१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १o:३५:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

धादिङका गुर्धुमवासी चार घन्टा धाएर खोलाको पानी खान बाध्य  

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:३५:oo

‘पानी-पानी भन्दाभन्दै ज्यान जानी भो !’

डाँडाको बस्ती गुर्धुमगाउँ । टाढाको बाटो, पानी लिनकै लागि घन्टाैँको यात्रा । मिर्मिरे उज्यालोमै खोला र साँझ घाम डुब्ने वेला गाउँकै आहालमा भेटिन्छन् गुर्धुमवासी । उनीहरू भन्छन्, ‘खोलाको पानी खान पनि चार घन्टा धाउनुपर्छ । खोला धमिलिएको दिन मन अमिलो बनाएर रित्तै फर्कनुपर्छ । पानी-पानी भन्दाभन्दै ज्यान जानी भो ।’

धादिङको धुनिबेँसी नगरपालिका- ७ गुर्धुमकी मैना तामाङ एकाबिहानै खोलामा भेटिइन् । खानेपानी लिन हरेक दिन खोलामा आइपुग्ने उनी बताउँछिन् । ‘खोलाको पानी खान पनि घन्टाैँ हिँड्नुपर्छ,’ उनले दुःखेसो गर्दै भनिन्, ‘खोलाको पानी खानु पर्‍या छ । त्यही पनि एकखेप पानी लिन चार घन्टा लाग्छ । बर्खा लाग्यो, कति पटक त खोलामा भल आएर रित्तै फर्केकी छु । दुई घन्टा हिँडेर पानी लिन आउँदा धमिलिएको खोला नसंलिएपछि रित्तै फर्किनुपर्दा साह्रै मन रुन्छ ।’ 

गुर्धुम गाउँ भिरालो जमिन भएको डाँडामा छ  । खोलामा पानी लिन जाँदा बाटो सीधै ओरालो र पानी लिएर फर्किँदा ठाडै उकालो पर्छ । मैना भन्छिन्, ‘भिरको बाटो एक गाग्री पानीले ज्यानै लिन्छ कि भन्ने डर लाग्छ । ठूलाठूला ढुंगा पल्टिन्छन् । भिरैभिरको बाटो जोखिम मोलेर पानी खाइरहेका छौँ । ज्यान त जोगाउनैपर्‍यो । म त घुँडाको बिरामी हो, फटाफट हिँड्न  पनि सक्दिनँ । गाउँमै खानेपानी आए स्वर्ग नै हुन्थ्यो ।’ 

०७२ साल वैशाख १२ गते आएको गोर्खा भूकम्पका कारण घरनजिकैको मूल सुकेको स्थानीयहरू बताउँछन् । त्यसपछि गुर्धुमवासीको दैनिकी पानी बोकेरै बितिरहेको ४९ वर्षीया रूपा तामाङको भनाइ छ । उनले हरेक दिन चार घन्टा हिँडेर एक जर्किन पानी ल्याउँछिन् । खाना, खाजा, घाँस–दाउरा र भकारोको काम सकेपछि फेरि साँझ गाईवस्तुलाई पानी ल्याउने समय हुन्छ । 

उनी भन्छिन्, ‘बिहानै उठेर खोली पुग्छु । अस्ति भर्खरै खोला धमिलो भएर रित्तै फर्किएँ । खानेपानीको असुविधाले न घाँस–दाउरा गर्न भ्याइन्छ न मेलापात । एक पेट खान र एकसरो लगाउन पनि मुस्किल भएको छ । खानेपानी सहज भए हामी गुर्धुमवासीको त जीवन नै फेरिन्थ्यो ।’ 

गाईवस्तुलाई आहालकाे पानी

साँझ पर्नै लाग्दा गुर्धुमवासी गाउँकै आहालमा पानी भर्न आइपुग्छन् । ४२ वर्षीया गंगा तामाङ पनि धमिलो र फोहोर पानी गाग्रीमा भर्दै गरेकी भेटिइन् । गाउँमा न सडक सञ्जाल छ, न बिजुलीबत्ती, न खानेपानी । उनी भन्छिन्, ‘कुलो भत्किएर बिजुली बत्ती आउँदैन । खोलाबाट तान्ने गरेको पानी पनि बत्ती नभएर रोकियो । बर्खाको वेला खोलामा पानी लिन जान साइत हेर्नुपर्छ । गाईवस्तुलाई यही आहालको पानी खुवाउँछौँ । हामी गुर्धुमवासीलाई पानीकाे ठूलो समस्या छ । स्वच्छ र सफा त परको कुरा धमिलै पानी पनि सहज भएन । हाम्रो दु:ख कसले देख्ला ?’ 

लामो समय घन्टाैँ धाएर खोलाको पानी खाँदै आएका गुर्धुमवासीले केही समय मोटर लगाएर गाउँमै पानी खाए । तर, प्रतिपरिवार ८० लिटर मात्रै पाउँथे । त्यो पर्याप्त थिएन । अहिले बिजुलीबत्ती बिग्रिएपछि उही पुरानै नियति दोहोरिएको छ । अहिले यहाँका स्थानीयहरू करिब चार घन्टाको बाटो हिँडेर एक गाग्री पानीको जोहो गर्छन् । त्रिभुवन राजपथअन्तर्गत नौबिसेबाट करिब चार घन्टाको पैदल यात्रापछि गुर्धुम गाउँ पुगिन्छ । 

आफ्ना माग लिएर नगरपालिका आउन र जान पनि उनीहरूलाई उस्तै समस्या छ । खाद्य अधिकारको क्षेत्रमा काम गर्दै आएको फियान नेपालले खाद्य अधिकारका लागि क्षमता अभिवृद्धि गर्दै सहजीकरण गरिरहेको छ । अहिले गुर्धुमवासीले आधारभूत आवश्यकता, खानेपानी, बिजुलीबत्ती, सडक सञ्जाल, स्वास्थ्य, शिक्षाजस्ता कुराको नगरपालिकासमक्ष माग राखिरहेका छन् । 

एक वर्षभित्र घर-घरमा धारा र पानी पुर्‍याउँछौँ : मेयर आचार्य

खानेपानीको समस्या भोगिरहेका गुर्धुमवासीलाई नगरपालिकाले पनि योजनाहरू अघि सारेको छ । ‘एक घर एक धारा’ कार्यक्रममार्फत काम अघि बढेको धुनिबेँसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताए । 

धुनिबेँसी नगरपालिकाको धेरै ठाउँमा अहिले खानेपानीको समस्या छ । मेयर आचार्यले भने, ‘खानेपानी र बिजुलीबत्ती दुवै पुर्‍याएका थियौँ । तर, अहिले बिग्रेर गयो । बत्ती बनाउन हामीले नसक्ने, प्राधिकरणले नबनाइदिने । भन्यो हुन्न भन्दैन, तर काम पनि गर्दै गर्दैन । लाइन विस्तार गर्नुपर्नेछ । तीन वर्षदेखि याेजना स्वीकृत भएर बसे पनि काम भएको छैन ।’ 

‘यहाँ खानेपानीको चरम समस्या छ, समाधानका लागि काम गरिरहेका छौँ,’ मेयर आचार्यले भने, ‘अहिले हामी ‘एक घर एक धारा’ बनाउने गरी ट्यांकी बनाइरहेका छौँ । ४० लाखको काम सकिन लाग्यो । फेरि ७० लाख रकम थपी  गुर्धुमलाई जोडेर बजेट विनियोजन गरिएको छ । अब एक वर्षभित्रै ‘एक घर एक धारा’ कार्यक्रममार्फत गुर्धुमवासीले घरआँगनमै खानेपानी खान पाउनेछन् ।’ 

 

ad
ad