहासको असामञ्जस्यतामा हराएका थिए । सन् १९७० को दशकमा स्थापना भएको जी सेभेन वास्तवमा विश्वव्यापी आर्थिक समस्यालाई सम्बोधन गर्न सिर्जना गरिएको थियो, तर सन् २००८ को विश्वव्यापी वित्तीय संकटको सामना गर्नुपर्दा जी सेभेनले तुरुन्तै आफ्नो अक्षमता प्रस्तुत गरेको थियो । नतिजा जी ट्वेन्टीको सिर्जना भयो । शीतयुद्धको समयमा स्थापित पश्चिमा सैन्य गठबन्धन नेटोका बारेमा कुरै नगरौँ यो अहिले समयअनुकूल छैन । अमेरिकाको नेतृत्वमा पश्चिमले जी सेभेनलाई प्राथमिकतामा राख्ने र जी ट्वेन्टीलाई बेवास्ता गर्न थालेको छ । र, त्यसका साथै नेटोलाई बलियो बनाउन सुरु गरेको छ । गलत दिशामा हिँड्नुभन्दा कुनै पनि प्रगति गर्नु ठीक हुन्छ । द्वन्द्वलाई प्रोत्साहन र उत्प्रेरित गर्ने हानिकारक शक्तिको सट्टा विश्वलाई वास्तवमा शान्ति कायम राख्ने र प्रगतिलाई प्रोत्साहन गर्ने शक्ति चाहिन्छ । ‘अन्तर्राष्ट्रिय व्यवस्थाको पुनर्संरचना’को नाउँमा अवसरवादका पछि लागेर आफ्नो तिर्खा मेटाउनु भनेको विष पिउनु जस्तै हो भन्ने थुप्रै संकेत विद्यमान छन् । चीनलाई चिढ्याएर ‘अवसर’ खोज्ने काम अन्ततः ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भन्दा बढी हुनेछैन ।

(चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको २७ जुनको सम्पादकीय) 

ad
ad